काठमाडौं, काठमाडौँको बनकालीमा रहेको प्राचीन धर्मशाला र धर्मशाला परिसरमा पार्क, वरिपरि पर्खाल निर्माण गर्ने कार्यको सुरु गरिएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा ८ का अध्यक्ष आशामान संगतले विधिपूर्वक पूजाआजा गरेर निर्माण कार्यको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले पशुपति क्षेत्रमा आउने श्रद्धालुहरूले पशुपति क्षेत्रमै बास बसेर दर्शन गर्न पाउने वातावरण बनाउन धर्मशाला निर्माणमा लगानी गरिएको बताइन् । ‘१ वर्षमा काम सम्पन्न गर्ने लक्ष्यसहित योजना अगाडि बढाएका छौँ । वडाले नेतृत्व लिएको छ । पशुपति क्षेत्र विकास कोषसँग समन्वय छ । सबैको सक्रियतामा योजना सम्पन्न हुनेछ’, उनले भनिन् ।
वडाध्यक्ष एवं समितिका संयोजक संगतका अनुसार बनकाली धर्मशालाको पुनरुत्थानका लागि २ चरणमा काम हुँदैछ । ‘पहिलो चरणमा धर्मशालाको छाना मर्मत, छानामा फल्याक राख्ने, वाटर प्रफिङ गर्ने, छाना नभएको ठाउँमा राख्ने काम भएको छ’, उनले भने । यस क्षेत्रको प्राचीन पहिचान पुनः स्थापना गर्ने लक्ष्यसहित काम गर्दैछौँ । २०४५ सालदेखि २०५० साल तिर पुरिएको पोखरी पुनरुत्थान गर्नेछौँ । छाना मर्मतका लागि सार्वजनिक खरिद प्रक्रियाबाट १ करोड ३२ लाख ५४ हजार ६१३ रुपियाँमा अगाडि बढाइएको हो । यसको अहिले ९० प्रतिशत काम सकिएको छ । यो परियोजनाको गुरुयोजना सहरी योजना आयोगले तयार पारेको हो । आयोगका सदस्य आर्किटेक्ट बाबुराम भट्टराईका अनुसार पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहेको करिब १२ रोपनी ६ आना क्षेत्रफलमा निर्माण कार्य हुनेछ । यसको लागत करसहित ३ करोड ६५ लाख १३ हजार ४३२ रुपैयाँ हो । २०८४ असार १० गतेसम्म निर्माण सम्पन्न हुनेगरी असार १७ गते निर्माण सम्झौता भएको थियो ।
करिब एक रोपनी क्षेत्रफलमा रहेको ३६ कोठे धर्मशाला भवन पुरानो र जीर्ण भएको छ भने झ्याल ढोका मक्किएको, थामले ठाउँ छोडेको, छाना चुहिने भएको, कति ठाउँमा छानो नै नभएकोले यसमा मानव बसोबास हुन सकेको छैन । अब भवनलाई मौलिक स्वरुपमा जीर्णोद्धार गरिने महानगरले जनाएको छ । श्रद्धालुको बसोबासलाई सहज बनाउन हरेक तलाका दुवैतर्फ महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय र स्नान कक्ष बनाइनेछ । यसपछि धर्मशालामा २४ वटा शौचालय र २० वटा स्नान कक्ष हुनेछन् । धर्मशाला भवनमा सरसफाइ र स्वच्छताको काम हुनेछ । पानीका लागि पाइप जडान र विद्युत् जडानको काम हुनेछ ।
धर्मशालामा रहने श्रद्धालुहरूका लागि भवन अगाडि मनमोहक पार्क बनाइने महानगरले जनाएको छ । पार्क डिजाइन गर्दा सबै उमेर समूहका व्यक्तिहरूलाई ध्यानमा राखिएको छ । ज्येष्ठ नागरिकलाई सामान्य व्यायाम गर्ने, योग गर्ने स्थान उपलब्ध हुनेछ । आराम गर्ने फलैँचा, बस्ने कुर्सी राखिनेछन् भने युवाहरूका लागि व्यायाम गर्ने साधन राखिनेछन् । ब्याटमिन्टन कोर्ट, बालबालिकाका लागि खेल्न ट्रामपोलिन, मङ्की बार, चिप्लेटीलगायत सामानसहितको सुविधा हुनेछ । परिसरमा समूहगत रुपमा बस्न मिल्ने बेञ्च र खुला स्थानका विभिन्न स्थानमा बस्न कुर्सी राखिनेछन् । आर्किटेक्ट इञ्जिनियर गौरव श्रेष्ठका अनुसार ६ हजार ३८१ वर्ग मिटर क्षेत्रको सरसफाइ गरेपछि काम थालनी गरिनेछ ।
पोखरी निर्माणसहित बगैँचा बनाउन करिब ३ हजार २३० घन मिटर माटो, बालुवा घटु चाः (पोखरी बनाउने माटो) प्रयोग हुनेछ । बगैँचामा ४ फिट उचाइका १५० वटा र ८ फिट उचाइका ३० वटा विरुवा रोपिनेछन् । ६ सयवटा मौसमी फूल रोपिनेछन् । २५० वटा पोली हेजसहितको हरियाली क्षेत्र निर्माण हुनेछ । करिब ३५० मिटर लम्बाईको सीमाघेरा पर्खाल लगाइनेछ । पर्खालको १ हजार ३५४ वर्गमिटर क्षेत्रमा दछी आपा राखिनेछ । पर्खाल कासिमो बुट्टा र पालेफो बुट्टासहितको हुनेछ । भुइँको २२७ दशमलव ७९ वर्गमिटर क्षेत्रमा परम्परागत तेलिया टायल राखिनेछ । भुइँ र पर्खाल गरी ३९७ दशमलव ९९ वर्गमिटर क्षेत्रमा टायल राखिने जनाइएको छ ।