काठमाडौं, दराज नेपालले रसुवा बाढी प्रभावितलाई राहत सहयोग गरेको छ । यस राहत पहलअन्तर्गत दराज नेपालले करिब ६०० बाढी प्रभावित परिवारलाई लक्षित गर्दै ३० हजार अमेरिकी डलर (करिब ४५ लाख रुपैयाँ) बराबरका राहत सामग्री उपलब्ध गराएको हो ।
साथै, थप आवश्यक सहयोगको योजना तथा तयारीपनि गरिरहेको कम्पनीले जनाएको छ । हाल उपलब्ध गराइएका राहत सामग्रीमा चामल, दाल, चना, नुन, सोयाबिन, खानेतेल, चिया तथा बिस्कुटलगायत लामो समयसम्म सुरक्षित राख्न सकिने अत्यावश्यक खाद्य सामग्री रहेका छन् । यी राहत सामग्री प्रभावित परिवारसम्म पु¥याउनका लागि नेपाल सरकारलाई प्रत्यक्ष हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । यसले राहत सहयोग स्थानीय आवश्यकताअनुरूप लक्षित गर्न तथा सबैभन्दा बढी सहयोग आवश्यक रहेका समुदायसम्म प्रभावकारी रूपमा पुर्याउन सहयोग मिल्ने कम्पनीको अपेक्षा छ ।
तत्कालीन राहत कार्य अघि बढ्दै गर्दा प्रभावित समुदायमा खाना पकाउने तथा खाना वितरणका लागि आवश्यक भाँडाकुँडा र सामग्रीको आवश्यकता पनि पहिचान भएको छ । दराज नेपालले नेपाल सरकारसँगको समन्वय तथा स्थलगत आवश्यकताको मूल्यांकनका आधारमा राहत सहयोगको आगामी चरणमा यस्ता सामग्री खरिद गर्ने तयारी गरिरहेको छ ।
यसैबीच, बाढीका कारण सडक तथा यातायात पूर्वाधारमा आएको अवरोधले विभिन्न क्षेत्रमा लजिस्टिक्स तथा डेलिभरी सेवामा समेत ठूलो चुनौतीको सिर्जना गरेको छ । दराज नेपालका टोलीहरूले आफ्नो लजिस्टिक्स नेटवर्कअन्तर्गतका विभिन्न मार्ग तथा सञ्चालन अवस्थाको निरन्तर निगरानी र मूल्यांकन गरिरहेको उल्लेख गरेको छ । ग्राहक, विक्रेता, डेलिभरी कर्मचारी तथा साझेदारहरूको सुरक्षा कम्पनीको पहिलो प्राथमिकता रहेको कम्पनीले जनाएको छ । प्रभावित क्षेत्रमा सडक तथा यातायातको अवस्थाका कारण केही समयका लागि डेलिभरी तथा सेवामा ढिलाइ वा अवरोध आउन सक्ने कम्पनीले जनाएको छ ।