काठमाडौं, भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुगेको छ । बाढीका कारण नेपाल र चीनबीचको व्यापारिक नाकामा ठूलो असर परेको छ ।
रसुवागढी नाकाका नेपाल र चीन दुवैतर्फका भौतिक संरचनामा पूर्ण रुपमा क्षति भएको छ । दुवैतर्फको व्यापरिक नाकामा रहेका व्यवसायी, कर्मचारी, चालकदलका सदस्यहरु रहेकाले ठूलो मानवीय क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
टिमुरेमा रहेको रसुवा भन्सार कार्यालयमा ठूलो मानवीय र भौतिक क्षति भएको आकलन छ । ३६ स्थायी दरबन्दी रहेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानालगायत २५ जना बुधबार दिउँसो नै सम्पर्कमा आएका थिए । करार र ज्यालादारीतर्फ ४ जना रहेकामा १ जना सम्पर्कमा आए पनि ११ स्थायी ३ करार र ज्यालादारी कर्मचारी सम्पर्कविहीन छन् ।
प्रमुख भन्सार अधिकृत ढुङगानाले आफूहरु दौडेर सुरक्षित हुनसकेको बताए । ‘करिब बिहान पौने ९ बजे भुकम्प आएको जस्तो भएको भयो । धेरै हल्ला भयो । भूकम्प आयो भनेर बाहिर निस्किएर हर्दा माथितिरबाट एकदमै ठूलो एक सय मिटर जति माथि ज्वालामुखी विस्फोट जस्तो आवाज र अन्धकार भएसँगै साथीहरुले भागौँ भनेर दौडेर बाँच्न सफल भएको हौं’,
त्यस्तै उद्योगी तथा व्यवासयाीहरुले पहिलो प्राथमिकतामा मानवीय उद्धारलाई राखेका छन् । बाढीमा परेका व्यवसायी, कर्मचारी, चालक, सर्वसाधारणलगायतका उद्धार गर्न सरकारसँग आग्रह गरिएको नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष अन्जन श्रेष्ठले बताए ।
‘हामीले बाढी प्रभावित क्षेत्रमा मानवीय उद्धारलाई पहिलो प्राथमिकतामा राखेका छौँ यसका लागि सरकार र उद्योगी तथा व्यवसायी र तिनसँग सम्बद्ध सम्पूर्णमा उद्धार र राहतलाई प्राथमिकता दिन आग्रह गरेका छौं’, उनले आर्थिक दैनिकसँग भने, ‘बाढीबाट जोगिन विभिन्न ठाउँमा ओत लागेर बसेका सबै नागरिकको उद्धार गरी राहत प्रदान होस् भन्ने हाम्रो लक्ष्य रहेको छ ।’
अध्यक्ष श्रेष्ठले करिब तीन देखि चार दिनसम्म उद्धार तथा राहतमा केन्द्रित हुने र त्यसपछि मात्र क्षतिलगायतका विवरण संकलन गर्ने काम अघि बढाउने बताएका छन् । महासंघका अनुसार बाढीका कारण करिब आठ सय जना हराइरहेका छन् । सो जानकारी महासंघका सदस्य एवम नेपाल हिमालय सीमापार वाणिज्य संघका अधिकारी र नेपाल विद्युत् प्राधिकरणका अधिकारीले दिएको जानकारी हो । संघका पूर्वअध्यक्ष बच्चु पौडेलले चार सय जना पर्यटक र करिब दुई सय जना चालक र सहचालक दलका सदस्यहरु बाढीका कारण अज्ञात अवस्था रहेको बताए ।
उनले बुधबार विभिन्न क्षेत्रका सदस्यहरुबीच बाढीको प्रभावलाई लिएर छलफल भएको र सो जानकारी प्राप्त भएको बताए । यता नेपाल पर्यटन बोर्डले कुल चार सय तीन जना पर्यटक वेपत्ता भएको जानकारी दिएको छ । विद्युत् प्राधिकरणले भने विभिन्न जलविद्युत् अयाोजनमा कार्यरत एक सय ३३ जनाभन्दा बढी कर्मचारी तथा श्रमिक सम्पर्कविहीन रहेको जनाएको छ । अध्यक्ष पौडेलले बाढीका कारण करिब पाँच सय वटाभन्दा बढी सवारीसाधानमा क्षति पुगेको छ ।
‘दशैँ, तिहार र तीजका लागि आवश्यक सामग्रीहरुले भरिएका दुई सयवटा कन्टेनरमा क्षति पुगेका छ’, उनले आर्थिक दैनिकसँग भने, ‘दशैँ, तिहार र तीजका लागि आयात गरिएको लत्ताकपडादेखि लिएर तत्काल प्रयोग गर्न मिल्ने अदुवा, लसुन प्याज र स्याउलगायतका फलफूलले भरिएका कन्टेनरमा क्षति पुगेको हो ।’