काठमाडौं– परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी ऐनसम्बन्धी मुद्दामा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार दिउँसो काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाबाट पक्राउ गरेको हो। सीआईबीका एसएसपी अनुपम शमशेर जबराका अनुसार भट्टराईलाई राहदानी ऐनअन्तर्गतको कसुरमा नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार भट्टराईले २०६८ सालमा राहदानी ऐनविपरीतको कसुर गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सोही घटनासम्बन्धी उनीविरुद्ध २०८२ साल चैतमा मुद्दा दर्ता गरिएको थियो। पक्राउ परेका भट्टराईलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।