काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनअन्तर्गत सम्पन्न हुन बाँकी रहेका जिल्ला तथा प्रदेश अधिवेशन यथाशीघ्र सम्पन्न गर्न मातहतका समितिलाई परिपत्र जारी गरेको छ।पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जारी गरेको परिपत्रमा हालसम्म सम्पन्न हुन बाँकी रहेका सबै जिल्ला तथा प्रदेश अधिवेशनहरू पहिलो महाधिवेशन चक्रकै बाँकी प्रक्रिया भएकाले महाधिवेशनमा लागू भएका पार्टी विधान, निर्वाचन कार्यविधि तथा आयोगका निर्णय, निर्देशन र व्याख्या यथावत् लागू हुने उल्लेख गरिएको छ।
आयोगका अनुसार जिल्ला तथा प्रदेश अधिवेशनसम्बन्धी निर्वाचन प्रक्रियामा एकरूपता, वैधानिकता तथा निष्पक्षता कायम राख्ने उद्देश्यले उक्त निर्देशन जारी गरिएको हो।
परिपत्रमा पहिलो महाधिवेशन चक्रमा कुनै सदस्यले अर्को तहबाट प्रतिनिधि वा कुनै पदमा उम्मेदवारी दर्ता गरेसँगै सोही महाधिवेशन चक्रका लागि बहाल रहेको प्रतिनिधिको हैसियत स्वतः समाप्त हुने स्पष्ट गरिएको छ। यसका लागि छुट्टै राजीनामा वा स्वीकृति आवश्यक नपर्ने उल्लेख गरिएको छ।त्यस्तै, प्रत्येक सदस्यले पहिलो महाधिवेशन चक्रमा एक तहको प्रतिनिधित्व मात्र गर्न पाउने व्यवस्था रहेको र एकै व्यक्तिले एकभन्दा बढी तहमा प्रतिनिधित्व गर्न नपाउने आयोगले स्पष्ट पारेको छ।
रास्वपाको पहिलो महाधिवेशन २०८३ साल असार ७ देखि १२ गतेसम्म सम्पन्न भएको थियो। महाधिवेशनबाट रवि लामिछाने सभापति र डा। स्वर्णिम वाग्ले उपसभापतिमा निर्विरोध निर्वाचित भएका थिए। महिलातर्फ उपसभापतिमा सोबिता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य तथा सहमहामन्त्रीहरूमा असिम शाह, हरि ढकाल र महिलातर्फ निशा डाँगी निर्वाचित भएका थिए।
साथै, ९९ सदस्यीय केन्द्रीय समिति पनि महाधिवेशनबाट चयन भएको थियो।महाधिवेशनपछि बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री बालेन शाहलाई पार्टीको वरिष्ठ नेतामा मनोनित गरेको थियो। पार्टी विधानअनुसार महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यबाहेक बाँकी पदहरू सभापतिको सिफारिसमा केन्द्रीय समितिले मनोनयन गर्ने व्यवस्था रहेको छ।यही मनोनयन प्रक्रिया तथा बाँकी संगठनात्मक काम सम्पन्न हुन बाँकी रहेका बेला केन्द्रीय निर्वाचन आयोगले जिल्ला र प्रदेश अधिवेशन समयमै सम्पन्न गर्न परिपत्र जारी गरेको हो।