काठमाडौं, शाओमीले नेपालमा रेडमी १७ सिरिजअन्तर्गत रेडमी १७ र रेडमी १७ ५जी सार्वजनिक गरेको छ । यो सिरिज प्रयोगकर्ताले पटक–पटक चार्ज गर्नुपर्ने झन्झट कम गर्ने उद्देश्यले ल्याइएको हो ।
कम्पनीका अनुसार रेडमी १७ सिरिजको मुख्य विशेषता ७ हजार ५०० एमएएचको ठूलो ब्याट्री हो, जुन आफ्नो सेग्मेन्टकै ठूलो क्षमतामध्ये एक हो । यसले भिडियो स्ट्रिमिङ, गेमिङ वा व्यस्त दिनभर फोन प्रयोग गर्दा पनि लामो समयसम्म साथ दिने कम्पनीको दाबी छ । ब्याट्री सकिन लाग्दा ४५ वाट टर्बो चार्जिङले छिटो चार्ज गर्न सहयोग गनेछ, यसले चार्जिङमा लाग्ने समय कम गर्ने कम्पनीको भनाइ छ । यस सिरिजमा २२.५ वाट रिभर्स चार्जिङ सुविधा पनि उपलब्ध छ । यसमार्फत फोनलाई पावर बैंकका रूपमा प्रयोग गरी इयरबड्स, स्मार्टवाच वा आवश्यक परेको अवस्थामा अर्को फोनसमेत चार्ज गर्न सकिन्छ । नेटवर्क र प्रयोगको अवस्थाअनुसार ब्याट्रीको वास्तविक प्रयोग अवधि फरक पर्न सक्छ भने रेडमी १७ ५जीले रेडमी १७ को तुलनामा अझ लामो समय प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
दुवै स्मार्टफोनमा ६.९ इन्चको एचडी डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट रहेको छ । रेडमी १७ मा मिडियाटेक हेलियो जी९१–अल्ट्रा प्रोसेसर प्रयोग गरिएको छ भने रेडमी १७ ५जीमा छिटो ५जी कनेक्टिभिटीका लागि स्न्यापड्रागन ४ जेन ५ मोबाइल प्लेटफर्म दिइएको छ । दुवै फोनमा शाओमी हाइपरओएस ३ रहेको छ र मेमोरी एक्सटेन्सनमार्फत १२ जीबीसम्म ¥याम सपोर्ट गर्ने कम्पनीको भनाइ छ । क्यामेरातर्फ दुवै फोनमा ५० मेगापिक्सेल एआई डुअल क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । डुअल–भ्यु भिडियो रेकर्डिङ सुविधामार्फत एकैपटक विभिन्न कोणबाट भिडियो खिच्न सकिन्छ । अडियोका लागि डुअल स्टेरियो स्पिकर दिइएको छ, यसले ३०० प्रतिशतसम्म भोल्युम बुस्ट सपोर्ट गर्छ । साथै, फोनमा ३.५ एमएम हेडफोन ज्याक र छिटो कनेक्सन तथा ट्याप–टु–पे सुविधाका लागि एनएफसी सपोर्ट पनि रहेको छ ।
करिब २३२ ग्राम तौल भएका दुवै फोनमा आईपी६४ डस्ट तथा वाटर रेसिस्टेन्स रहेको छ । यसले दैनिक प्रयोगमा फोनलाई थप मजबुत बनाउने कम्पनीको दाबी रहेको छ । बिहानदेखि रातिसम्म, घाम होस् वा पानी, प्रयोगकर्ताको दैनिक जीवनसँग सहज रूपमा चल्ने गरी फोन डिजाइन गरिएको छ । रेडमी १७ कालो, डीप ब्लु, ओक ग्रिन र लोटस पर्पल गरी चार रंगमा उपलब्ध हुनेछ । यो ४÷१२८ जीबी र ६÷१२८ जीबी गरी दुई भेरियन्टमा क्रमशः २७ हजार ९ सय ९९ रुपैयाँ र ३३ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ । त्यसैगरी, रेडमी १७ ५जी कालो, डीप ब्लु र भिभिड अरेन्ज गरी तीन रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यो ४÷१२८ जीबी, ४÷२५६ जीबी र ६÷२५६ जीबी गरी तीन भेरियन्टमा क्रमशः ३३ हजार ९ सय ९९, ३७ हजार ९ सय ९९ र ४१ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ ।