ओखलढुङ्गा, यहाँको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ स्थानीय कोटमाया कार्कीको ढुङ्गामाटोको गारो र खरको छानो भएको दुईतले घरमा विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखरकुमार साहले उक्त आगो फैलिएर उनकी बुहारी ज्ञानकुमारी कार्कीको दुईतले घरमा समेत क्षति पुगेको जानकारी दिएका छन् ।
आगलागीबाट कोटमाया कार्कीको घरसँगै अन्नपात, भाँडाबर्तन, लत्ताकपडा, गहना र रु. २० हजार नगद जलेर नष्ट हुँदा करिब १२ लाखबराबरको क्षति भएको जनाइएको छ । सिद्धिचरण नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा तीन घण्टापछि आगलागी नियन्त्रणमा आएको थियो ।
कोटमाया कार्कीकी बुहारी ज्ञानकुमारी कार्कीको घरसँगै आगलागीमा अन्नपात, लत्ताकपडा, गहना रु.५० हजार नगदसँगै करिब १४ लाख क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक साहले आगलागीबाट मानवीय र चौपाया क्षति भने नभएको जानकारी दिए ।