काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गरी सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी र रोकथाममा कडाइका साथ लाग्न निर्देशन दिएका छन् ।
आइतबार उक्त जिल्लामा रहेका सशस्त्र प्रहरी बल नेपालका बाहिनी, गण, गुल्म र बोर्डर आउट पोस्ट तथा सुरक्षा पोस्टमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सो निर्देशन दिएका हुन् । उनले सीमा अपराध नियन्त्रण तथा राजस्व चुहावट नियन्त्रण कार्यमा प्रभावकारी रुपमा परिचालित भई नतिजामुखी काम गर्न निर्देशन दिँदै सीमा इलाकामा हुने अवैध क्रियाकलाप रोकथाम र नियन्त्रणको लागि समयमा नै योजना बनाई तैनाथ हुनुपर्नेमा जोड दिए ।
कार्यक्षेत्रमा परिचालित हुने सशस्त्र प्रहरी कर्मचारीहरूले सकारात्मक सोच र फरक कार्यशैली अपनाइ पूर्ण जिम्मेवारी र बफादारिताका साथ काम गर्न निर्देशन दिँदै महानिरीक्षक पौडेलले भने, ‘असल मनसायका साथ गरिएको कामकारबाहीमा भएको कमीकमजोरीको जिम्मा संगठनले लिनेछ । उनले परम्परागत सोच र मानसिकताभन्दा माथि उठेर नतिजा दिने किसिमले काम गर्नुपर्ने बताउँदै सीमामा बसोबास गर्ने स्थानीय वासिन्दाहरूसँग सुमधुर सम्बन्ध राख्दै सीमा वारपार गर्ने आम नागरिकहरूको सहजताका लागि समेत काम गर्नुपर्ने बताए ।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सीमा क्षेत्रमा सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमको समेत प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताउँदै विशेषगरी सीमानाकामा हुने अवैध चोरीनिकासी तथा लागुऔषध ओसारपसार नियन्त्रण र राजश्व चुहावटलगायतका कार्यलाई उच्च प्राथमिकतामा राखी कार्य गर्नुकासाथै सीमामा हुने अवाञ्छित क्रियाकलापहरू तथा सम्भावित घट्ना दुर्घटनालाई समेत मध्यनजर गर्दै परिचालित हुनुपर्नेमा जोड दिए । सीमामा हुने अवैध क्रियाकलाप नियन्त्रणमा निर्मम ढंगले लाग्न र कुनै पनि आर्थिक प्रलोभनमा नपर्न उनले सीमा क्षेत्रमा कार्यरत सबै दर्जाका कर्मचारीलाई निर्देशन दिए । उनले बर्षातको समयलाई मध्यनजर गर्दै बाढी, पहिरो र डुबानजस्ता विपद्जन्य घटनामा तत्काल परिचालन हुनसक्ने गरी विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिहरूलाई आवश्यक उद्धारका सामाग्रीसहित तयारी हालतमा रहन समेत निर्देशन दिएका छन् ।