सुनसरी । राष्ट्रिय सुरक्षा परिषद्को निर्णयबिनै सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा नेपाली सेना परिचालन गरिएको पाइएको छ ।स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शनकारीले आगजनी तथा तोडफोड गर्न थालेपछि हतियारसहित नेपाली सेनाको टोली घटनास्थलमा पुगेको हो । तर, सेना परिचालनका लागि आवश्यक संवैधानिक प्रक्रिया पूरा भएको नदेखिएको स्रोतले जनाएको छ ।
संविधानअनुसार राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ । रक्षामन्त्री, अर्थमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, मुख्य सचिव, प्रधानसेनापति र रक्षा सचिव परिषद्का सदस्य रहन्छन् । परिषद्ले सेना परिचालनसम्बन्धी निर्णय गरी मन्त्रिपरिषद्मा सिफारिस गर्ने र मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट स्वीकृति भएपछि मात्र सेना परिचालन हुने व्यवस्था छ ।
तर, सुनसरीको कप्तानगञ्जमा सेना परिचालन गर्नुअघि राष्ट्रिय सुरक्षा परिषद्को निर्णय भएको वा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट स्वीकृति प्राप्त भएको कुनै निर्णय सार्वजनिक भएको छैन । यसले सेना परिचालनको संवैधानिक प्रक्रियामाथि प्रश्न उठाएको छ ।सेनाको टोली परिचालन भएपछि कप्तानगञ्ज क्षेत्रको अवस्था नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ । सुनसरी प्रहरीका अनुसारअवस्था सामान्य बनाउने प्रयास भइरहेको बताईएको छ ।
कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घटनामा सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
घटनापछि जिल्ला प्रशासन कार्यालय, सुनसरीले सोमबार बिहानदेखि कप्तानगञ्जसहित पाँच स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो । तर, कर्फ्यु आदेश उल्लङ्घन गर्दै सोमबार बिहानदेखि विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । प्रदर्शनका क्रममा आगजनी तथा तोडफोड हुन थालेपछि नेपाली सेना परिचालन गरिएको हो ।