Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहामारीमा सहयोगको शृंखला चलाउँदै शंकर ग्रुप र इन्फिनिटी होल्डिङ

महामारीमा सहयोगको शृंखला चलाउँदै शंकर ग्रुप र इन्फिनिटी होल्डिङ


काठमाडौँ । कोभिड–१९ को संक्रमण र यसको प्रभाव बढेसँगै नेपालका सफल दुई व्यापारिक समूह शंकर ग्रुप र इन्फिनिटी होल्डिङले संयुक्त प्रयासमा सहयोगको शृंखला सुरु गरेका छन् । दुवै समूहले संयुक्त रुपमा हालसम्म साढे तीन करोड रुपैयाँभन्दा बढीको स्वास्थ्य सामग्री, उपकरण र प्राविधिक सहयोग देशभरका अस्पताल र अग्रपंक्तिमा खटिएका ‘कोभिड वारियर’हरुलाई हस्तान्तरण गरिसकेका छन् ।

शंकर र इन्फिनिटीले काठमाडौंको वीर र सशस्त्र प्रहरी बल अस्पताल, रुपन्देही र सेती प्रादेशिक अस्पतालका लागि आवश्यक सहयोग अग्रपंक्तिमा खटिएका दुई सामाजिक संस्थामार्फत केही सामग्री हस्तान्तरण गरिसकेका छन् भने केही सामग्री एक÷दुई दिनमै हस्तान्तण गर्नलागेको जनाएको छन् । शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल र इन्फिनिटी होल्डिङका अध्यक्ष दीपक भट्टले महामारीमा सहयोगको यो शृंखला निरन्तर सञ्चालन हुने बताए । उनीहरुले यस मानवीय संकटमा अधूरा र उधारो वाचाभन्दा अहिलेको तत्काल आवश्यकताको पूर्तिका लागि आफूहरु सक्रिय रहेको बताए । यो समूहका अनुसार केही दिनमै धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अत्याधुनिक तथा बहुउपयोगी अक्सिजन प्लान्ट जडानको तयारी भइरहेको छ ।

फ्रान्सबाट एयरलिफ्ट गर्न थालिएको नोभाएयर मेडिकल्स कम्पनीको अक्सिजन प्लान्टमा ४५ शय्यामा ‘हाइ फ्लो’ र दैनिक सात सय लिटर अक्सिजन उत्पादन हुनेछ । दुवै कम्पनीले पहिलो चरणमा वीर अस्पतालको नयाँ भवनमा ५० शय्याका साथै त्यसका लागि आवश्यक म्याट्रेस, तन्ना, सिरानी र त्यसको खोललगायतका सामग्री हस्तान्तरण गरेको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा आवश्यक अस्पताल तथा स्वास्थ्य संस्थाका लागि सय शय्याका साथै त्यसका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको छ ।

कम्पनीले काठमाडौंमा सामाजिक संस्था हामी नेपाल र सुदूरपश्चिम प्रदेशमा ह्युम्यानिटी फाउन्डेसनमार्फत सहयोग हस्तान्तरण गर्दै आएको छ । शंकर र इन्फिनिटीले चीनबाट मगाएका पाँच सय २० थान भल्भ्स र रेगुलेटरसहितका अक्सिजन सिलिण्डर सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र सशस्त्र प्रहरी अस्पताल बलम्बुलाई केही दिनमै हस्तान्तरण गर्ने जनाएको छ । यस्तै रुपन्देहीमा अग्रपंक्तिमा खटिएका ‘कोभिड वारियर’का लागि ५० हजार मास्क उपलब्ध गराएको छ । यो समूहले सुदूरपश्चिम प्रदेशका लागि तीन सय २० थान र एपीएफ अस्पताल तथा कर्णाली प्रदेशमा एक–एक सय थान सिलिण्डर हस्तान्तरण गर्न लागेको पनि जनाएको छ । यस्तै सुदूरपश्चिम प्रदेशका लागि डेढ लाख थान मास्क, दुई सय थान पीपीई सेट प्रदान गरिसकेको छ । यसअघि उक्त समूहले वीर अस्पतालमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र जोखिम मोलेर स्वयंसेवामा खटिएका हामी नेपालका स्वयंसेवकका लागि दुई सय ५० वटा पीपीई सेट, दुई सय फेस सिल्ड र पाँच हजार मास्क दिएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया