Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभन्सार नाकामा रोकिएका सवारीसाधन छुटाउन सहजीकरण गर्न नाडाको माग

भन्सार नाकामा रोकिएका सवारीसाधन छुटाउन सहजीकरण गर्न नाडाको माग


काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भन्सार नाकाहरूमा रोकिएर रहेका सवारीसाधनहरू छुटाउन सहजीकरण गरिदिन माग गरेको छ । नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वको एक प्रतिनिधि मण्डलले बिहीबार भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासँग भेटी नाकाहरूमा लामो समयदेखि रहेका सवारीका साधनहरू छुटाउन सहजीकरण गर्न आग्रह गरेको हो ।

नाडाका अध्यक्ष थापाले सरकारले सवारीसाधनहरूको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि सवारीसाधनको खरिदमा सुधार हुन नसकेको् बताए । आयात प्रतिबन्ध लगाउनुअघिदेखि नै नेपाल राष्ट्र बैंकले लागू गरेको अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई एक सय ५० प्रतिशतबाट पुरानै अवस्थामा नल्याएसम्म सवारीसाधनहरूको खरिदबिक्रीमा कुनै सुधार हुन नसक्ने उनको भनाइ थियो । सोही कारण सवारीसाधन पैठारीकर्ताहरूले भन्सार नाकाहरूबाट आफ्ना सवारीसाधनहरू उठाउन नसकेको उनले स्पष्ट पारे । यस्तै नाडाका उपाध्यक्ष निराकार श्रेष्ठले कार जीप र भ्यानजस्ता सवारीसाधनहरूको बजार वार्षिक १७/१८ हजार रहेकोमा अहिले त्यो घटेर सात/आाठ हजारमा झरेको बताए । कुल सवारीसाधनहरूको बिक्री ८५ प्रतिशतसम्म बैंक ऋणबाटै हुनेगरेको समेत उनको भनाइ थियो ।

त्यसैगरी नाडाका सहकोषाध्यक्ष पंकज अग्रवालले एलसी खोलेर ल्याएका स्पेयर पार्टसहरूको मूल्यांकनमा पनि समस्या आइरहेको बताए । पैठारीकर्ताले पेस गरेको बिल मूल्यलाई मान्यता दिन आग्रह गर्दै उनले सन्दर्भ मूल्य सूचीले व्यवसायीहरूलाई धेरै समस्या परिरहेको बताए । उनले सन्दर्भ मूल्यसूचीलाई समेत खारेज गर्नुपर्ने माग राखे ।

छलफलको महानिर्देशक चक्रबहादुर बुढाले भन्सार नाकाहरूमा रहेका सवारी तथा ढुवानीका साधनहरूको सम्बन्धमा मन्त्रालयमा समेत पटक–पटक छलफल भइसकेको जानकारी दिए । नेपालका कुन–कुन भन्सार नाकाहरूमा के–कस्ता ब्राण्डका के–कति संख्यामा सवारीका साधनहरू (दुईपाङ्गे्र तथा तीनपाङ्ग्रेबाहेक) भन्सार परिसरमा छुटाउन बाँकी रहेका छन्, त्यसको विवरण यथाशीघ्र विभागमा पठाइदिन उनले आग्रह गरे । यसै क्रममा महानिर्देशक बुढाले विभागले छिटै मूल्यांकन गोष्ठीको आयोजना गर्न लागेको समेत जानकारी दिए । सो छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ललगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया