Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलाभांश घोषणामा ढिलाइ

लाभांश घोषणामा ढिलाइ

एक सय १२ बैंक तथा वित्तीय संस्थामध्ये २६ वटाको मात्रै घोषणा


काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको लाभांश वितरणमा ढिलाइ भएको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनसम्बन्धी ऐन र कम्पनी रजिस्टर्ड ऐनअनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्ष सुरु भएको पहिलो छ महिनाभित्र गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरी वार्षिक साधारणसभा सम्पन्न गरिसक्नुपर्छ । जसअनुसार बैंक तथा वित्तीय संस्थाले पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्नुपर्छ । तर, अहिलेसम्म २६ वटा संस्थाले मात्र आर्थिक वर्ष २०७९/०८० को खुद मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।

नेपालमा २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी, ५७ वटा लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंकसहित कुल एक सय १२ वटा संस्थाहरु सञ्चालनमा छन् । तर, चालू आर्थिक वर्ष सुरु भएको पाँच महिना पुगिसक्दा पनि ११ वटा वाणिज्य बैंक, तीनवटा विकास बैंक, एउटा फाइनान्स कम्पनी, ११ वटा लघुवित्त वित्तीय संस्था र नेपाल इन्फ्रास्ट्रक्चर बैंक सहित २६ वटाले मात्र लाभांश वितरण गर्ने घोषणा गरेका छन् । सोअनुसार अझै ८६ वटा संस्थाहरुले लाभांश वितरण गर्ने वा नगर्ने निर्णय गरेका छैनन् ।

नबिल बैंक, नेपाल एसबीआई बैंक, ग्लोबल आईएमई बैंक, स्टान्र्डड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, एनआईसी एसिया बैंक, सानिमा बैंक, एभरेष्ट बैंक र माछापुच्छ्रे बैंकले अहिलेसम्म लाभांश घोषणा गरेका छन् । यसमध्ये केहीले साधारणसभा सम्पन्न गरी लाभांश वितरण गरेका छन् भने केहीले साधारणसभा डाकेका छन् । एनएमबी बैंकले भने लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।

विकास बैंकतर्फ मितेरी डेभलपमेन्ट बैंक र सांग्रिला डेभलपमेन्ट बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंकले मात्रै लाभांश घोषणा गरेका छन् । फाइनान्सतर्फ मञ्जुश्री फाइनान्सले मात्रै लाभांश घोषणा गरेको छ । लघुवित्ततर्फ भने फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, सपोर्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, स्वालम्बन लघुवित्त वित्तीय संस्था, एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, आरएसडीसी लघुवित्त वित्तीय संस्था, युनिक लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् ।

आव २०७९/०८० को खुद मुनाफामध्येबाट मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र हिमालयन लघुवित्त वित्तीय संस्थाले भने कुनै पनि किसिमको लाभांश वितरण नगर्ने घोषणा गरेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया