Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसात अर्ब ६९ करोड ऋण उठाउँदै सरकार

सात अर्ब ६९ करोड ऋण उठाउँदै सरकार


काठमाडौं । सरकारले आज (बिहीबार) सात अर्ब ६९ करोड रूपैयाँबराबर आन्तरिक ऋण उठाउन लागेको छ । नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र बिक्री गरी सो रकम उठाउन लागेको राष्ट्र बैंकले जनाएको छ ।

ऋणपत्र खरिद गर्न इच्छुकले बोलकबोल माध्यमद्वारा छ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘ङ’ (६ वर्षे) बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकहरूले खरिद गर्न सक्नेछन् ।

२०८० चैत ९ गते निष्काशन हुने विकास ऋणपत्र २०८६ चैत ९ गते परिपक्व हुनेछ । ऋणपत्र खरिदको लागि आज अपराह्न ३ बजेसम्म बोलकबोल पेस गर्नुपर्नेछ । राष्ट्र बैंकका अनुसार इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरूपमा सहभागी भएर ऋणपत्र खरिद गर्न सक्नेछन् । छुट्याइएको रकममध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् छ अर्ब ५३ करोड ६५ लाख र एक अर्ब १५ करोड ३५ लाख रूपैयाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुनआउने रकम प्रतिस्पर्धी बोलवालाहरूलाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोलप्राप्त हुनआएमा बोलवालाहरूलाई समानुपातिकरूपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने व्यवस्था छ ।

खरिद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रूपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद गर्नसक्ने व्यवस्था तोकिएको छ । राष्ट्र बैंकका अनुसार यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रूपमा मात्र भाग लिन व्यवस्था रहेको छ । यस बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्र्धीको रूपमा भाग लिन पाउनेछैनन् । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमार्फत हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया