Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकिन बढ्दै छ अन्तरबैंक कारोबार ?

किन बढ्दै छ अन्तरबैंक कारोबार ?


काठमाडौं  । बैंक तथा वित्तीय संस्थामा अल्पकालीन अवधिको लागि हुने कारोबार अर्थात् अन्तरबैंक कारोबार बढेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा ५४ वटा बैंक तथा वित्तीय संस्थाले २८ खर्ब ७२ अर्ब ७४ करोड रूपैयाँबराबर अन्तरबैंक कारोबार गरेका छन् । गतवर्ष वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुँदा पनि बैंकहरूले यति धेरै कारोबार गरेका थिएनन् । गत आर्थिक वर्षकोे पहिलो सात महिनाको तुलनामा यसवर्ष बैंकहरूले छ खर्ब ११ अर्ब ९२ करोड रूपैयाँ बढी अन्तरबैंक कारोबार गरेका छन् । गतवर्ष साउनदेखि माघसम्म बैंक तथा वित्तीय संस्थाले २२ खर्ब ६० अर्ब ५२ करोड रूपैयाँबराबर अन्तरबैंक कारोबार गरेका थिए ।

बैंक तथा वित्तीय संस्थामा वाणिज्य बैंकहरूले गरेको अन्तरबैंक कारोबारको हिस्सा सबैभन्दा धेरै छ । साउनदेखि माघ मसान्तसम्म वाणिज्य बैंकहरूले २५ खर्ब ९६ अर्ब १८ करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच खर्ब ३९ अर्ब ७७ करोड रूपैयाँले बढी हो । गतवर्ष सात महिनामा वाणिज्य बैंकहरूले २० खर्ब ५६ अर्ब ४१ करोड रूपैयाँ अन्तरबैंक कारोबार गरेका थिए । विकास बैंक र फाइनान्स कम्पनीहरूले चालू आर्थिक वर्षको सात महिनामा दुई खर्ब ७६ अर्ब २६ करोड रूपैयाँ अन्तरबैंक कारोबार गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२ अर्ब १४ करोड रूपैयाँले बढी हो । गतवर्ष सोही अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरूले दुई खर्ब चार अर्ब १२ करोड रूपैयाँ अन्तरबैंक कारोबार गरेका थिए ।

No description available.

बैंकिङ क्षेत्रमा अन्तरबैंक कारोबार बढेसँगै भारित औसत ब्याजदर घटेको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूको २०७९ माघमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर नौ दशमलव ७९ प्रतिशत रहेकोमा २०८० माघमा यस्तो ब्याजदर घटेर तीन दशमलव ३४ प्रतिशतमा खुम्चिएको छ । यसैगरी बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०७९ माघमा पाँच दशमलव २९ प्रतिशत रहेकोमा २०८० माघमा तीन दशमलव शून्य चार प्रतिशत छ । २०८० माघमा वाणिज्य बैंकहरूको औसत आधार दर नौ दशमलव शून्य छ प्रतिशत, विकास बैंकहरूको ११ दशमलव १३ प्रतिशत र फाइनान्स कम्पनीहरूको १२ दशकलव ७० प्रतिशत छ । अघिल्लो वर्षको माघमा वाणिज्य बैंकहरूको औसत आधार दर १० दशमलव ७२ प्रतिशत थियो ।

राष्ट्र बैंकका अनुसार २०८० माघमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर सात दशमलव शून्य एक प्रतिशत, विकास बैंकहरूको आठ दशमलव २६ प्रतिशत र फाइनान्स कम्पनीहरूको नौ दशमलव ४५ प्रतिशत छ । २०७९ माघमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर आठ दशमलव ४१ प्रतिशत कायम थियो । त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर २०८० माघमा वाणिज्य बैंकहरूको ११ दशमलव शून्य आठ प्रतिशत र विकास बैंकहरूको १२ दशमलव ८५ प्रतिशत छ । यस अवधिमा फाइनान्स कम्पनीहरूको भारित औसत ब्याजदर भने १३ दशमलव ९३ प्रतिशत छ । २०७९ माघमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १३ दशमलव शून्य तीन प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया