Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्र बैंकद्वारा सरकारलाई खर्चको जोहो

राष्ट्र बैंकद्वारा सरकारलाई खर्चको जोहो


काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत १२ गते सोमबार (आज) सरकारका लागि २० अर्ब ७१ करोड २५ लाख रूपैयाँबराबरको आन्तरिक ऋण उठाउने भएको छ । चालू आर्थिक वर्षमा सरकारका लागि आवश्यक पर्ने खर्च दुई खर्ब ४० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने दायित्व बोकेको राष्ट्र बैंकले आज नयाँ ट्रेजरी बिल बिक्रीबाट पाँच अर्ब रूपैयाँ र पुरानो ट्रेजरी बिल नवीकरणबाट १५ अर्ब ७१ करोड २५ लाख रूपैयाँ समेत गरी कुल २० अर्ब ७१ करोड २५ लाख रूपैयाँबराबरको आन्तरिक ऋण उठाउन लागेको हो ।

राष्ट्र बैंकका अनुसार आज अपराह्न तीन बजेसम्म बोलकबोलको माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । बिक्री हुने ट्रेजरी बिल २८ दिन अवधिको पाँच अर्ब रूपैयाँको नयाँ र बाँकी सबै पुरानो नवीकरणअन्तर्गतको छ । ट्रेजरी बिल वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् ।

केन्द्रीय बैंकका अनुसार २८ दिन अवधिको पाँच अर्ब रूपैयाँ, ९१ दिन अवधिको १० अर्ब ११ करोड १५ लाख रूपैयाँ, एक सय ८२ दिन अवधिको ६० करोड रूपैयाँ र तीन सय ६४ दिन अवधिको पाँच अर्ब रूपैयाँबराबरको ट्रेजरी बिल बिक्री हुनेछ । चैत १३ गते मंगलबार जारी हुने ट्रेजरी बिलमध्ये २८ दिन अवधिको २०८१ वैशाख ११ गते, ९१ दिन अवधिको २०८१ असार १२ गते, एक सय ८२ दिन अवधिको २०८१ असोज आठ गते र तीन सय ६४ दिन अवधिको २०८१ चैत्र ११ गते परिपक्व हुने छ ।

यसअघि चैत पाँच गते पनि राष्ट्र बैंकले २८ दिन अवधिको पाँच अर्ब रूपैयाँ, एक सय ८२ दिन अवधिको चार अर्ब ३० करोड रूपैयाँ र तीन सय ६४ दिन अवधिको नौ अर्ब रूपैयाँ समेत गरी कुल १८ अर्ब ३० करोड रूपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ मा मात्र सरकारको लागि कुल दुई खर्ब ४० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउनेछ । यसको लागि ५५ अर्ब रूपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने तयारी राष्ट्र बैंकको छ । जसमध्ये पहिलो त्रैमासमा पाँच अर्ब, दोस्रो त्रैमासमा १० अर्ब, तेस्रो त्रैमासमा १५ अर्ब र चौथो त्रैमासमा २५ अर्ब रूपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने तालिका केन्द्रीय बैंकको छ । ट्रेजरी बिलबाहेक पनि केन्द्रीय बैंकले विकास ऋणपत्र, वैदेशिक रोजगार बचतपत्र, नागरिक बचतपत्रलगायतका मौद्रिक उपकरणहरू बिक्री गरी सरकारका लागि पैसाको जोहो गर्नेछ ।

ट्रेजरी बिल भनेको के हो ?
ट्रेजरी बिल भनेको एक वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया