Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच सम्झौता

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच सम्झौता


काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरको लागि सम्झौता भएको छ । शुक्रबार नेपालको वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अंगीकार गरेको बैंक तथा वित्तीय संस्थाहरूको मर्जर/एक्वीजिसन नीतिको अनुसरण गर्दै नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडबीच एक–आपसमा गाभ्न गाभिनको लागि सम्झौता गरेका हुन् ।

सम्झौतामा नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे तथा मेगा बैंक नेपालको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले हस्ताक्षर गरी मर्जरको लागि औपचारिकरूपमा कार्य शुभारम्भ गरेका हुन् । नेपाल इन्भेष्टमेन्ट बैंक तथा मेगा बैंक दुवै वाणिज्य बैंकको क्षेत्रमा अग्रणी बैंकहरूको रूपमा सबल एवं सक्षम संस्थाको रूपमा सुपरिचित रहेका छन् । बैंकहरू एक–आपसमा गाभिएपछि वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गरी देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नुका साथै यसले नेपाल राष्ट्र बैंकको नीतिलाई समेत थप उत्साह प्रदान गरी अन्य बैंकहरूलाई समेत मर्जरको लागि प्रेरित गर्ने देखिन्छ ।

मर्जरपछि बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’ हुने र सञ्चालक समितिको अध्यक्षको रूपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रूपमा ज्योति प्रकाश पाण्डे रहने सहमति भएको छ । त्यसैगरी मर्जरपछि बन्ने बैंकको नयाँ सञ्चालक समितिमा दुवै बैंकको सञ्चालकहरूको प्रतिनिधित्व रहनेछ ।

हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३१ करोड तथा मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रुपैयाँ रहेकोमा दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब ४३ करोड रुपैयाँ चुक्ता पुँजी भएको सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बन्नेछ । त्यसैगरी हाल नेपाल इन्भेष्टमेन्ट बैंकको जगेडा तथा कोष १४ अर्ब ७२ करोड र मेगा बैंक नेपालको पाँच अर्ब ९२ करोेड, कर्जा लगानीतर्फ हाल नेपाल इन्भेष्टमेन्ट बैंकको एक खर्ब ७३ अर्ब ४६ करोड र मेगा बैंकको एक खर्ब ५० अर्ब ४६ करोड र निक्षेपतर्फ नेपाल इन्भेष्टमेन्ट बैंकको एक खर्ब ८२ अर्ब एक करोड र मेगा बैंकको एक खर्ब ५२ अर्ब आठ करोड रुपैयाँ रहेको हुँदा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक हुनेछ ।

दुवै बैंकहरू एक–आपसमा गाभिएपछि संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्यक्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सबल एवं सक्षम बैंकको रूपमा वित्तीय बजारमा स्थापित भई ग्राहकवर्गलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरूलाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास र प्रतिबद्धताका साथ यो मर्जर कार्यमा लागेको दुवै बैंकका अध्यक्षहरूले जानकारी गराएका थिए । उनीहरूले यो रूपान्तरणकारी प्रयासमा हौसला दिने तथा साथ एवं सहयोग पु-याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित सम्पूर्ण क्षेत्र तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेका थिए । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x