Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअन्तर्वार्तारुद्राक्ष मानव कल्याणका लागि भगवान् शिवबाट दिइएको प्रसाद हो

रुद्राक्ष मानव कल्याणका लागि भगवान् शिवबाट दिइएको प्रसाद हो


खतिवडाले रूचि र समयको अभावका कारण रुद्राक्षबाहेक अन्य व्यवसायमा लगानी गर्ने सोच बनाउनु भएको छैन । उहाँले रुद्राक्षसँग जोडिएको स्टोनको व्यापारमा समेत गरेका छैनन् । योजना रुद्राक्षसँगै आबद्ध भई रुद्राक्षकै व्यापारबाट विश्व रेकर्ड गर्ने लक्ष्य छ । रुद्राक्षको विश्वमा व्यापारको अवस्था, सम्भावना र अवसरजस्ता विषयमा आर्थिक दैनिकका प्रतिनिधिले गरेको कुराकानीको सम्पादित अंश ।

रुद्राक्ष प्रयोग तथा व्यवसायको अवस्था कस्तो छ ?

अहिले रुद्राक्षको बारेमा जनचेतना बढ्दै गइरहेको छ । पहिले यसलाई जोगीहरूले मात्रै प्रयोग गरिने वस्तुको रूपमा लिइन्थ्यो भने अहिले यसलाई हिन्दुहरूले मात्रै नभई अन्य धर्मावलम्बीहरूले पनि प्रयोग गर्न थालेकाले बजार विस्तार भइरहेको छ । ज्योतिषीय परामर्शद्वारा पनि रुद्राक्षको उपयोग बढ्दै गएको छ । ध्यान गर्न, जप गर्न, नराम्रो ग्रहदशा कटाउन, प्रसादको रूपमा पनि यसलाई प्रयोग गरिन्छ । अन्य देशका मानिसहरूले हिन्दु धर्मसँग प्रभावित भएर यसलाई प्रयोग गर्छन् । चाइनिजहरू भने यसलाई ब्रासलेटको रूपमा प्रयोग गर्छन् । उनीहरू एकै साइज, रंग र मुखका रुद्राक्ष प्रयोग गर्छन् । तीन मुखेदेखि १३ मुखेसम्म उनीहरूको विशेष रूचि हुन्छ । आजकल सिजनमा तीन हजारको हाराहारीमा खाँदबारी तथा आसपासका क्षेत्रमा उनीहरूलाई देख्न सकिन्छ । इन्डियनहरूले भने साधना, ध्यान, जप, इच्छा सिद्धिका लागि विभिन्न प्रकारको रुद्राक्ष प्रयोग गर्छन् । आजकल नेपाली युवापुस्ताले पनि विगतको तुलनामा यसको प्रयोग बढाएका छन् । यसबाट पनि रुद्राक्ष व्यवसाय राम्रो अवस्थामा रहेको पुष्टि हुन्छ ।

रुद्राक्ष पाइने स्थानका बारेमा बताइदिनुहोस् ।

नेपाल, भारत र इन्डोनेसियामा रुद्राक्ष पाइन्छ । विशेषगरी दुई स्थानमा यसको उत्पादन हुन्छ । उत्तर भारतमा दुई र तीनमुखे रुद्राक्ष मात्र हुन्छ । जसमा प्राकृतिक प्वाल हँुदैन र निकै पाइने भएकोले यो सस्तो पनि हुन्छ । त्यस्तै, रुद्राक्षजस्तै तर काजु आकारको एकमुखे दक्षिण भारतमा पाइन्छ । अधिकांश पसलहरूमा यसलाई नै एकमुखी भनेर बिक्री गरिन्छ । यो सस्तो पनि हुन्छ । इन्डोनेसियामा भने नेपालजस्तै तर निकै सानो आकारको रुद्राक्षहरू पाइन्छ । अधिकांश पसलहरूमा देखिने माला त्यहीबाट आउँछ । यसमा पनि नेपाल जस्तैः बहुमुखे रुद्राक्षहरू पाइन्छ । आकारमा सानो हुने भएकाले यसलाई गन्न र चिन्न गाह्रो हुन्छ । विशेषगरी १४ मुखेभन्दा माथिका रुद्राक्ष बिरलै पाइन्छ र महँगो हुन्छ । प्रयोगकर्ताहरूले नेपाली रुद्राक्षलाई अत्यन्तै मन पराउँछन्  ।

नेपाली किसानलाई रुद्राक्षमा सबल र व्यावसायिक बनाउन तपाईंस“ग कस्ता योजना छन् ?

रुद्राक्ष संसारको केही देशहरूमा मात्र फल्छ । रुद्राक्ष विशेषगरी भारत, इन्डोनेसिया र नेपालमा प्रमुखरूपमा पाइन्छ । नेपालको रुद्राक्ष नै सबैभन्दा सुन्दर, शक्तिशाली, प्रभावशाली भएको हुनाले यसको महत्व र माग अत्याधिक रहेको छ । त्यसो हुनाले हरेक नेपाली किसानहरूले सकेसम्म रुद्राक्षको बोट रोपेर यसको उत्पादन गरेर राम्रो आम्दानी गर्न सक्छन् । तीन वर्षमा यसले उत्पादन दिन थाल्ने भएकाले यसलाई स्याहार–सुसार पनि बढी गर्नुनपर्ने भएकोले किसानहरूले यसको राम्रो फाइदा लिन सक्छन् ।

नेपालीलाई पनि व्यवसायमा केन्द्रित गराउनका लागि तपाईंंसँग कस्ता योजना छन् ?

नेपाल एक पर्यटनमा आधारित मुलुक हो । नेपालको सांस्कृतिक मूल्य, मान्यता भएको देश हुनाले यसमा रहेको विविध प्राकृतिक सम्पदाहरूलाई प्रयोग गरी विश्वभरमा पुर्याउनुपर्छ । जस्तै, यार्सागुम्बा, शिलाजित, जडिबुटीहरू तथा रुद्राक्षलगायत प्रकृतिले दिएको उपहारलाई हामीले राम्ररी उपयोग गरेर विदेशी मुद्रा आर्जन गरी स्वदेशमै रोजगारी सिर्जना गर्न सकिन्छ ।

रुद्राक्षबाहेकका अन्य व्यवसायमा पनि लगानी गर्ने विषयमा सोच्नुभएको छ ?

रुद्राक्षबाहेक अन्य व्यवसायमा लगानी गर्ने सोच मैले बनाएको छैन । यसका लागि न मेरो समय छ न रूचि नै । रुद्राक्षसँग जोडिएको स्टोनको व्यापारमा त मैले हात हालेको छैन भने अन्य व्यापार भने मैले गर्ने कुरा नै भएन । म रुद्राक्षसँगै आबद्ध हुन चाहन्छु र रुद्राक्षकै व्यापारलाई विश्व रेकर्डमा लिएर जान चाहन्छु । यो नै मेरो जीवनको लक्ष्य हो । आजसम्म म यही मिसनमा चलेँ र अब पनि यसैमा लाग्न चाहन्छु ।

बोधिचित्तको दानाको बारेमा पनि केही थाहा छ ?

बोधिचित्त नेपालमा मात्र पाइने अर्को दुर्लभ दाना हो । यसका बारेमा मलाई धेरै थाहा छैन ।

संकलनपछिको ग्रेडिङ कसरी गर्ने गर्नुभएको छ ?

सुरुमा रुद्राक्ष किन्ने, सफा गर्ने, आकार, तौल हेर्दै फरक आकार हेर्दै छुट्याउने गर्दछौँ । यो गरेपछि यसको गुणस्तरका लागि माइक्रोस्कोपको प्रयोग गरेर हेर्ने गर्दछौँ । यसको माला कस्तो बन्छ त्यसै किसिमकोे बनाउने र फोटो खिचेर बेबसाइडमा प्रकाशित गर्ने काम गर्दछौँ । यदि उपभोक्तालाई एक्सरे रिपोर्ट पनि चाहिन्छ भने त्यो पनि दिने गर्दछौँ । त्यसको एक्सरे खिच्ने काम बेग्लै हुन्छ ।

नेपालमा व्यावसायिक वातावरण देख्नुभएको छ ?

मेहनत गर्ने मानिसलाई हरेक ठाउँमा अवसर र वातावरण हुन्छ । नेपालमा मेहनत गरेमा अगाडि बढ्ने प्रशस्त मौकाहरू छन् ।

नक्कली रुद्राक्ष कसरी छुट्याउन सकिन्छ ?

रुद्राक्षलाई आँखाबाट, एक्सरेबाट र रंग परिवर्तनबाट नक्कली र सक्कली छुट्याउन सकिन्छ ।

तपाईंको व्यावसायिक सफलताको विषयमा बताइदिनुहोस् ।

सफल र असफल कुन रूप महत्वपूर्ण हो भन्ने विषय मुख्य हो । रुद्राक्षको बारेमा प्रचारप्रसार गर्ने र रुद्राक्ष विश्वमा चिनाउने कुरामा म आफैँलाई सफल मान्छु । हामी उद्योगपति होइन । तर रुद्राक्षको व्यापार र पहिचानलाई अगाडि बढाउने विषयमा म सफल व्यवसायी हुँ । यसलाई नै निरन्तर दिन्छु । यसबाट एउटा परिवारमा रुद्राक्षको बारेमा जनचेतना जाग्छ । परिवारले रुद्राक्ष भनेर चिन्छ । मेरो कारणले एउटा रुद्राक्षको बोट रोप्छ भने म त्यसलाई नै म सफल मान्छु ।

नेपाली किसानले रुद्राक्षबाट व्यावसायिक लाभ कसरी लिन सक्छन् ?

मलाई जहाँसम्म लाग्छ, किसानले मात्र एउटा रुद्राक्षको खेती ग¥यो भने पनि हुन्छ । यसलाई ठाउँ पनि धेरै चाहिँदैन । म किसानलाई रुद्राक्ष मात्र पनि खेती गर्नु भन्दिन । तर ठाउँ छ भने रुद्राक्ष खेती गर्दा गुणस्तरीय रुद्राक्ष फल्न सक्छ ।

कृषकले सिधै तपाईंलाई रुद्राक्ष बेच्न र कसरी सम्पर्क गर्ने ?

कृषकले हामीलाई नै रुद्राक्ष बेच्न चाहन्छन् भने नेपा रुद्राक्षको बेबसाइट हेर्न सक्नुहुनेछ । तर हामी नयाँ कृषकहरूसँग रुद्राक्ष लिने काम गर्दैनौँ । हामी पुरानै कृषकहरूसँग रुद्राक्ष लिने गर्दछौँ । तर हामीलाई बिक्री गर्नुपरेमा हाम्रो स्टोरमा फोन पनि गर्न सक्नुहुनेछ ।

रुद्राक्षलाई प्रोत्साहन गर्नका लागि सरकारले के–कस्ता विषयमा सुधार गर्नुपर्छ ?

रुद्राक्षको प्रचारप्रसार गर्ने यसलाई लोकप्रिय बनाउने काम व्यवसायीको हो न कि सरकारको । व्यापारी स्वयम्ले नै गुणस्तरीय सामानको बेचबिखन गर्ने नजिकको फाइदाभन्दा टाढाको नोक्सानलाई ध्यानमा राखेर, कम गुणस्तरीय, नक्कली सामानको बेचबिखन नगर्ने, केही वर्ष अगाडि विशेषगरी चाइनिज व्यापारीहरूले औषधि तथा आकार परिवर्तन गर्ने प्रविधिमा कृषकलाई प्रत्यक्ष सम्पर्क गरी प्रयोग गरिएको पाइएको छ । त्यस्ता कार्य नगर्न स्थानीय सरकारले रोक लगाएको छ । हाल यस्ता कार्य धेरै नियन्त्रण भइसकेको छ । सरकारले गुणस्तरमापन गर्ने नक्कली कार्य गर्नेलाई कारबाही गरेमा रुद्राक्ष व्यवसायलाई अझ विकसित हुन मद्दत मिल्छ ।

सक्कली र नक्कली रुद्राक्ष कसरी चिन्न सकिन्छ ?

यसलाई चिन्ने तीन तरिका छन् । जान्ने मानिसले हेरेर नै चिन्न सक्छ । हरेक रुद्राक्षको बनोट उस्तै देखिए पनि सक्कली भएकोले भिन्न हुन्छ । एक्सरे गरेर हेर्दा भित्र रहेको खण्डहरू र बाहिरको मुखीको संख्या गन्दा बराबर हुनुपर्छ । यदि, कसैले काटेको छ भने रङ फरक आउँछ । सक्कली रुद्राक्षले प्रयोग गरेको केही समयपछि रंग परिवर्तन गर्छ भने नक्कलीले गर्दैन ।

नयाँ प्रयोगकर्ताले रुद्राक्ष कसरी छनोट गर्ने ? के सबै जनाले यसको प्रयोग गर्न सक्छन् ?

शिव पुराणको विधेश्वर समितामा शिव र पार्वतीबीच संवादमा रुद्राक्षलाई समस्त मानव कल्याणको निमित्त यसको उत्पत्ति भएको वर्णन गरिएको छ । त्यसैले यसलाई नारी पुरुष सबैले प्रयोग गर्न सक्छन् । रत्नजस्तो यसमा नकारात्मक असर नहुने हुनाले जो कोहीले पनि यसको प्रयोग गर्न सक्छन्, तर विशेषज्ञको सल्लाहमा लगाउँदा यसको अझ बढी फाइदा हुन्छ । राशीअनुसार, दशाअनुसार, कमजोर ग्रहलाई बलियो बनाउन, आफ्नो इस्ट देवताको लागि जप गर्न, ध्यान गर्न यसको प्रयोग हुन्छ । नेपा रुद्राक्षले जन्म मितिका आधार, ग्राहकको चाहना, समस्या समाधान आदिको विचार गरेर आवश्यक रुद्राक्ष छनोट गर्न मद्दत गर्दछ । यसका लागि हाम्रो टिममा उत्कृष्ट ज्योतिष, विभिन्न किसिमका माला बनाउन अनुभवी कालिगड तथा रुद्राक्ष छनोट, प्रशोधन गर्ने विशेषज्ञ छन् ।

विश्वका सबै मुलुकका मानिसलाई अमेरिका जान पाए हुन्थ्यो भन्ने लाग्छ । अमेरिकामा के त्यस्तो जादु छ ? रुद्राक्षको महत्व के–कस्ता छन् ?

रुद्राक्षको महत्व हामी प्राचीन ग्रन्थहरूमा पाउँछौँ । त्यसको वर्णन शिवपुराण, देवी भागवत, रुद्राक्ष जवालोपरिषमा गरिएको छ । रुद्राक्ष भगवान् शिवको आँखाबाट झरेको खुसीको आँशु हो । त्रिपुराश्वर दहन गरेपछि शिवलाई हाँसो उठ्दा झरेको खुसीको आँशु नै रुद्राक्ष हो । शिव पुराणमा वर्णन गरिएअनुसार यो समस्त मानव कल्याणका लागि भगवान् शिवबाट प्राप्त प्रसाद हो । यसलाई जप, ध्यान र लगाएर शिव कृपा प्राप्त गर्न सकिन्छ । शिवबाट प्रत्यक्ष प्राप्त प्रसाद भएकोले यसको महत्व अत्याधिक छ । अमेरिकामा मुख्य विषय अवसर रहेको छ । अवसरका रूपमा हामीले धेरै विषयलाई अगाडि बढाउन सक्छौँ । यहाँ सिक्न चाहनेहरूका लागि पनि अवसर रहेको छ । दुनियाँमा प्रख्यात व्यापारहरू अमेरिकामा छन् । दुनियाँले के काम गर्छन् र के गर्दैनन् भन्ने विषय पनि यहाँ छ । म यहाँ सिकेर नेपाल आउन चाहन्छु र अमेरिकामा सिकेका कुरा प्रयोग गर्न चाहन्छु ।

नेपाललाई अझ विकसित बनाउन कसले के गर्नुपर्छ जस्तो लाग्छ ?

नेपाललाई विकसित गर्नका लागि कसले गर्ने भनेर कुरेर बस्नु हुँदैन । आफैँले गर्नुपर्छ । आफ्नो दायित्वबोध गरेर काम गर्नुपर्छ । हामी नागरिकले आफूले गर्ने कर्तव्य गर्दै अगाडि बढ्नुपर्छ । कसैलाई कुरेर बस्नुहुँदैन ।

गरिबी, अशिक्षालाई सुधार गर्न के गर्न सकिन्छ ?

यसका लागि नेपालमै पाउने सामानको बेचबिखन र राम्रोसँग पढाइलाई अगाडि बढाउँदै अगाडि बढ्नुपर्छ । नेपालकै स्थानीय वस्तुको प्रोत्साहन गरेर नेपालीले पनि नेपालकै सामान किन्ने र बेच्न सक्यौँ भने नेपालको विकास टाढा छैन ।


क्याटेगोरी : अन्तर्वार्ता
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया