Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअन्तर्वार्तागैरआवासीय नेपाली नागरिकतासँगै हाम्रा भावी सन्ततिलाई नेपाल र यसको विकास निर्माणसँग जोड्ने बाटो खुला भएको छ

गैरआवासीय नेपाली नागरिकतासँगै हाम्रा भावी सन्ततिलाई नेपाल र यसको विकास निर्माणसँग जोड्ने बाटो खुला भएको छ

‘ठूलो संघर्षबाट प्राप्त भएको नागरिकताको दुरुपयोग भयो भने कडा कारबाही गर्नुपर्छ’


पर्वत धाइरिङका धार्मिक, सामाजिक एवम् शैक्षिक क्षेत्रका प्रख्यात अभियन्ता परिवारमा जन्मिएका हुन्, कुल आचार्य । उनकै प्रयासबाट अहिले गैरआवासीय नेपालीहरूले पनि देशको नागरिकता प्राप्त गर्ने भएका छन् । गैरआवासीय नेपालीहरूका लागि यो निकै सान्दर्भिक र स्वागतयोग्य काम हुन गएको छ । जहिलेदेखि गैरआवासीय नेपालीहरू परायाभूमिमा संगठित हुन थाले त्यसबेलादेखि नै यस्ता नेपालीहरूले पनि देशको नागरिकता पाउनुपर्छ भन्ने माग उठ्न थालेको थियो । त्यसलाई निष्कर्षमा पुर्याउनेमध्येका एक प्रमुख पात्र हुन्, आचार्य । उनकै नेतृत्वकालमा यो माग पूरा भयो । यसले आचार्यलाई संसारभर नै गैरआवासीय नेपाली नागरिकतासँग जोडिदियो र यो कामका लागि एउटा ऐतिहासिक अभियन्ताका रूपमा स्थापित गरिदियो । गाउँकै देउराली प्राविमा शिक्षण पेसा गर्दागर्दै आचार्यलाई एकदिन बेलायत जाने अवसर जुर्यो । बेलायत गएको तीन महिनामै एउटा रेस्टुरेन्टमा आफ्नो पाककलाको पनि प्रयोग गर्ने अवसर पाए, जसले उनलाई अब्बल सेफको रूपमा दर्ज गरायो ।

बेलायतको चर्चित पत्रिका ‘इभिनिङ स्टान्डर्र्ड’ मा उनको पाककलाको बारेमा रिभ्यु छापियो । त्यो रिभ्युले उनको चर्चा एकाएक चुलियो । त्यसपछि आफैँ केही गर्न तम्सिए र सन् २००६ मा आफ्नै ब्राण्ड ‘होलिकाउ’ लिएर लन्डनको रेस्टुरेन्ट बजारमा उदाए । यसबाट उनी मात्र होइन धेरै नेपालीले पनि अवसर पाए । यसले नै उनलाई एनआरएनएको अध्यक्षजस्तो गरिमामय पदमा पुर्यायो । यो जिम्मेवारीले सामाजिक काम तर्फ पनि प्रेरित गरायो । प्रस्तुत छ, आर्थिक दैनिकका लागि केदार सुवेदीले गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष कुल आचार्यसँग विदेशमा रहेकाहरूले गैरआवासीय नेपाली नागरिकता पाएपछिको अवस्थाका बारेमा केन्द्रित रहेर गरिएको वार्ताको सारसंक्षेप :

निकै लामो प्रयासपछि गैरआवासीय नेपालीले नागरिकता पाउने भएका छन्, यसले गैरआवासीय नेपालीहरूलाई के–कस्ता अवसर प्रदान गरेको छ ?

अवश्य पनि गैरआवासीय नेपाली नागरिकताका लागि मैले एनआरएनएको जिम्मेवारीमा रहँदा होस् या नरहँदा गत दुई दशकदेखि नै निरन्तर लबिङ गरिरहेको थिएँ । विभिन्न आरोह अवरोहहरू खेप्दै र झेल्दै नागरिकताका लागि निरन्तर लडेको हुँ । यो मुद्दामा सयौँ अभियन्ता साथीहरूले साथ दिनुभयो र आज त्यसको प्रतिफल प्राप्त भएको छ । अत्यन्तै खुसी र गौरव महसुस गरिरहेको छु । सौभाग्य पनि भन्नुपर्छ संविधानमा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता गत अक्टोबर १५ मा पर्वत जिल्लाबाट जारी भई गत अक्टोबर १७ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट प्राप्त गर्ने पहिलो एनआरएन हुन पाउँदा खुसी लागेको छ ।

गैरआवासीय नेपाली नागरिकतासँगै हाम्रा भावी सन्ततिलाई अब नेपालसँग जोड्ने बाटो खुला भएको छ । गैरआवासीय नेपालीलाई नेपाली नागरिक सरह सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार पाउने गरी नागरिकता लिने अवसर मिलेको छ । यो उपलब्धि प्रारम्भिक मात्र हो, यसपछि अन्य अधिकारहरूका लागि बिस्तारै लबिङ गर्दैअघि बढ्नुपर्छ । तर गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नका लागि धेरै समस्याहरू आएका छन् । यसको कार्यान्वयनमा केही समस्याहरू देखा परेका छन् । नेपाली नागरिकता लिइसकेपछि विदेशी पासपोर्टमा ट्राभल गर्दैगर्दा वा एयरपोर्टमा जाँदै गर्दा भिसा सिद्धियो, नेपाली नागरिक हुँ भनेर केही दिन ऊ नेपालमै बस्यो तर भिसाको अवधि सकिँदा अध्यागमनले पेनाल्टीसम्म लिएको अवस्था छ । नेपालको संविधानले व्यवस्था गरेको अधिकार सामाजिक, आर्थिक, सांस्कृतिक अधिकार दायाँबायाँ नगरिकन कार्यान्वयन गर्न म सरकारसँग आग्रह गर्छु । यो व्यवस्था सहज बनाउनका लागि नेपाल सरकार तत्कालै गम्भीर बनेर समस्याको समाधान गर्न तयार हुनुपर्छ ।

यो नागरिकताले खासगरी देशका लागि चाहिँ के–कस्तो योगदान पुग्ने ठान्नुहुन्छ ?

पक्कै पनि धेरै योगदान गर्न सकिन्छ । यस्तो नागरिकताले देशप्रति जिम्मेवार बन्न प्रेरित गर्छ । लगानी गर्न वा लगानी भित्राउन उत्साहित गर्छ । मातृभूमिप्रति स्नेह वा प्रेम जगाउँछ । भावी पुस्तालाई मातृभूमिप्रति आकर्षित गर्छ साथै राष्ट्रिय अर्थतन्त्र र विकासका क्षेत्रमा योगदान गर्ने हौसला मिल्छ । एनआरएन नागरिकताको कार्यान्वयनपछि संसारभरिका नेपालीहरूले नेपालमा रहेको उनीहरूको सम्पत्ति बिक्री वितरण गरेर विदेश लग्ने प्रवृत्तिमा कमी आइरहेको छ । नेपालमा लगानी गर्न उनीहरूको रूचि बढेर गएको छ । त्यस्तै, विदेशमा हुर्किरहेका दोस्रो र तेस्रो पुस्ताका एनआरएनहरूले पनि नेपालको नागरिकता लिन चासो देखाइरहेका छन् । देशको विकासमा गैरआवासीय नेपाली संघ सच्चा साझेदार बन्ने ढोका खुलेको छ । चाहे भारत, चीन, कोरिया, जापानजस्ता देशले डायस्पोराको सिप र पुँजी आफ्नो देशको विकासमा परिचालन गरेका छन्, नेपालमा पनि त्यस्तै प्रयास सुरु गर्ने अवसर मिलेको छ । सरकारले यो अवसरको उपयोग गर्नुपर्छ ।

यस्तो नागरिकता प्राप्तकर्ताहरू कतिपयले यसको दुरुपयोग गर्न थालेको भन्ने पनि सुनिन थालेको छ ? तपाईँहरूमा यस्ता जानकारी आएकोे छ ? त्यस्तो भयो भने कसरी रोक्ने ?

यसरी नागरिकताको दुरुपयोग गरिएको भन्ने मैले कुनै जानकारी पाएको छैन । यसलाई दुरुपयोग गर्ने अधिकार कसैलाई छैन । कानुनी दायरामा रहेर यसको सदुपयोग गर्नुपर्छ । दुरुपयोग गरेका खण्डमा कानुनले जे कारबाहीको व्यवस्था गरेको छ सोहीअनुसार कारबाहीको भागिदार बन्नुपर्छ । नागरिकता दुरुपयोग गर्नेलाई कारबाही र सदुपयोग गर्नेलाई प्रोत्साहित गर्नुपर्छ भन्नेमा म स्पष्ट छु ।

विगत २० वर्षदेखिको संगठित संस्था गैरआवासीय नेपाली संघले नेपाली समाजको लागि पुर्याएका योगदानहरू संक्षेपमा सम्झनुपर्दा के–के रहेका छन् ?

देशका लागि गैरआवासीय नेपालीहरूको योगदान अतुलनीय छ । देशमा संकट पर्दा होस् या सहज परिस्थितिमा होस् विदेशमा रहेका नेपालीहरूले ठूलो योगदान दिइरहेका छन् । भूकम्पको बेला होस् वा बाढीपहिरो वा नाकाबन्दीको बेला नेपालीलाई दुःख पिर पर्दा हामीले सधैँ हातेमालो गर्ने गरेका छौँ । एक अध्ययनका अनुसार गैरआवासीय नेपालीहरूले नेपालका विभिन्न क्षेत्रमा झन्डै एक खर्ब रुपैयाँ बराबरको लगानी गरेका छन् भने अरबौँ रुपियाँ बराबरका कल्याणकारी कार्यहरू गरेका छन् ।

अब हामीसँग रहेको सिप र स्रोत नेपालको विकासमा तथा रोजगारी सिर्जना गर्न लगाउनुपर्छ । देशप्रतिको मायाको भावनाले गर्दा विदेशमा निर्ब्याजीरूपमा रहेको पैसा नेपालमा ल्याउने र चाहेको बेला लैजान पाउने व्यवस्था गर्नुपर्छ ।

एनआरएनहरूले नेपालका बैंकमा खोलेको डलर एकाउन्टमा रहेको पैसाबाट नेपालमै लगानी गर्ने र मुनाफा फिर्ता लग्न पाउने व्यवस्था गरिनुपर्छ । त्यस्तै, जन्मेको माटोलाई विदेशी माटोमा लगेर नमिसाउन र यहाँको सम्पत्ति बेचेर विदेश नलगिदिन पनि म सबै एनआरएन मित्रहरूलाई अपिल गर्न चाहन्छु ।

No description available.

विदेशमा छरिएर रहेका विभिन्न नेपाली नागरिकले के–कस्ता समस्याहरू झेल्नु परिरहेको छ ?

नेपालको कूटनीतिक सम्बन्ध फितलो हुँदा विदेशका नेपालीहरूले विभिन्न समस्या झेल्ने गरेका छन् । कतिपय देशमा वाणिज्यदूत छैनन्, दूतावास छैनन् । जसका कारण भिसा प्रक्रियामा विकराल समस्याहरू देखिने गरेका छन् । दक्षिणपूर्वी एसिया साथै खाडी मुलुकका नेपालीहरूमा श्रमसम्बन्धी प्रशस्त समस्याहरू छन् । कतिपय अवस्थामा एनआरएनएले समन्वय गरेर समाधान त भएका छन् तर त्यो पर्याप्त छैन । विदेशमा श्रमिक, व्यवसायी र विद्यार्थीका फरक–फरक खाले समस्याहरू छन् । ती सबै कूटनीतिक पहलमार्फत हल गर्न सकिन्छ ।

अहिले ऊर्जाशील नेपाली युवाहरूको विदेश पलायनको आँकडा हेर्दा डरलाग्दो स्थिति देखिन्छ । यदि यसरी नै युवाहरू विदेश पलायन भइरहने हो भने नेपालमा उत्पादन गरिखाने जनशक्तिको अभाव हुन गई राष्ट्र नै असफल हुने दिशातर्फ मुलुक गइरहेको देखिन्छ ।

नेपालमै बस्ने वातावरण बनाउन के–कस्ता कार्यक्रमहरू ल्याउन जरुरी देख्नुभएको छ ?

प्रमुख कुरो त स्वदेशमा लगानीको वातावरण बनाउने गरी सरकारले रणनीति तयार गर्नुपर्छ । विदेशमा रहेका नेपाली व्यवसायीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्नुका साथै देखिएका कानुनी र व्यावहारिक समस्याहरू सुल्झाउनुपर्छ । कृषि, पर्यटन, ऊर्जाका क्षेत्रमा सम्भावना धेरै देखिएकाले यतातर्फ राज्यले ध्यान दिनुपर्ने देखिन्छ । नेपालको रणनीति यस्तो होस् कि विदेशमा रहेका नेपालीहरूलाई स्वदेशमै लगानी गरेर बस्न उत्साहित गराओस् । देशमा रोजगारी सिर्जना गर्ने र कर पनि तिर्ने लगानीकर्ताहरूलाई विशेष सुविधा र प्रोत्साहन दिनुपर्छ ।

विदेशमा बसेर हेर्दा नेपालमा सरकारले त्यस दिशातर्फ काम गरेको वा गर्न थालेको अवस्था छ कि छैन ?

सरकारले प्रयास त गरेकै देखिन्छ । तर अस्थिर राजनीतिक अवस्था र छोटो समयमा सरकार परिवर्तन भइरहने समस्याले कतिपय योजनाहरू तुहिने गरेका छन् । विशेषतः स्थायी सरकार र प्रभावकारी रणनीतिमार्फत देशको विकास गर्न सकिने प्रशस्त आधारहरू छन् ।

हालै सम्पन्न एनआरएनएको सम्मेलनमा जे–जस्तो देखियो यो संस्थाको पूर्वअध्यक्षका नाताले तपाईँले यसलाई कसरी हेर्नुभएको छ ?

सान्दर्भिक प्रश्न गर्नुभयो । हामी एनआरएनहरूमा सबैभन्दा ठूलो रोग भनेको अनुशासनहीनता र गैरजिम्मेवारीपन हो । एनआरएनए विधिविधानअनुसार चल्न नसक्नु ठूलो समस्या बनिरहेको देखिन्छ । छलकपट, जालझेल र पूर्वाग्रहीरूपमा अघि बढ्दा समस्याहरू विकराल बनेका छन् । दुःखका साथ भन्नुपर्दा गैरआवासीय नेपाली संघ जुन हिसाबले हामीले बनाउन चाहेका थियौँ, अहिलेको अवस्था रह्यो भने हामीले कल्पना गरेजस्तो एनआरएनए बनाउन सकिँदैन । संस्था आफैंमा राम्रो छ । केही व्यक्तिहरूले यसलाई बिगारी रहेको अवस्था छ । त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी छ । हामी जबसम्म एकै ठाउँमा बसेर काम गर्दैनौँ, तबसम्म हाम्रो उद्देश्य पूरा हुँदैन । तर संस्थामा कहिलेकाहीँ अलिकति विकृति र संस्था आफ्नो मुठ्ठीभित्र राख्न प्रयास गर्दैगर्दा र केही स्मार्ट एनआरएनए र टेक्नोलोजीको नाममा संस्थालाई दुरुपयोग गर्ने काम धेरै नै भएको छ । अब सबै एकै ठाउँमा बसेर छलफल गरेर गैरआवासीय नेपाली संघको हितमा अगाडि बढ्नुको विकल्प छैन । अहिले भएका तीतामीठा कुराहरू छन्, सबैले बसेर छलफल गरेर समस्याको समाधान गरेर अघि बढ्नका लागि सबै पक्ष विनम्रताका साथ जुट्नुपर्ने जरुरी छ ।

विदेशमा बसोवास गरिरहेका नेपालीले राजनीतिक अधिकार खोज्नु कत्तिको न्यायसंगत हुन्छ ? यदि त्यस्तो अधिकार पाएमा यसले नेपाली राजनीतिलाई कस्तो प्रभाव पार्नेछ ?

एउटा नेपाली भएको नाताले विदेशमा रहेर पनि आफ्नो माटोसँग, मातृभूमिसँग अधिकार खोज्नु नाजायज होइन । गैरआवासीय नेपालीहरूलाई राजनीतिक अधिकार दिने कि नदिने भन्ने बारेमा थप बहस तथा छलफल जरुरी छ । तर हामीचाहिँ गैरआवासीय नेपाली नागरिकता दिइसकेको अवस्थामा राजनीतिक अधिकार पनि दिनुपर्छ भन्ने मान्यता राख्छौँ । त्यस्तै, नेपाली नागरिकलाई विदेशबाटै मताधिकार दिने सवालमा सर्वोच्च अदालतले नै निर्देशनात्मक आदेश दिइसकेको छ, त्यसैले राज्य जिम्मेवार बन्नुपर्छ । नेपाली दूतावासहरू तथा एनआरएनएसँग समन्वय गरी तत्काल मताधिकारको व्यवस्था सरकारले गर्नुपर्छ ।

अन्त्यमा, यहाँले व्यक्तिगत एवम् संस्थागत हिसाबले गैरआवासीय नेपाली संघको नेतृत्व तहमा लाग्दाखेरिका संघर्ष र चुनौतीहरूलाई संक्षेपमा कसरी सम्झनुहुन्छ ?

एनआरएनए अभियानमा लागेपछिका दुःख र संघर्षको लामो कहानी छ । इमान्दार, अनुशासित र विधानको परिधिमा रहेर, ठूलो जोखिम मोलेर धेरै कामहरू गर्न सफल भएजस्तो लाग्छ । आफ्नो परिवार वा व्यवसायभन्दा पनि संस्थालाई बढी समय दिएको हुनाले निष्ठापूर्वक गरेको कामबाट आत्मसन्तुष्टि महसुस गरेको छु । हाम्रो सुरुको मुद्दादेखि गैरआवासीय नेपाली नागरिकता प्राप्तिसम्म, सामाजिक सुरक्षा कोषको कार्यान्वयन, डलर एकाउन्टको व्यवस्थादेखि नेपालमा ठूलो लगानीका परियोजनाहरूको नेतृत्वदायी भूमिकामा बसेर काम गर्न पाएको अवसरलाई उपलब्धिको रूपमा लिएको छु । त्यसबाहेक विदेशमा रहेका सयौँ साथीहरूको दुःखसुख, भरअभरमा साथ दिएर काम गरिरहेको छु । जस्तोसुकै जिम्मेवारीलाई अवसरका रूपमा सदुपयोग गरेर संस्थाको गरिमा कायम राख्ने सवालमा आफ्नो क्षमताले भ्याएसम्म इमान्दारीपूर्वक काम गरेकोजस्तो लाग्छ । अरू मूल्याङ्कन गर्ने जिम्मा तपाईंहरूकै ।


क्याटेगोरी : अन्तर्वार्ता
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया