Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअन्तर्वार्ताअर्थतन्त्रको महत्वपूर्ण वित्तीय संस्था बन्न चाहन्छौें

अर्थतन्त्रको महत्वपूर्ण वित्तीय संस्था बन्न चाहन्छौें


२०३० साल मंसिर महिनामा अर्घाखाँची जिल्लामा जन्मिएका प्रकाश पौडेल वित्तीय क्षेत्रको प्रशंसनीय नाम हो । व्यवस्थापन संकायमा लुम्विनी वाणिज्य क्याम्पसबाट स्नाकोत्तर गरेका पौडेल २०५२ साल पश्चिमाञ्चल फाइनान्स कम्पनी लि. मा सहायक पदवाट वित्तीय क्षेत्रमा प्रवेश गरेका थिए । ३५ बर्षको उमेरमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका पौडेल बैंकिङ क्षेत्रलाई जिवन मानेर समर्पित छन् । इमान्दार, मेहेनत र इथिकल बैंकिंग प्रति प्रतिबद्ध पौडेल दुरदर्शी योजना भएका बैंकर्सको रुपमा पनि उत्तिकै परिचीत छन् । छ करोड रुपैयाँ पुँजिबाट २०६५ साल फाल्गुनमा स्थापना भएको तत्कालिन शाईन डेभलपमेण्ट बैंक लिमिटेडमा ६६ जना संस्थापक सेयर सदस्यहरुको लगानीमा स्थापना भएको बैंक हो ।

साविक बुटवल नगरपालिकामा केन्द्रिय कार्यालय स्थापना गरी आठ जना कर्मचारीबाट सेवा प्रवाह गरेको बैंकले २०६६ सालमा अर्घाखाँची जिल्लाको सन्धिखर्कमा पहिलो शाखा कार्यालय खोलेको थियो । नेपाल राष्ट्र बैंकको मर्जर सम्बन्धि अवधारण आउना साथ गुल्मीको तम्घासमा मुख्य कार्यालय रहेको रेसुङ्गा विकास बैंकसँग २०६९ साल चैत्र ४ गते मर्जगरी बैंकको पुँजिगत संरचना देखि सेवारत क्षेत्रहरु विस्तार भएका थिए । मर्ज गर्दाको समयमा ३१ करोड ९८ लाख ६३ हजार रुपैयाँ चुक्तापुँजी पुगेको थियो जसमा शाइन २३ करोड ४० लाख र आठ करोड ५८ लाख ६३ हजार रुपैयाँ, दुई अर्व २५ करोड १६ लाख रुपैयाँ कर्जा लगानीमा शाइनको एक अर्व ५९ करोड ६७ लाख र रेसुङ्गा ६५ करोड ४९ लाख रुपैयाँ, तीन अर्व १८ करोड सात लाख रपैयाँ निक्षेप संकलनमा शाइन एक अर्व ९२ करोड ४७ लाख र रेसुङ्गा एक अर्व २५ करोड ६० लाख रुपैयाँ पुगेको थियो । शाइन ८३ जना र रेसुङ्गा ५१ जना गरी कुल एक सय ३४ जना मर्ज समयमा कर्मचारी संख्या पु-याएको बैंकले आफ्नो सेवा विस्तार गर्दै संस्थालाई थप सुदृढ र विश्वसनीय ढंगले आफूलाई प्रस्तुत गर्दै अगाडी बढ्न सफल भयो ।

२०७३ साल जेष्ठ २९ गते प्युठानमा केन्द्रिय कार्यालय भई एक जिल्ला कार्यक्षेत्रमा सेवा प्रवाह गरेको बैंकलाई प्राप्ती गरी संस्थालाई थप मजवुतिको बाटोमा लैजाने काम अगाडी बढायो । मर्जरको तत्कालिन समयमा दुबै बैंकको कूल ८७ करोड ५५ लाख ४० हजार चुक्तापुँजी पुँजीमा शाइन रेसुङ्गा ८० करोड ४३ लाख २९ हजार रुपैयाँ र गौमुखी ७ करोड १२ लाख ११ हजार रुपैयाँ थियो । चुक्तापुँजीको बृद्धि सँगै बैंकको कर्जा लगानी पनि थप भई छ अर्व ५ करोड ५६ लाख जसमा शाइन रेसुङ्गा ५ अर्व ५१ करोड ९६ लाख र गौमुखी ५३ करोड ६० लाख रुपैयाँ थियो । उक्त समयमा दुबै बैंकको निक्षेप संकलन सात अर्व १६ करोड ८३ लाख रुपैयाँ मध्ये शाइन रेसुङ्गा ६ अर्व ४१ करोड ३६ लाख र गौमुखी ७५ करोड ४७ लाख रुपैयाँ थियो ।

गौमुखीलाई प्राप्ती सँगै बैंकमा कर्मचारीको संख्या २०० जना पुग्यो जसमा शाइन रेसुङ्गा १४४ जना र गौमुखी ५६ जना समाहित भएका थिए । यसरी आफ्नो पाहिला अगाडी बढाउँदै गएको बैंकको राष्ट्रिय स्तरमा कारोबार गर्नुका साथै बैंकलाई अझै सुदृढ बनाउने उद्देश्य अनुरुप २०७६ साल आश्विन २७ गते रुपन्देहीको भैरहवामा प्रधान कार्यालय रहेको पुर्णिमा विकास बैंक र बाँकेको नेपालगंजमा प्रधानकार्यालय रहेको भार्गव विकास बैंकलाई प्राप्ति ग-यो जस सँगै बैंकका सम्पूर्ण संचनाहरु मजवुत तथा विकसित भए ।

मर्जको दिन बैंकको चुक्तापुँजि रु. २ अर्व ६२ करोड २९ लाख जसमा शाइन रेसुङ्गा १ अर्व ६२ करोड २६ लाख, पूर्णिमा ५५ करोड १२ लाख र भार्गव ५० करोड १६ लाख २० अर्व ४१ करोड ६५ लाख रुपैयाँ कर्जा लगानीमा शाइन १४ अर्व ५२ करोड ३६ लाख, पूर्णिमा ३ अर्व ४ करोड ६८ लाख र भार्गव २ अर्व ८४ करोड ६१ लाख रुपैयाँ, २२ अर्व ७२ करोड १३ लाख निक्षेपमा शाइन १६ अर्व १० करोड २३ लाख, पूर्णिमा ३ अर्व ३५ करोड ६१ र भार्गव ३ अर्व २६ करोड २९ लाख रुपैयाँ थियो ५४५ जना कर्मचारीहरुले रोजगारीका अवसर पाए जसमा ।

शाइन रेसुङ्गा ३१६, पूर्णिमा ९९ र भार्गव १३० जना थिए । यहि मिति २०७६ साल मंसिर १० राष्ट्रिय स्तरको विकास बैंकको रुपमा काम गर्ने अनुमति पाएको बैंकले हाल ७० वटा शाखा कार्यालय र एक वटा एक्सटेन्सन काउण्टरबाट सेवा प्रवाह गरेको छ । वित्तीय क्षेत्रमा फरक पहिचाहन बनाउन सफल बैंक र उक्त फरक पहिचाहनको लागि महत्वपूर्ण भूमिका खेल्ने प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल सँग समसामयिक विषयमा आर्थिक दैनिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंश :

तीन जिल्ला हुँदै दश जिल्ला कार्यक्षेत्रसंघर्ष गर्दै ७७ जिल्ला कार्य क्षेत्रको अनुमति पाएको छ, अब बैंकको मुख्य कार्यालय कहाँ रहन्छ ?

रुपन्देहीको बुटवलमा केन्द्रिय कार्यालय हुनेछ भने राष्टियस्तरमा स्तरोन्नती भएकाले शाखा सञ्जालहरु देशभर हुनेछन् । विशेषत हाम्रो प्रमुख व्यावसायिक क्षेत्र ५ नम्बर प्रदेश नै हुनेछ । वित्तीय पहुंच र वित्तीय समावेशितालाई विशेष प्राथमिकता दिई कारोवार विस्तार गर्नेछौं ।

अधिकांस बैंक तथा वित्तीय संस्थाहरुको केन्द्रिय कार्यालय राजधानी काठमाडौंमा रहेको अवस्थामा शाइनलाई बुटवलमा रही कारोबार गर्न कत्तिको सम्भव होला ?

हिजोको परिवेश र आजको परिवेशमा धेरै फरक आएको छ । हिजोको अर्थतन्त्र राजधानी केन्द्रित अर्थतन्त्र थियो भने आज नेपाल संघीयतामा छ । सात वटा थप राजधानीहरु थपिएका छन् । अब केन्द्रिकृत अर्थतन्त्र नभएर ग्रामिणमुखि अर्थतन्त्रमा परिणत हुँदै छ । जसको कारणले गर्दा अत्याधिक मात्रामा ग्रामिण क्षेत्रलाई समेट्दै अगाडी बढ्ने अवसरहरु मिलेका छन् । त्यसैले गर्दापनि अब यस क्षेत्रमै कार्यालय राखेर अझ बढी वित्तीय पहुँच पु¥याउँदै ग्रामिण क्षेत्रका जनताको जिवनस्तर उकास्न सक्छौं । आजको आवश्यकता पनि काठमाडौं बाहिर सहज वित्तीय क्षेत्रको आवश्यकता छ भन्ने महसुुस गरेर रुपन्देहीमा मुख्य कार्यालय राख्ने निर्णय गरेका हौं । त्यसमा असम्भव छ जस्तो लाग्दैन । केवल जनतालाई प्रभावकारी सेवा दिए पुग्छ ।

केही समय हेरौं नभए काठमाडौं नै जाउँला भन्ने मानसिकता हो कि यहि नै गरौं हुन्छ भन्ने मानसिकता हो ?

यहि नै गरौं हुन्छ भन्ने मनसायले हामीले बुटवलमै मुख्य कार्यालय राख्ने निर्णय गरेका हौं । हामी गर्दैनौं र भएन भन्छौं गरेपछि नहुने भन्ने कुरा हुँदैन । ढिलो चाँडो मात्र हो । पहिल्यै साघंरो मानसिकता बनाएर अगाडी बढियो भने सफल हुन गाह्रो हुन्छ । संस्थागत हकहितको मानसिकतामा अगाडी बढियो भने केही कठिन होला जस्तो लाग्दैन । हाम्रो विगतको इतिहास हेर्नोस र वर्तमान अवस्था हेर्नोस, त्यहाँ यहाँलाई सबै प्रष्ट हुन्छ । अर्को कुरा रुपन्देही देशकै केन्द्रविन्दु हो । यहाँबाट देशभर समान हिसाबले हेर्न सक्ने वातावरण भएकोले रुपन्देहीबाट हेर्दै देशभर शाखा विस्तार गर्दा असफल भईन्छ जस्तो लाग्दैन ।

थप दुईवटा विकासबैंक प्राप्ती सँगै बैंकको कार्यक्षेत्र विस्तार भई देशभर पुगेको छ । मर्जरपछि कर्मचारीहरु बीच मनमुटाव भएका उदाहरण पनि छन् । बैंकलाई उचाईमा पु-याउने हैसियत राख्ने कर्मचारीको व्यवस्थापन कसरी मिलाउनु भएको छ ?

हामी कर्मचारीको मात्र होईन । हामीले के भन्ने गरेका छौं भने बैंकले सम्पूण सरोकारवाला पक्षहरुको हीतमा काम गर्नु पर्छ । बैंकको लगानीकर्ता नियामक निकायहरुका नीति निर्देशन, निक्षेपकर्ता, ऋणीहरु, कर्मचारी, समाज, सामाजिक उत्तरदायित्व लगायत समग्र सरोकारवालाहरुको हीतमा काम गर्दै आएका छौं । बैंकमा कर्मचारीहरु स्थान महत्वपूर्ण भएकोले सुस्म अध्यनका साथ मनोवल बृद्धि हुने गरी व्यावस्थापन गरेका छौं ।

पछिल्लो समयमा ठुलो बैंकले सानो बैंकलाई लिने क्रम बढ्दो छ । वास्तवमा यो कत्तिको प्रभावकारी उपाय हो र यसले भविष्यमा कस्तो सकारात्मक वा नकारात्मक प्रभाव पार्न सक्छ जस्तो लाग्छ ?

ठुलो सानोलाई लिने अथवा साना साना मिल्ने भन्दा पनि मर्जर आवश्यकताका आधारमा हुने कुरा हो । कुनैपनि बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थालाई कसरी अगाडी बढाउन चाहन्छ । सोही अनुरुप निर्णय लिने हो । जसले गर्दा दीर्घकालिन समय सम्म शाईन रेसुङ्गा बैंकलाई अत्यन्त सवल र सुदृढ वित्तीय संस्थाको रुपमा अगाडी बढाउन खोजिरहेका छौं । भविष्यको लक्ष्यलाई हेरी वर्तमानमा पाईला चाल्नु पर्ने भएकोले हामी पनि सोही अनुसार अगाडी बढेका छौं ।
जुन रुपमा बैंक तथा वित्तीय संस्थाहरु स्थापना भए त्यो रुपमा जनतालाई वित्तीय पहुँचमा ल्याउन सकेनन् । त्यसमा वाणिज्य बैंकहरु शहर केन्द्रित भएभने विकास बैंकहरु गाउँगाउँ पुगेर वित्तीय पहुँचमा अग्रणी भूमिका खेलिरहेको समयमा विकास बैंकहरु धमाधम एक्विजीशनमा जाँदा वित्तीय पहुँचको सवालमा भावि असर कस्तो पर्न पर्ला ?

हिजो क्षेत्रीय स्तरका विकास बैंकहरु हुँदा गाउँगाउँमा शाखाहरु खोलेर सेवा प्रवाह गरेका थिए । आज बैंकको संख्या कम हुँदै गएतापनि शाखा संख्या बढ्दै गएका छन् । हिजो जुन ठाउँबाट बैंकहरुले सेवा प्रवाह गरेका थिए त्यो ठाउँमा आज पनि गरिरहेका छन् । कुनैपनि शाखा बन्द गरेको अवस्था छैन । आज पनि तिनी शाखाहरु त्यहि स्थानबाट चलिरहेका छन् । यसले गर्दा मर्जर वित्तीय पहुँचमा कमी ल्याउने भन्दा पनि संस्थालाई थप मजवुत बनाई प्रभावकारी काममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने देखिन्छ । सवल र सुदृढ संस्थाले आगामी दिनमा थप वित्तीय पहुँचका लागि काम गर्न सक्छ । मर्जरले र एक्विजिशनले वित्तीय पहुँचमा झन बृद्धि गर्न मद्दत गर्दछ ।

यहाँले भन्नु भयो मर्जर पछि कुनैपनि वित्तीय संस्थाले खोलेका शाखा बन्द गरेका छैनन् भनेर । तर हिजोको वित्तीय पहुँचको विस्तारको अनुपात र आजको वित्तीय पहुँच विस्तारको अनुपात एउटै अथवा बृद्धि हुँदै गएको छ त ?

क्रमश बढ्दै छ र अब यो क्रम रोकिएला जस्तो पनि लाग्दैन । हिजो सबैले एक्कासी सेवा विस्तार गर्दा धेरै देखिएता पनि आज आवश्कताका आधारमा शाखाहरु विस्तार हुँदा वित्तीय पहुँचमा मर्जरले नकारात्क असर पारेको छैन र पार्दैन पनि । कारोवार विस्तारको लागि सबै बैंकको आ–आफ्नो रणनीति हुन्छ । जुन ठाउँमा अर्थतन्त्रको आकार ठुलो छ त्यो ठाउँमा बैंक तथा वित्तीय संस्थाका शाखाहरु धेरै खुल्दछन् भने अर्को जुन ठाउँमा पहुँच पुगेको छैन् त्यो ठाउँमा बैंक तथा वित्तीय संस्थाको स्थापना हुन्छ । जहाँ सम्म शाईन रेसुङ्गाको कुरा छ राष्ट्रिय स्तरमा गए सँगै थप ग्रामिणमुखि हुँदै नेपालका प्रमुख शहरमा कारोबार गर्न कै लागि पनि एक्विजीशनको बाटो रोजेकोले लक्ष्य प्राप्तीमा सधै प्रतिबद्ध भई लागेका छौं र लाग्छौं ।

विकास बैंकहरुका समस्याहरु के कस्ता छन् ?

विकास बैंकका समस्याहरु भन्दापनि समग्र बैंक तथा वित्तीय क्षेत्रको कुरा गर्ने समय हो । हिजो वाणिज्य बैंकको वाणिज्य बैंक सँग विकास बैंकको विकास बैंक सँग, फाईनान्स कम्पनीको फाईनान्स कम्पनी सँग प्रतिस्पर्धा थियो भने आज जरी वित्तीय संस्थाहरु मर्जर तथा एक्विजीशनमा गईरहेका छन् । सँगै सँगै विकास बैंकहरु पनि पुँजिगत दृष्टीकोणबाट प्रविधीका दृष्टिकोणबाट, कारोबारको दृष्टिकोणबाट हिजो तुलनामा धेरै ठुला भैसककेका छन् । आज विकास बैंकको प्रतिस्पर्धा विकास बैंक सँग मात्र नभएर समग्र बैंकिङ प्रणाली नै हाम्रे प्रतिस्पर्धी हो समग्र बैकिंङ प्रणाली सँगै प्रतिस्पर्धा गर्न सक्ने वित्तीय संस्थाको रुपमा बैंकहरुको विकास हुनु पर्छ ।

देशको अर्थतन्त्रमा विकास बैंकहरुले कस्तो भूमिका खेलेका छन् ?

खासमा नेपाल राष्ट्र बैंकको नीति अनुरुप एक जिल्ला, तीन जिल्ला, दश जिल्ला र राष्ट्रिय स्तरमा कारोबार गर्ने विकास बैंकहरु थिए । जिल्ला जिल्लामा एक जिल्ले विकास बैंकहरुको उपस्थिती थियो । यसबाट विकास बैंकहरुले खेलेको भूमिका आंकलन गर्न सक्छौं । विकास बैंकले ग्रामिण क्षेत्रको अर्थतन्त्र चलायमान गराउनको लागि ग्रामिण क्षेत्रमा वित्तीय पहुँच पु-याउन अत्यन्त ठुलो भूमिका निर्वाह गरेका छन् । र आगामी दिनमा विकास बैंकहरुको पुँजिगत आधार बृद्धि भए सँगै ठुला ठुला औद्योगिक क्षेत्रमा, व्इापारिक क्षेत्रमा पनि लगानी गर्न विकास बैंकहरु सक्षम भएका छन् । यस अर्थमा पनि विकास बैंकको समग्र बैकिङ प्रणाली भित्र अत्यन्त ठुलो भूकिमा खेलेका छन् ।

वित्तीय पहुँच र राज्यको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएका विकास बैंकहरुलाई वाणिज्य बैंकहरुको तुलनामा राज्य तथा राज्यद्वारा सञ्चालित नियामक निकाय नेपाल राष्ट्र बैंकले हेर्ने दृष्टिकोण धेरै फरक छ भन्ने सुनिन्छ । वास्तवमा कसरी हेरिरहेको छ र कसरी हेर्नु पर्थ्यो ?

हिजोको दिनमा वाणिज्य बैंकहरुको भन्दा विकास बैंकहरुको पुँजिगत आधार पक्कै पनि सानो थियो । सानो पुँजिगत आधार भएका कारणले गर्दा हिजो विकास बैंकले गर्ने कार्यहरु सोही अनुरुपका थिए । राज्यको फरक दृष्टिकोण भन्नु भन्दा पनि नेपालका बैंक तथा वित्तीय संस्थाहरुलाई क, ख, ग, घ, वर्गमा वर्गिकरण गरिएको छ । जसको कारणले क ले क वर्गको काम गर्न सक्थ्यो र गर्थ्यो भने ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरुको पनि आफ्नै आफ्नै वर्ग अनुसारको काम थियो । यसलाई विभेद भयो भन्ने अर्थमा बुझ्नु हुँदैन । विकास बैंकहरु पनि थप सुदृढ भैरहेका छन् । मलाई यस्तो लाग्छ केही समय पश्चात नेपालमा वाणिज्य बैंकहरु र विकास बैंकहरु सेवा समान हुन्छ । आज पनि एक/दुई वटा सेवा क्षेत्र बाहेक खासै फरक छैन् । हामी सानो भयौं सानो काम गर्यौं । वाणिज्य बैंक्हरु ठुला भए ठुलो काम गरे । त्यसैले सानालाई हेर्ने दृष्किोण र ठुलालाई हेर्ने दृष्टिकोण कहिंकतै पनि समान नहुने हुँदा त्यसलाई स्वाभाविक मान्नु पर्छ ।

पछिल्लो समयमा मर्जरलाई हेर्दा वाणिज्य बैंकहरु विकास बैंकहरुलाई प्राप्ती गर्न बढी आकर्षित छन् यसको कारण के हुन सक्छ ?

पहिला वाणिज्य बैंकहरु शहर केन्द्रित थिए भने विकास बैंकहरुले ग्रामिण क्षेत्र सम्म सेवा विस्तार गरेका थिए । शहरमा वाणिज्य बैंकहरुको सेवा विस्तार पहिल्यै भईसकेको हुँदा विकास बैंकहरुलाई एक्विजीशन तथा मर्ज गर्दाफरक भौगोलि क्षेत्रमा सेवा विस्तार गर्न सहजहुने हुँदा विकास बैंकहरु वाणिज्य बैंकका अकर्षणका श्रोतहरु बनेका हुन कि जस्तो लाग्छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

शाईन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड पाँच वटा फरक फरक क्षेत्रका विकास बैंकहरु मिलेर बनेको जनताद्वारा विश्वास गरिएको सवल र सुदृढ वित्तीय संस्था हो । आगामी दिनमा हामी पाँच नं. प्रदेशमा केन्द्रिय कार्यालय राखेर यो क्षेत्रलाई हाम्रो मुख्य व्यवसायिक आधार क्षेत्र बनाएर कारोबार गर्ने छौं । विगत दश बर्ष देखि हामीलाई गरेको विश्वास प्रति कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा पनि निरन्तरता हुने छ भन्ने विश्वास गर्दै पुन हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।


क्याटेगोरी : अन्तर्वार्ता

तपाईको प्रतिक्रिया