Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअन्तर्वार्ता‘गायनसँगै सङ्गीत प्रशिक्षणबाट आर्थिकोपार्जन राम्रो बनाउन सकिन्छ’ -ओम सुनार

‘गायनसँगै सङ्गीत प्रशिक्षणबाट आर्थिकोपार्जन राम्रो बनाउन सकिन्छ’ -ओम सुनार


नेपाली संगीत क्षेत्रमा ओम सुनार परिचित नाम हो । विगत एक दशकभन्दा लामो समयदेखि उनी गायन र प्रशिक्षणमा क्रियाशील छन् । ओमको पहिलो चर्चित गीत मैले माया लगाएँ…२०६८ सालमा स्रोतामाझ आएको थियो । त्यसपछि उनले धेरै हिट गीत बजारमा ल्याइसकेका छन् । उनले हालसम्म सुगन्ध, सुगन्ध–२ जस्ता गीतिसङ्ग्रह र डेढ दर्जनभन्दा बढी सिंगल ट्र्याकको गीतिसङ्ग्रह दर्शकमाझ ल्याइसकेका छन् । सुर्खेतको कुनाथरी गाविसमा जन्मिएका ओम चलचित्र गायनमा पनि त्यत्तिकै लोकप्रिय छन् । उनले झमक बहादुर, बाबुकान्छा, रे, डन्ट ब्रेक माई हर्ट, आवारा, नमस्ते नेपाल, बुद्ध बर्न इन नेपाल, इन्काउन्टर गल्ली, कोइलासहित दुई दर्जनभन्दा बढी चलचित्रमा गीत गाइसकेका छन् । यिनै गायकसँग आर्थिक दैनिकका लागि सुरेश राउतले गरेको कुराकानीको सम्पादित अंश :

गायनको यो यात्रामा अहिलेसम्म कतिवटा गीत गाउनुभयो ?

मैले चलचित्र, आधुनिक, पप, लोक, लोकपप, देउडा, अछामी, हिन्दीजस्ता विभिन्न भाषा र शैलीका गीत गाइसकेको छु । एक सयभन्दा धेरै गीतहरू मैले आफ्नो आवाजमा रेकर्ड गरेर बजारमा ल्याइसकेको छु । थुप्रै गीतले युट्युबमा मिलियन भ्युज पाएका छन् ।

एउटा गीत रेकर्ड गर्दा कतिसम्म पारिश्रमिक पाउने गर्नुभएको छ ?

चलचित्रको बारेमा भन्नुपर्दा एउटा गीत रेकर्ड गर्दा सालाखाला ५० हजार रुपैयाँ पारिश्रमिक पाइन्छ । मैले आफैँले बनाएको त एउटै गीतको एक लाख ५० हजार रुपैयाँसम्म पारिश्रमिक पाएको छु । मूलतः गीतसंगीत भनेको सिर्जना हो । यो निश्चित मूल्यमा बिक्ने ठोस वस्तु होइन । सिर्जना भएकाले यसको निश्चित मूल्य हुँदैन । त्यसैले मैले एउटा गीत गाउँदा चिनेजानेकाहरूसँग न्यूनतम पारिश्रमिकमा र व्यावसायिक व्यक्तिसँग महँगो पारिश्रमिकमा पनि काम गर्नुपर्ने हुन्छ ।

स्टेज कार्यक्रममा कत्तिको व्यस्त हुनुहुन्छ ? त्यहाँ कत्तिको कमाइ हुन्छ ?

कलाकारको कमाइको महत्वपूर्ण स्रोत स्टेज कार्यक्रम पनि हो । मैले स्टेजमा हालसम्म तीन सयभन्दा बढी गीत गाइसकेको छु । म स्टेज कार्यक्रममा प्रायः शास्त्रीय गीत प्रस्तुत गर्न रुचाउँछु । पप, आधुनिक, लोकगीतका कन्सर्टहरू पनि त्यत्तिकै गरिरहेको हुन्छु । हुन त अरूको गीत रेकर्डिङमा व्यस्त हुने भएकाले मैले स्टेजको कन्सर्टलाई धेरै समय दिनसकेको छैन । तथापि, मासिक ५÷७ वटासम्म स्टेज कार्यक्रम भ्याउने गरेको छु । चैतदेखि जेठसम्म स्कुलको प्यारेन्स डेको स्टेज कार्यक्रममा म धेरै व्यस्त हुन्छु भने कात्तिकदेखि चैतसम्म नेपालका विभिन्न जिल्लामा हुने मेला महोत्सवको स्टेज कार्यक्रममा व्यस्त हुने गर्दछु । अन्य चाडपर्वमा पनि स्टेज कार्यक्रममा गाउन प्रस्ताव आउने गर्छ । समग्रमा भन्नुपर्दा स्टेज कार्यक्रमले नै कलाकारहरूको घरखर्च चल्ने गर्छ । गायनबाट हुने बाँकी कमाइ भनेको नाफाको कमाइ हो ।

मूलतः गायक÷गायिकाको आम्दानीको स्रोत रोयल्टी पनि हो, रोयल्टीबाट तपाईंले कत्तिको कमाइ गर्नुहुन्छ ?

पहिलाको तुलनामा अहिले रोयल्टीको कमाइ धेरै राम्रो छ । अहिले डिजिटल म्युजिक स्ट्रिमिङ प्लेटफार्मबाट राम्रो आम्दानी हुने गरेको छ । यस्ता प्लेटफार्महरू धेरै नै छन् । ती प्लेटफार्मबाट नियमित रूपमा रोयल्टी आइरहेको हुन्छ । यस्तै, आफ्नो गीतको म्युजिक भिडियोबाट युट्युब प्लेटफार्मको रोयल्टी त छ नै । नेपालका विभिन्न स्टेज, रेडियो, टेलिभिजन, होटल, रेस्टुरेन्ट, सवारीसाधनजस्ता प्लेटफार्ममा गीत बज्दा संगीत रोयल्टी संकलन समाज नेपालले यी प्लेटफार्मबाट रोयल्टी संकलन गरेर वार्षिक रूपमा सरोकारवालालाई दिने गरेको छ । पहिले जस्तो गीतको अडियो चक्का तथा सिडी क्यासेटमात्रको बिक्रीमा निर्भर हुनुपर्ने अवस्था छैन । अहिले विभिन्न प्लेटफार्मबाट प्राप्त हुने रोयल्टीको पनि कमाइ त्यत्तिकै राम्रो हुने गरेको छ ।

तपाईं गायनसँगै विभिन्न संगीत विद्यालयमा अध्यापन पनि गर्नुहुन्छ । अध्यापनबाट कत्तिको आम्दानी हुन्छ ?

हो, मैले संगीत विषयमै स्नातक गरेको हुँ र गायनसँगै अरूलाई सिकाउने पनि गर्छु । मैले गायन प्रशिक्षकको रूपमा काम गर्न थालेको एक दशक भयो । यो अवधिमा मैले गुरुकुल संगीत पाठशालासँगै, साधना कला केन्द्रलगायतमा प्रशिक्षण दिँदै आएको छु । यस्तै, मैले अनलाइन क्लास पनि गर्दै आएको छु । नेपालमा गायन प्रशिक्षकले राम्रो पारिश्रमिक पाउने गर्छन् । यस्तै, म पनि गायन सिकाएर राम्रो कमाउने भोकल टिचरको रुपमा परिचित छु । अहिले गायनसम्बन्धी रियालिटी शोहरू धेरै भएकाले गायन प्रशिक्षण पेशा पनि राम्रो छ । छोटो समयमा विशेष गायन कोर्स गर्नेहरू धेरै नै आउँछन् र उनीहरूले राम्रो पैसा पनि दिन्छन् । समग्रमा गायनजस्तै गायन प्रशिक्षण पेशामा पनि कमाइ राम्रो छ ।


क्याटेगोरी : अन्तर्वार्ता
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया