Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएनआरएनए अध्यक्षमा पाँच जनाबीच प्रतिस्पर्धा

एनआरएनए अध्यक्षमा पाँच जनाबीच प्रतिस्पर्धा


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ महाधिवेशन आज (मंगलबार)देखि काठमाडौंमा हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलले महाधिवेशनको उद्घाटन गर्नेछन् ।

महाधिवेशनले आगामी दुई वर्ष (२०२३ देखि २०२५सम्म)का लागि नयाँ नेतृत्व चयन गर्नेछ । संघको नयाँ नेतृत्वको लागि पाँच जनाबीच प्रतिस्पर्धा हुनेभएको छ । एनआरएनए अध्यक्ष पदका लागि पाँच सदस्यले उम्मेदवारी घोषणा गरेका छन् ।
अध्यक्ष पदका लागि वर्तमान अध्यक्षद्वय बद्री केसी र रविना थापा, उपाध्यक्षद्वय महेशकुमार श्रेष्ठ र आरके शर्मा र उपमहासचिव विनय अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । केसीलाई साथ दिँदै उपाध्यक्षमा हेमराज शर्मा, रामशरण सिंखडा, महासचिवमा गौरीराज जोशीलगायतले उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाले मतदान अनलाइनबाट हुने बताए । उनका अनुसार संघले पहिलो पटक ‘फेसियल भेरिफिकेसन’मार्फत अनलाइन भोटिङ गर्न लागेको छ । निर्वाचनमा ५९ देशका चार हजार दुई सय २७ जना प्रतिनिधिले भाग लिँदै छन् । संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था मिलाइएको छ । नेपालमा आएका मतदाताको लागि सम्मेलनस्थलमै अनलाइन भोटिङको व्यवस्था गरिएको छ । उम्मेदवार र अन्य मतदाता गरी करिब एक हजार पाँच सयले महाधिवेशनस्थलबाट मतदान गर्नेछन् । महाधिवेशन काठमाडौंको सोल्टी होटलमा कात्तिक ३ गतेसम्म चल्नेछ ।

एनआरएनए सचिवालयले महाधिवेशनको तयारीका लागि हालसम्म अन्तिम नामावली तयार गर्ने, निर्वाचनमा सहभागी हुनेलाई बसोबासको व्यवस्था गर्ने, निर्वाचन तालिका सार्वजनिक गर्नेलगायतको तयारी गरिसकेको सञ्चार तथा वैदेशिक रोजगार अधिकृत इन्द्रलक्ष्मी घिमिरले बताइन् ।

महाधिवेशनका लागि अधिवक्ता यादव ढुंगानाको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । बिहीबारदेखि उम्मेदवारी दर्ता गर्न समय तोकिएको र उम्मेदवारी अनलाइनबाट पनि दिन मिल्ने व्यवस्था गरिएको उनले बताए । एक उम्मेदवारले दुई प्रस्तावक र दुई समर्थकसहित उम्मेदवारी दिनुपर्छ । असोज २९ गतेसम्म उम्मेदवारले प्रस्तावक र समर्थकसहितको सनाखत महाधिवेशनस्थलमै उपस्थित भएर गरिसक्नुपर्ने व्यवस्था गरिएको थियो ।

सम्मेलनमा नेपाल सरकारका प्रतिनिधिहरू विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधिहरू, एनआरएनका अभियन्ताहरू र स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्वलगायत करिब एक हजारभन्दा बढीको नेपालबाट सहभागिता रहनेछ ।

यस पटक ‘नेपालीका लागि नेपाली’ मूल नारा र ‘ज्ञान र रुपान्तरण समृद्धिको आधार’ विषयमा सम्मेलन केन्द्रित छ । जहाँ महाधिवेशनसँगै तेस्रो विश्व ज्ञान सम्मेलनको पनि आयोजना गरिएको छ । कात्तिक २ गते संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ । कात्तिक ३ गते महाधवेशन सम्मलेनको समापन हुनेछ । समापन कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहालबाट गरिने आयोजकले जनाएको छ ।

सन् २००३ अगस्टमा ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ एनआरएनए स्थापना गरिएको थियो । यो अवधिमा विश्वका ८७ मुलुकमा रहेका ९६ हजार आठ सय ५० गैरआवासीय नेपाली संघमा आबद्ध भएका छन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया