Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसामाजिक सुरक्षा कोषमा ४३ अर्ब संकलन

सामाजिक सुरक्षा कोषमा ४३ अर्ब संकलन


काठमाडौं । सामाजिक सुरक्षा कोषमा करिब ४३ अर्ब रुपैयाँ योगदान रकम संकलन भएको छ । कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भएपछि आइतबारसम्म ४२ अर्ब ८५ करोड ५७ लाख रुपैयाँ योगदान रकम संकलन भएको छ ।

कोषका प्रवक्ता विवेक पन्थीले अहिलेसम्म आठ लाख ४० हजार पाँच सय ४३ जना योगदानकर्ता कोषमा आबद्ध रहेको जानकारी दिए । २०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम संकलनको थालनी गरेको थियो । करिब चार वर्षको समयमा कोषमा योगदान रकमको रूपमा सो रकम संकलन भएको हो ।

चालू आर्थिक वर्ष सुरु भएयता कोषमा छ अर्ब ८० करोड रुपैयाँ थपिएको छ । गत आर्थिक वर्षकोे असार मसान्तसम्म कोषमा ३५ अर्ब ९५ करकोड रुपैयाँ संकलन भएको थियो । असोजमा मात्रै दुई अर्ब ९५ करोड २४ लाख रुपैयाँ संकलन भएको छ । देशभित्र कार्यरत व्यक्ति र वैदेशिक रोजगारीमा गएका समेत कोषमा आबद्ध हुनेहरू बढेकाले योगदान रकम पनि बढेको प्रवक्ता पन्थीले जानकारी दिए ।

सरकारले देशभित्रै काम गर्ने र वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई कोषमा आबद्धता गरेसँगै सूचीकृत योगदानकर्ता र योगदान रकममा वृद्धि भएको हो । कोषले चैत दोस्रो सातादेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा आबद्ध गरेको हो । यसैबीच वैदेशिक रोजगारीमा रहेका करिब साढे दुई लाख श्रमिक कोषमा आबद्ध भएका छन् । अपौचारिक, अनौपचारिकका साथै विदेशमा रहेकालाई कोषमा आबद्ध गराउने रणनीतिका कारण पनि कोष सफल हुँदै गएको बताइन्छ ।

कोषले भदौदेखि सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिहरूलाई पनि सूचीकृत गर्ने भएको छ जसले गर्दा योगदानकर्ता, योगदान रकम बढ्ने निश्चित देखिन्छ । यसअघि औपचारिक क्षेत्रका श्रमिक र वैदेशिक रोजगारमा रहेका व्यक्तिलााई सामाजिक सुरक्षामा जोड्दै आएकोमा दायरा फराकिलो बनाउँदै अनौपचारिक र स्वरोजगारमा रहेका व्यक्ति पनि कोषमा आबद्ध हुनसक्ने व्यवस्था गरिएको हो ।

यस्तै, चालू आर्थिक वर्षको असार मसान्तसम्ममा कोषमा सूचीकृत हुने रोजगारदाताको संख्या १८ हजार तीन सय ६४ जना छन् । योगदानकर्ताको तुलनामा रोजगारदाताहरूको कोषमा आर्कषण देखिन नसके पनि संख्या पनि वृद्धि हुँदै गएको छ । सुरुवात समयमा भन्दा हाल कोषले प्रदान गर्ने सुविधाहरूलाई बुझेर सूचीकृत हुने रोजगारदाताको संख्या भने क्रमशः वृद्धि हुँदै गएको प्रवक्ता पन्थीले बताए ।

कोषले स्थापनाकालदेखि सामाजिक सुरक्षा करको व्यवस्थापन गर्दै आएकोमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएपछि सो ऐनबमोजिम कार्य गर्दै आएको छ । सोही ऐनको दफा १० मा औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गर्नेछ भनी कोषले सञ्चालन गर्नसक्ने सामाजिक सुरक्षा योजनाहरूको दायरा किटान गरिएको हुँदा सोहीअनुरूप काम गर्दै समेत आएको छ । सोही क्रममा कोषले समीक्षा अवधिमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत ७१ करोड ७१ लाख रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत आठ करोड ४५ लाख रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत १० करोड तीन लाख रुपैयाँ र अवकाश रकम पाँच अर्ब २५ करोड १३ लाख लाख रुपैयाँ दाबी गरेका छन् ।

समीक्षा अवधिमा छ अर्ब १५ करोड ३२ लाख रुपैयाँँ कुल दाबी भुक्तानी परेको कोषले जनाएको छ । योजनाअनुरूप दाबी गरिएको रकम कोषले भुक्तानी गर्दै जाने गरेको छ । कोषले भुक्तानीको लागि मापदण्ड पूरा भए/नभएको अध्यययनपछि रकम निकासा गर्ने गर्छ । दाबी गरिएको रकम प्रक्रिया बुझेर सहज ढंगले भुक्तानी गर्ने कोषले जनाएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअनुसार मासिक पारिश्रमिक भुक्तानी गर्दा आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकममध्ये रोजगारदाताको तर्फबाट २० प्रतिशत र श्रमिकको तर्फबाट ११ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ ।

समीक्षा अवधिमा आठ लाख ४० हजार पाँच सय ४३ जना योगदानकर्ताहरू कोषमा आबद्ध भए भने अघिल्ला आर्थिक वर्षहरूमा भने सो संख्यामा कमी रहेको थियो । आर्थिक वर्ष २०७५/७६ मा २४ हजार तीन सय ३० जना, आर्थिक वर्ष २०७६/७७ मा एक लाख ३२ हजार सात सय २२ जना, आर्थिक वर्ष २०७७/७८ मा ३६ हजार २० जना र आर्थिक वर्ष २०७८/७९ मा एक लाख २७ हजार एक हजार १६ जना योगदानकर्ता सूचीकृत भएका थिए ।

कोषले ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत गरी रकम सापटी लिनसक्ने सुविधा प्रदान गरेको थियो । सो निर्देशिकाअनुरूप योगदानकर्ताले योगदानकर्ता घर र शैक्षिक सापटी’को व्यवस्था गरिएको थियो । ‘योगदानकर्ता घर सापटी’ अन्तर्गत नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न, मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्ने कार्यमा कोषले सापटी दिने व्यवस्था गरेको छ ।

शैक्षिक सापटीअन्तर्गत भने कोषमा कम्तीमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिको आधारमा अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्ताको हकमा शैक्षिक सापटीको व्यवस्था गरिएको छ । सविधा दिने क्रममा कोषले योगदान रकममा आठ प्रतिशत ब्याज दिने समेत थालेको छ । कोषमा संकलन भएको रकमलाई सुरक्षित लगानी गरी प्रतिफल निकाल्नेमा विश्वसत रहेको भन्दै ब्याजदर तोकिएको कोषका अधिकारीहरूले बताएका छन् । कोषबाट चालू आर्थिक वर्षको लागि योगदान रकममा आठ प्रतिशत ब्याज दर स्वीकृत गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया