Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारसिमरा विमानस्थलमा रिफ्युलिङ सेन्टर स्थापना

सिमरा विमानस्थलमा रिफ्युलिङ सेन्टर स्थापना


बारा। बारास्थित सिमरा विमानस्थलमा हवाई इन्धनको रिफ्युलिङ सेन्टर स्थापना भएको छ । नेपाल आयल निगमले रिफ्युलिङ सेन्टरको स्थापना गरेको हो । रिफ्युलिङ सेन्टरको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि नेपालकै सबैभन्दा पुरानो विमानस्थलका रूपमा रहेको उक्त विमानस्थलमा हालसम्म हवाई इन्धन भर्ने व्यवस्था थिएन । रिफ्युलिङ सेन्टर सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट (आन्तरिक तर्फ) नजिकको वैकल्पिक विमास्थलकारूपमा उक्त विमानस्थललाई प्रयोगमा ल्याउन सकिने निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । काठमाडौंमा मौसम खराब वा हवाई चाप हुँदा भैरहवा र विराटनगर मार्ग परिवर्तन गर्नुपर्ने अवस्थाको अन्त्य भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

काठमाडौंबाट सिमरासम्मको हवाई यात्राको समय करिब १५ मिनेट रहेको छ । रिफ्युलिङ सेन्टरको स्थापनापछि हवाई यात्राको कनेक्टिभिटी र पहुँचलाई सुदृढ गर्दै उड्डयन उद्योग र हवाई यात्रु दुवैलाई फाइदा पुग्ने निगमको विश्वास छ । रिफ्युलिङ सेन्टरका लागि निगमले विमानस्थलमा ११ र १६ किलोलिटरका दुईवटा रिफ्युलर तथा नौ किलोलिटरको ‘डिस्पेन्सर’को व्यवस्था गरेको छ । सिमरा विमानस्थलमा भण्डारण ट्याङ्क स्थापना नभएसम्म जनकपुरमा रहेको डिपोबाट हवाई इन्धन ल्याइने छ । निगमले हाल भारतको बरौनीबाट जनकपुर डिपोमा हवाइ इन्धन ल्याउने गरेको छ ।

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले हवाई इन्धन रिफ्युलिङ सेवा विस्तार गर्ने नीति तथा कार्यक्रमअनुसार यो वर्ष पहिलोपटक सिमरा विमानस्थलमा सेवा सुरु गरिएको बताए । निगमले यही वर्ष भरतपुर र जुम्ला विमानस्थलमा समेत सेवा विस्तार गर्ने योजना बनाएको छ । यो सेवा विस्तारबाट निगमलाई सिमराबाट काठमाडौंसम्मको ढुवानीमा लाग्दै आएको ढुवानी भाडा बचत हुने बताइएको छ । सेवा विस्तारले जहाजको लोड क्षमता व्यवस्थापन गर्न तथा त्रिभुवन विमानस्थलको चाप घटाउन समेत सहयोग पुग्नेछ । अहिले दैनिक नौवटा उडान तथा अवतरण हुँदै आएको सिमरा विमानस्थलबाट करिब नौ सयदेखि एक हजार यात्रुले सेवा लिँदै आएका छन् ।

कार्यक्रममा मन्त्री रिजालले व्यावसायिक संस्थाका रूपमा रहेको निगमले खाना पकाउने ग्यासमा जनतालाई सहुलियत दिन नोक्सानी व्यहोरेरै भए पनि सस्तो मूल्यमा उपलब्ध गराएको बताए । यस्तै, उनले औद्योगिक तथा व्यावसायिक प्रयोजनका लागि पाँच सयदेखि एक हजार किलोग्राम क्षमताका सिलिन्डरको व्यवस्था गर्न प्रयास गरिरहेको जानकारी दिए । यसबाट व्यावसायिक प्रयोजनको ग्यासमा अनुदान घटाएर नोक्सानी कम गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।


क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया