Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारइन्टरपोलको महासभामा सहभागी भई प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

इन्टरपोलको महासभामा सहभागी भई प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता


काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर अष्ट्रियाको भियनामा सम्पन्न अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को ९१औँ महासभामा सहभागी भई बिहीबार स्वदेश फर्किएका छन् । इन्टरपोल सचिवालयको आयोजनामा मङ्सिर १२ देखि १५ गतेसम्म सञ्चालित उक्त महासभामा प्रहरी महानिरीक्षक कुँवरसँगै सहभागी भई इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबरासहितको टोली पनि स्वदेश फिर्ता भएको हो ।

उक्त टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । महासभामा सहभागी हुने क्रममा नेशनल सेन्ट्रल ब्यूरो नेपालका प्रमुखसमेत रहेका महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधिमण्डल तथा इन्टरपोलका अध्यक्षबीच शिष्टाचार भेट पनि भएको थियो । साथै, महासभामा सहभागी एक सय ९५ इन्टरपोल सदस्य राष्ट्रका नेशनल सेन्ट्रल ब्यूरोका प्रमुखबीच विश्वलाई सुरक्षित बनाउन सहकार्य गर्नेबारेमा छलफल भएको महानिरीक्षक कुँवरको सचिवालयले जनाएको छ ।

महासभाले इन्टरपोलको ९२औँ महासभा सन् २०२४ मा संयुक्त राज्य बेलायतको ग्लास्गोमा र ९३औँ महासभा सन् २०२५ मा मोरक्कोको माराकेमा आयोजना गर्ने निर्णय गरेको छ । इन्टरपोल स्थापनाको एक सय वर्षको अवसरमा नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीलाई महासभामा सम्मान गरिएको थियो ।

प्रकृतिका उत्कृष्ट एवं सिर्जनशील लगायतका कार्यक्रमहरू आयोजना गरी इन्टरपोल वार्षिकोत्सवलाई भव्यताका साथ मनाएर अन्तर्राष्ट्रिय प्रहरी समन्वयलाई नयाँ शिखरमा पुर्याहएकोमा नेपालको तर्फबाट महासभामा सहभागी भएका प्रहरी महानिरीक्षक कुँवर तथा प्रतिनिधि समेतलाई इन्टरपोल अध्यक्ष र महासचिवसमेतले धन्यवाद स्वरुप मायाको चिनोको साथै विशेष सिक्का प्रदान गरेका थिए ।

साथै, महासभाको दौरानमा इन्टरपोलद्वारा आयोजित ‘इन्टरपोल सय ग्लोबल भिडियो कन्टेस्ट फर योङ पुलिस लिडर्स’ प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्दै नेपाल प्रहरीद्वारा निर्माण गरिएको ‘लेट्स सेभ द प्लानेट–इन्टरपोल हण्ड्रेड’ विषयक सूचनामूलक छोटो भिडियो सर्वोत्कृष्ट घोषित भई सम्मान स्वरूप प्रमाणपत्र प्राप्त गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया