Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविराटनगर मालपोतका कर्मचारी माग्छन् सेवाग्राहीसँग घुस !

विराटनगर मालपोतका कर्मचारी माग्छन् सेवाग्राहीसँग घुस !


विराटनगर । सबै सरकारी कार्यालयहरूले सेवाग्राहीबाट असुली गर्दै आएको दस्तुरी प्रथा हटाइसकेको भने पनि विराटनगरमा रहेको मालपोत कार्यालयमा भने अहिलेसम्म पनि दस्तुरी प्रथा यथावत रहेको पाइएको छ । पछिल्लो समय आर्थिक मन्दीबाट आक्रान्त बनेको समयमा मालपोत कार्यालय विराटनगरबाट जग्गा खरिद बिक्री गर्ने काममा केही तीव्रता आएसँगै मालपोत कार्यालयमा संकलन गर्ने दस्तुरीले सेवाग्राही हैरान बन्न थालेका छन् ।

सेवाग्राहीहरू विचौलियासँग मात्रै नभएर मालदार फाँटमा लामो समयदेखि कार्यरत कर्मचारीहरूबाट हैरान बन्ने गरेको बताइएको छ । कर्मचारीहरू पनि सेवाग्राहीसँग सोझै मोलमोलाइन गर्ने र रकम पाए मात्रै सरासर काम गर्ने गरेको गुनासो सेवाग्राहीले गरेका छन् । मालपोत कार्यालयमा पछिल्लो समय सरकारले कित्ताकाट खुलाएसँगै चहलपहल बढेको छ । जग्गाको कारोबारका लागि मालपोत कार्यालयमा रहेको जग्गा रजिस्ट्रेसन फाँट र मालपोत कार्यालयको मुद्दा फाँटमा बढी विचौलियाहरू सक्रिय रहने गरेका छन् । सो फाँटमा कार्यालय प्रमुखले समेत आफ्ना निकटका कर्मचारी मात्रै खटाएर सेवाग्राहीसँग रकम असुली गर्ने गरेका छन् ।

गत साउनदेखि मोरङमा रहेको बेलबारी मालपोत कार्यालयबाट सरुवा भई विराटनगर मालपोतमा आएका कार्यालय प्रमुख भानुभक्त न्यौपानेले पछिल्लो समय कार्यालयका कर्मचारीमा गरेको फाँट विभाजनमा समेत विवाद उत्पन्न भएको कर्मचारीहरू बताउँछन् । प्रमुख न्यौपानेले बेलवारी मालपोत कार्यालयबाटै सरुवा भई विराटनगर मालपोत आएका नासु गोविन्द दाहाललाई मालपोत कार्यालय विराटनगरमा रजिस्ट्रेसन फाँटको ‘ख’ र मालपोत कार्यालय रंगेलीबाट सरुवा भई विराटनगर मालपोत आएका नायब सुब्बा सुदीप पोखरेललाई रजिस्ट्रेसन ‘ग’ फाँटमा खटाएका छन् । नासु पोखरेलले रंगेलीमा कार्यरत रहँदा विवादित काम गरेपछि रातारात सरुवा भई विराटनगर मालपोत कार्यालय आएका हुन् । त्यसैगरी अर्का नासु गोविन्द दाहाल कार्यालय प्रमुख न्यौपानेको बेलवारी मालपोत कार्यालयदेखिका विश्वासपात्र हुन् । सोही कारण विराटनगर मालपोतमा रहेको आकर्षक फाँट उनले पाएको स्रोतले बताएको छ ।

मुद्दा फाँटमा कार्यरत नासु लोकहरि रेग्मी पनि सरुवा भएर उदयपुरको कटारी मालपोत जानुपर्नेमा चार महिनादेखि प्रमुख न्यौपानेले रमाना नगरी मालपोत कार्यालयको मुद्दा फाँटको जिम्मेवारी नै दिएर कामकाजमा खटाएका छन् । यस्तै, विवादित कामले गर्दा पछिल्लो समय जग्गा खरिद तथा बिक्रीको काम मालपोत कार्यालयमा बढेको भए पनि सेवाग्राहीमा भने त्यत्ति उत्साह आउन सकेको देखिँदैन ।

यता कार्यालय विराटनगर प्रमुुख भानुभक्त न्यौपाने भने आफू आएपछि कार्यालय सुधार गरेको दाबी गरेका छन् । बाँकी सबै कुरा अफवाह मात्रै भएको उनले बताए । त्यसैगरी कर्मचारी लोकहरि रेग्मीका सम्बन्धमा जिज्ञासा राख्दा उदयपुर सरुवा भएको तर पारिवारिक कारणले जान नसक्ने भएपछि हाल विराटनगर मालपोत कार्यालयमै कार्यरत रहेको उनले बताए । तर उनले केही दिनमा रवाना दिने जानकारी दिए ।

त्यसैगरी मालपोतमा रहेको रजिस्ट्रेसन फाँटमा हुने गरेको आर्थिक चलखेलका सम्बन्धमा भने उनले खासै प्रतिक्रिया दिन चाहेनन् । पछिल्लो समय जग्गाको खरिद बिक्री बढे पनि मालपोत कार्यालय विरानगरभित्र रहेको कर्मचारीहरू बीचको आन्तरिक विवादका कारण पनि कार्यालयभित्रका सबै विवादित कारोबार छताछुल्ल बन्न पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया