Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारघट्यो बीमाको दायरामा आएको जनसंख्या

घट्यो बीमाको दायरामा आएको जनसंख्या


काठमाडौं । बीमाको दायरामा आएको जनसंख्या पोहोरभन्दा यसवर्ष घटेको पाइएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार एक वर्षमा बीमाको दायरामा आएको जनसंख्या एक दशमलव दुई प्रतिशत विन्दुले घटेको छ । गतवर्ष पुसमा कुल जनसंख्याको ४४ दशमलव २५ प्रतिशत बीमाको दायरामा भएकामा यसवर्ष पुस मसान्तमा ४३ दशमलव शून्य पाँच प्रतिशत जनसंख्या मात्रै बीमाको दायरामा रहेका छ । यसमा म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेख समेत समावेश गरिएको प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

एक वर्षअघि एक करोड ४१ लाख नौ हजार एक सय ५० वटा जीवन बीमालेख जारी भएकामा यसवर्ष एक करोड ३७ लाख ५५ हजार तीन सय ९६ वटा मात्रै जारी भएका छन् । जीवन बीमालेखको संख्या एक वर्षमा दुई दशमलव ५१ प्रतिशतले घटेको छ । बीमाको दायरामा आएको जनसंख्या नै घटेपछि जीवन बीमालेखको संख्यामा पनि कमी आएको देखिन्छ ।

निर्जीवन बीमालेखको संख्या भने बढेको छ । गतवर्ष पुसमा १३ लाख ९५ हजार ३२ वटा बीमालेख जारी भएकामा यसवर्ष पुस मसान्तसम्म १४ लाख ४१ हजार चार सय ४९ वटा जारी भएका छन् ।

बीमा कम्पनीहरूले बीमा गराई आर्जन गरेको प्रथम जीवन बीमाशुल्क संकलन एक वर्षअघिको तुलनामा अहिले घटेको छ । गतवर्ष पुसमा १४ अर्ब १७ करोड ७९ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क संकलन भएकामा यसवर्ष पुसमा १३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ मात्रै संकलन भएको छ । यो रकम एक वर्षअघिको तुलनामा दुई दशमलव ५५ प्रतिशतले कम हो ।

नवीकरण जीवन बीमाशुल्क संकलन भने गतवर्षको तुलनामा पाँच दशमलव एक प्रतिशतले बढेको छ । गतवर्ष पुसमा जीवन बीमाको नवीकरण शुल्कबापत बीमा कम्पनीहरूले ५७ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ संकलन गरेका थिए । यसवर्ष पुससम्म ६० अर्ब ४० करोड ३८ लाख रुपैयाँ संकलन गरेका छन् । जीवन बीमा कम्पनीले कुल ७४ अर्ब २२ करोड छ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन एक वर्षअघिको तुलनामा तीन दशमलव ५८ प्रतिशत धेरै हो । गतवर्ष पुसमा जीवन बीमा कम्पनीहरूले ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

निर्जीवन बीमामा बीमालेखको संख्या बढेको भए पनि बीमाशुल्क संकलन भने घटेको छ । पुस मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले १९ अर्ब ४४ करोड १० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । जुन गतवर्षको सोही अवधिको तुलनामा तीन दशमलव १९ प्रतिशतले कम हो । गतवर्ष पुस मसान्तमा निर्जीवन बीमा कम्पनीहरूले २० अर्ब आठ करोड २५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

केही बीमा कम्पनीहरू एक–आपसमा गाभिएपछि बीमा कम्पनीका कार्यालयको संख्यामा पनि कमी आएको छ । एक वर्षमा ११ दशमलव सात प्रतिशतले कार्यालय संख्या घटेको छ । गतवर्ष पुसमा तीन हजार दुई सय ४८ वटा कार्यालय सञ्चालनमा रहेकामा यसवर्ष दुई हजार आठ सय ६८ वटामा झरेको छ । निर्जीवन बीमा कम्पनीको भन्दा जीवन बीमा कम्पनीको कार्यालय संख्या धेरै घटेका छन् । प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरूको कार्यालय संख्या १६ दशमलव ८३ प्रतिशतले घटेको छ । गतवर्ष दुई हजार एक सय ९८ कार्यालय सञ्चालनमा रहेकामा यसवर्ष एक हजार आठ सय २८ मा झरेको छ । निर्जीवन बीमा कम्पनीहरूको कार्यालय संख्या भने शून्य दशमलव ९५ प्रतिशतले मात्रै घटेको छ । गतवर्ष पुसमा एक हजार ५० वटा कार्यालय सञ्चालन भएकामा यसवर्ष पुस मसान्तसम्म एक हजार ४० वटामा झरेको छ ।

बीमा कम्पनीहरूले कर्मचारी पनि कटौती गरेका छन् । एक वर्षमा एक दशमलव ४८ प्रतिशतले कर्मचारी कटौती भएको छ । गतवर्ष पुससम्म बीमा कम्पनीहरूमा ११ हजार छ सय ७१ जनाले रोजगारी पाएकामा यसवर्ष ११ हजार चार सय ९८ जनाले मात्रै रोजगारी पाएका छन् । एक वर्षमा एक सय २७ जना कर्मचारीले बीमा कम्पनीको जागिर छाडेका छन् ।


क्याटेगोरी : बीमा बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया