Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारक्लाइमेट फेलोसिप ग्रान्टका लागि दरखास्त आह्वान

क्लाइमेट फेलोसिप ग्रान्टका लागि दरखास्त आह्वान


काठमाडौं । युवाहरूलाई जलवायुसम्बन्धी कार्यमा संलग्न गराउन क्लाइमेट फेलोसिप ग्रान्ट (अनुदान) २०२४ का लागि दरखास्त आह्वान गरिएको छ । युथ इन्नोभेसन ल्याबले युरोपेली संघको सहयोगमा वातावरण तथा जलवायु अनुकूल विकासमा नेपाली युवाअन्तर्गत क्लाइमेट फेलोसिप ग्रान्ट आह्वान गरेको हो ।

यसले जलवायुसम्बन्धी गरिने क्रियाकलाप र सुशासनमा युवाहरूको संलग्नतालाई सशक्त बनाउने लक्ष्य राखेको छ । क्लाइमेट फेलोसिपले जलवायु परिवर्तन, विपद् व्यवस्थापन र सुशासनमा वृत्तिविकास निर्माण गर्न अवसर प्रदान गरेको छ । यस अनुदानमा पाँच महिनाको अवधिको लागि नौ जना छानिएका युवालाई, प्रत्येक व्यक्ति नौ परियोजना पालिकामध्ये एक ठाउँमा र एक जना प्रदेश मन्त्रालयमा रहनेछन् । तीन लाख नेपाली रुपैयाँ मूल्य रहेको उक्त अनुदानमा मासिक भत्ता, यात्रा भत्ता, सञ्चार भत्ता, बैठक सुविधा, तालिम खर्च र थप सहयोग समेटिएको छ ।

पालिका र प्रदेश मन्त्रालयमा खटिएका जलवायुसम्बन्धी कार्य गर्ने व्यक्तिले स्थानीय प्रकोप र जलवायु उत्थानशील योजनाको विकास गर्न विपद् र जलवायु विभाग र सम्बन्धित कर्मचारीहरूसँग निकटमा रहेर काम गर्नेछ । यसबाहेक उनीहरूले नेपाल सरकारद्वारा सुरु गरिएको एकीकृत विपद् सूचना व्यवस्थापन प्रणाली, विपद् पोर्टलको स्थानीयकरणलाई सहयोग गर्नेछन् । उनीहरूले विपद्सम्बन्धी पोर्टलको व्यवस्था र सञ्चालन गर्न, दैनिक क्षमता स्थानान्तरणलाई समर्थन गर्न र विपद्सम्बन्धी डाटासेटहरू संकलन, डिजिटाइज र प्रमाणीकरण गर्न पालिकाहरूलाई सहयोग गर्नेछन् ।

सो परियोजना भजनी नगरपालिका (कैलाली), जोशीपुर गाउँपालिका (कैलाली), चुरे गाउँपालिका (कैलाली), जानकी गाउँपालिका (कैलाली), शुक्लाफाँटा नगरपालिका (कञ्चनपुर), दोधारा चाँदनी नगरपालिका (कञ्चनपुर), बेलडाँडी गाउँपालिका (कञ्चनपुर), आलिताल गाउँपालिका (डडेल्धुरा), र अजयमेरु गाउँपालिका (डडेल्धुरा)मा सञ्चालन हुनेछ । अनुदानको लागि गरिएको आवेदन आह्वानको अवधि १० मार्च २०२४ को मध्यरातमा सकिनेछ ।

युथ इन्नोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले योजना प्रक्रिया र बजेट निर्माणमा विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलनका लागि यो परियोजना महत्वपूर्ण हुने बताए । उनका अनुसार पालिका र प्रदेशमा खटिएका जलवायु विद्वतवृत्ति प्राप्तकर्ताहरूले विपद् सूचना व्यवस्थापन प्रणाली, विपद्सम्बन्धी पोर्टललाई स्थानीयकरण गर्ने र निर्णय लिने र योजनामा यसको डाटा प्रयोग गर्ने काम गर्नेछन् । युथ इन्नोभेसन ल्याबका परियोजनाको नेतृत्व गर्ने गोमा कार्कीले युवाहरूलाई सिक्न र अरूसँग कुरा गर्न सक्ने ठाउँ दिन आवश्यक रहेको बताइन् ।

वातावरण तथा जलवायु अनुकूल विकासमा नेपाली युवा परियोजनाको नेतृत्व युथ इन्नोभेसन ल्याबले युरोपेली संघको आर्थिक सहयोग तथा रेस्टलेस डेभलपमेन्ट, क्रिएसन र सीडीएमएससँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गरेको हो । यस परियोजनाले विपद् र जलवायु शासन, उद्यमशीलता एवम् पैरवीमा संलग्नतामार्फत नेपालको कोभिड–१९ पश्चात्को पुनरूत्थानका लागि जलवायु कार्य र हरित अर्थव्यवस्थामा नेपाली युवाहरूको समावेशीतालाई प्रवद्र्धन गर्ने बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया