Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाली सेनाले मनायो २६१औं वार्षिकोत्सव

नेपाली सेनाले मनायो २६१औं वार्षिकोत्सव


काठमाडौं । नेपाली सेनाले महाशिवरात्रि तथा आफ्नो स्थापनाको दुई सय ६१ औँ वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमहरू गरी सेना दिवस मनाएको छ । सेनाले शुक्रबार राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको थियो । सो समारोहमा राष्ट्रपति पौडेलले वीर स्मारकमा पुष्पाहार चढाइ सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ । समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०८०’ वार्षिक पत्रिका विमोचन गरेका थिए । साथै उनले ‘फ्री फल जम्प’ मा प्रथम भएका अमलदार टंकबहादुर डाँगी र दोस्रो भएका सेनानी जगनाथ दनैलाई पुरस्कार प्रदान गरेका थिए । यस्तै, समारोहमा राष्ट्रपति पौडेलले सेना दिवस समारोहमा ब्याण्ड प्रस्तुत गर्ने भारतीय, बेलायती र अमेरिकी सेनाका टोली प्रमुखलाई सम्झनास्वरूप उपहार प्रदान गरेका थिए ।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरद्वारा नेपालको राष्ट्रिय झण्डालगायत महाशिवरात्रि तथा सेना दिवसको ब्यानर प्रदर्शनसहित पुष्पवृष्टि गरिएको थियो । समारोहमा राइफल र तोपबाट बढाइँ गरिनुका साथै विविध सैनिक कला र सांस्कृतिक एवम् सांगीतिक प्रस्तुति गरिएको थियो । समारोहमा सेनाद्वारा विभिन्न रणकौशल तथा परम्परागत भेषभूषा झल्किने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शनका साथै मार्चपास समेत प्रस्तुत गरिएको थियो । सो अवसरमा नेपाली सेनाले शान्ति मिसनमा प्रयोग गर्दै आएका विभिन्न खालका सवारीसाधन, उपकरण र हातहतियारको प्रदर्शन गरिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया