Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१६औँ योजनामा घट्यो कुल लगानीको अनुमानित रकम

१६औँ योजनामा घट्यो कुल लगानीको अनुमानित रकम


काठमाडौं । सरकारले १६औँ योजनामा कुल लगानीको अनुमानित रकम घटाएको छ । राष्ट्रिय योजना आयोगले १५औँ योजनाको तुलनामा कुल लगानीको अनुमानित रकम शून्य दशमलव ३५ प्रतिशत अर्थात् ३३ अर्ब रुपैयाँले घटाएर सार्वजनिक गरेको हो ।

१६औँ योजनाको लागि सीमान्त पुँजी उत्पादन अनुपातका लागि आवश्यक पर्ने रकम अर्थात् कुल लगानी रकम अनुमान (आर्थिक वर्ष २०७९/८० को मूल्यमा) ९१ खर्ब ९६ अर्ब रुपैयाँ छ । यद्यपि कुल लगानी (प्रचलित मूल्यमा) एक सय १४ खर्ब रुपैयाँ छ । उक्त लगानी अनुमान प्राथमिक क्षेत्र, द्वितीय क्षेत्र र सेवा क्षेत्रका समूहरूमा रहेको छ । जसमा सार्वजनिक, निजी र सहकारी क्षेत्रको योगदान रहनेछ ।

१५औँ योजनामा आयोगले कुल लगानी अनुमानित रकममा शतप्रतिशत वृद्धि गरेको थियो । योजना वर्ष बढ्दै जाँदा हरेक योजनामा रकम बढ्दै गएको थियो । १५औँ योजनामा ९२ खर्ब २९ अर्ब रुपैयाँ, १४औँ योजनामा २४ खर्ब २४ अर्ब रुपैयाँ, १३औँ योजनामा १४ खर्ब ७१ अर्ब रुपैयाँ, १२औँ योजनामा १० खर्ब २३ अर्ब र ११औँ योजनामा पाँच खर्ब ११ अर्ब रुपैयाँ कुल लगानीको अनुमानित रकम थियो । त्यस्तै १०औँ योजनामा छ खर्ब नौ अर्ब रुपैयाँ, नवौँमा तीन खर्ब ७२ अर्ब रुपैयाँ, आठौँमा एक खर्ब ७० अर्ब रुपैयाँ, सातौँमा २९ अर्ब रुपैयाँ र छैटौँमा २१ अर्ब रुपैयाँ कुल अनुमानित रकम थियो । यद्यपि सम्पूर्ण योजनाहरूको अवधि पाँच वर्षीय भए पनि ११औँ, १२औँ, १३औँ र १४औँ योजनाको अवधि भने तीन वर्षीय रहेको छ ।

योजना सम्पन्न गर्न अनुमानित रकम र खर्च गर्नुपर्ने रकम भने फरक हुनेगरेको आयोगका पदाधिकारीहरू बताउँछन् । राजनीतिक अवरोध, समूहगत अवरोध, नीति तथा कानुनीगत अवरोधका कारण आर्थिक विकासका सूचकतर्फ अपेक्षा गरेअनुरूपको तहमा प्रगति हासिल हुन नसकेको स्वयं आयोगले प्रतिवदेनमार्फत सार्वजनिक गरेको छ । यद्यपि योजनाहरूले गरिबी न्यूनीकरण, पूर्वाधार निर्माण र सामाजिक क्षेत्रमा भएको प्रगति सन्तोषजनक रहेको योजनाबद्ध विकासले सहस्राब्दी विकास लक्ष्यमा प्रगति हासिल गर्नतर्फ उन्मुख भएको, अल्पविकासित मुलुकबाट स्तरोन्नति हुन सहयोग पुगेको र दिगो विकास लक्ष्यमा सन्तोषजनक प्रगति हासिल गर्न सहयोग पुगेको बताइएको छ ।

त्यस्तै, प्राथमिक क्षेत्रमा कृषि, वन तथा मत्स्यपालन र खानी तथा उत्खनन रहेको छ । द्वितीय क्षेत्रमा उत्पादनमूलक उद्योग, विद्युत्, ग्यास, वाष्प तथा वातानुकूलित आपूर्ति सेवा, पानी आपूर्ति, ढल, फाहोर व्यवस्थापन तथा पुनः उत्पादनका क्रियाकलापहरू र निर्माण रहेका छन् । सेवा क्षेत्रमा थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा, यातायात तथा भण्डारण, आवास तथा भोजन सेवा, सूचना तथा सञ्चार, वित्तीय तथा बीमाका क्रियाकलाप, घरजग्गा कारोबार, पेशगात वैज्ञानिक तथा प्राविधिक, प्रशासनिक तथा सहयोगी सेवा क्रियाकलाप, सामान्य प्रशासन तथा रक्षा, अनिवार्य सामाजिक सुरक्षा, शिक्षा, मानव स्वास्थ्य तथा सामाजिक कार्य र कला मनोरञ्जन तथा मनोविनोद, अन्य सेवाका क्रियाकलाप रहेका छन् । त्यस्तै १४औँ योजनाबाहेक अन्य योजनाहरूमा रकम खर्च र लक्ष्य प्राप्ति भने ज्यादै नाजुक अवस्थामा रहेको छ । आयोगले अघिल्ला वर्षको तुलनामा १६औँ योजनामा कुल लगानी अनुमान रकम कमी गरे पनि लक्ष्य प्राप्ति भने असहज रहेको देखिन्छ ।

कोरोना महामारीपछि नाजुक बनेको अर्थतन्त्रलाई हालसम्म पनि गति दिन सकेको छैन । सरकारले आर्थिक गतिविधि बढाउने भन्दै आए पनि त्यसलाई कार्यान्वयन गर्न नसक्दा मुलुक आर्थिक अवस्था शिथिल देखिन्छ । अर्कोतर्फ राष्ट्रिय तथ्यांक कार्यालयले पनि चालू आर्थिक वर्षमा प्राथमिक क्षेत्र, द्वितीय क्षेत्र र सेवा क्षेत्रमा ठूलो उपलब्धि नहुने बताएको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०८०/८१ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः तीन दशमलव शून्य तीन प्रतिशत, एक दशमलव २० प्रतिशत र चार दशमलव ५० प्रतिशत हुने प्रारम्भिक अनुमान छ । संशोधित विवरणअनुसार गत आर्थिक वर्ष २०७९/८० मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः दुई दशमलव ७२ प्रतिशत, एक दशमलव ४० प्रतिशत र दुई दशमलव ३६ प्रतिशत रहने अनुमान गरिएको थियो । जसबाट गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा प्राथमिक क्षेत्र, द्वितीय क्षेत्र र सेवा क्षेत्रमा ठूलो उपलब्धि प्राप्त गर्न नसक्दा आगामी आर्थिक वर्ष २०८१/८२ देखि कार्यान्वयमा जाने १६औँ योजना समेत प्रभावित बन्ने निश्चित देखिन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया