Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेवार र तामाङ भाषा बागमती प्रदेशभित्र सरकारी कामकाजमा

नेवार र तामाङ भाषा बागमती प्रदेशभित्र सरकारी कामकाजमा


काठमाडौँ । सरकारी कामकाजको भाषाका रुपमा बागमती प्रदेशभित्र नेवारी र तामाङ भाषा कार्यान्वयनमा आएको छ । बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८०’ शुभारम्भ घोषणा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘ती भाषा सरकारी कामकाज कार्यान्वयनमा आएको घोषणा गरे ।

सोमबार ‘भाषा दिवस २०८१’ भएकाले सरकारले ती भाषा सरकारी कामकाजमा कार्यान्वयनमा आएको घोषणा गरेको हो । यस अवसरमा प्रदेश सरकारले सोमबार प्रदेशभित्र सार्वजनिक बिदासमेत दिएको छ । विसं २०८० कात्तिक २३ गते प्रदेश सरकारले सो ऐन प्रमाणीकरण गरेको थियो । बागमती प्रदेशसभा सदस्य बहादुरसिंह लामाले सोमबारदेखि कामकाजको भाषाका रुपमा कार्यान्वयनमा आएको तामाङ र नेवार भाषालाई व्यावहारिकरुपमा कार्यान्वयनका लागि केही जटिलता भए पनि सबैको साथ र सहयोग जरुरी रहेको बताए ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलगायतको उपस्थिति थियो ।

बागमती प्रदेश सरकारले नेवारी र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयनमा ल्याएकामा नेवा देव दबूका अध्यक्ष पवित्र बज्राचार्यले धन्यवाद दिए । उनले प्रधानमन्त्री दाहाल, बागमती प्रदेश सरकार, प्रदेशसभाका सबै सदस्य र मुख्यमन्त्रीलगायतको पहलका कारण नेवारी र तामाङ कामकाजको भाषका रुपमा कार्यान्वयन भएको बताए । उनले ऐन कार्यान्वयनका लागि नियमावली, आयोग, अनुगमन समितिलगायत निकाय गठन गर्न बाँकी रहेको उल्लेख गरे ।

विगत लामो समयदेखिको माग सम्बोधन भएकामा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले प्रसन्नता व्यक्त गरे । बागमती प्रदेश सरकारका संस्कृति पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले सहिदको बलिदानपछि प्राप्त भएको सङ्घीय व्यवस्थाको उपलब्धिका रुपमा आजको दिनसम्म आइपुगेको बताए ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले जनकवि दुर्गालाल श्रेष्ठलाई दोसल्ला ओढाएर अभिनन्दन गरेका थिए । सो अवसरमा जनकवि श्रेष्ठले आफ्नो बाँकी जीवन भाषिक आन्दोलनमा नै व्यतित गर्ने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया