Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगाउँमा नियन्त्रित कोरोना सहरमा नियन्त्रण गर्न कठिन

गाउँमा नियन्त्रित कोरोना सहरमा नियन्त्रण गर्न कठिन


काठमाडौँ, साउन १९
गत चैत ११ गते बिहानदेखि लकडाउन सुरु भएपछि संघीय राजधानी तथा विभिन्न जिल्ला र सदरमुकामहरुमा रहेका मानिसहरु धमाधम गाउँमा फर्किए । भारतबाट आउनेहरुको पनि हुल गाउँमा भित्रियो । राजधानी र जिल्ला सदरमुकामलाई भन्दा पनि ग्रामीण क्षेत्रलाई कोरोना नियन्त्रण गर्न ज्यादै कठिन भएको थियो । गाउँगाउँमा स्कुल भवन तथा सार्वजनिक स्थलमा क्वारेन्टिन बनाइयो । औषधि नभए पनि कोरोना रोकथामका लागि विभिन्न प्रयास गरिए । गाउँमा मानिसहरुको भीडभाड कम हुने भएकाले कोरोना संक्रमण भए पनि फैलिन पाएन । अहिले गाउँहरुमा करिबकरिब कोरोना नियन्त्रणको अवस्थामा छ ।

सरकारले साउन छ गते मंगलबार राति १२ बजेदेखि लकडाउन पूर्णरुपमा खोल्नु अघि नै गाउँबाट शहरमा भित्रिनको भीड बढिसकेको थियो । सरकारले निर्माण क्षेत्रमा काम गर्ने मजदूरहरुलाई ‘प्रक्रिया पूरा’ गरेर आउँजाउँमा गर्न सहज गराएसँगै मानिसहरुको भीड सदरमुकाम तथा प्रदेश र संघीय राजधानीमा बढ्न थाल्यो । लकडाउनको सुरुका चरणमा हप्तौसम्म पैदलै गाउँ गएकाहरु फेरि गाडीमा विभिन्न बहानामा शहर, सदरमुकाम तथा प्रदेश र संघीय राजधानीमा प्रवेश गर्न थाले ।

सरकारले तोकिएका केही निश्चित व्यावसायबाहेक सबैलाई स्वास्थ्य सम्बन्धी मापदण्ड पूरा गरेर सञ्चालनको अनुमति दियो । सरकारले सञ्चालन अनुमति दिएपछि मापदण्ड पूरै नगरी धमाधम व्यवसायहरु खुल्न थाले । कामगर्नेहरुको पनि भीड लाग्न थाल्यो । धेरै समय काम रोकिँदा बिहान/बेलुकी हातमुख जोर्ने समस्या भएपछि कामका लागि भीडभाड हुनु स्वभाविक थियो । सरकारको अनुमतिपछि जिल्लाभित्र सार्वजनिक सवारीका साधनहरु चल्न थाले ।

मास्क, स्यानिटाइजर, पन्जा अनिवार्य गरिए पनि त्यसको पालना भएन । स्वास्थ्य सम्बन्धी न्यूनतम मापदण्ड पूरा गराउन सरकारले अनुगमन नगरेको मात्र होइन, सर्वसाधारणले पनि चरम लापरबाही गरे । प्रहरीले दैनिक कारबाही गरिरहे पनि मास्क नलगाउनेमा सर्वसाधारण मात्र छैनन, उच्च तहका सरकारी कर्मचारी र नेताहरु पनि छन् । बोल्दा मास्क लगाउनुपर्नेमा खोलेर बोल्ने चलन नै चलाएका छन् । यसले मानिसको स्वास्थ्यमा गम्भीर हानी गर्दै छ । तर, कसैले पनि पालना गरेका छैनन् ।

सरकारले साउन ३२ गतेसम्मका लागि अन्तर्राष्ट्रिय सीमाना बन्द गरेको छ । हवाई तथा स्थलमार्गबाट विदेशमा भएकाहरुलाई आउन सरकारले रोके पनि भारतीयहरु धमाधम नेपाल प्रवेश गरेका छन् । निर्माण क्षेत्रमा संलग्न सबै भारतीयहरु नेपाल प्रवेश गरिसकेका छन् । कसैले पनि सीमा क्षेत्रमा कडाई गरेको छैन । भारतीयहरुले नेपाली परिचयपत्र बनाउँदै नेपाल प्रवेश गरेका छन् । नेपालमा भारतमा रहेका नेपाली मात्र होइन भारतीयहरुको प्रवेश उच्च भएपछि तराईका अधिकांश जिल्लाहरुमा कोरोनाको संक्रमण तीबै रुपमा फैलिँदै गएको छ ।

प्रदेश २ को वीरगञ्ज, जलेश्वर, राजविराजले यसअघि नै निषेधाज्ञा लगाएर कोरोना संक्रमण रोक्ने प्रयास गरेका छन् भने जनकपुरधामले आज सोमबार राति १२ बजेदेखि एकसाताको लागि निषेधाज्ञ लगाउने निर्णय गरेको छ । स्थानीय प्रशासनले प्रहरी मात्र होइन आवश्यक परेमा सशस्त्र र सेना नै परिचालन गरेर भए पनि निषेधाज्ञलाई प्रभावकारी बनाउने निर्णय गरेका छन् । प्रदेश ५ को नेपालगञ्जले पनि कोरोना संक्रमण बढेपछि निषेधाज्ञ सुरु गरेको छ । वीरगञ्जमा त संघीय सांसद र महानगरपालिकाका मेयर र उनको परिवारलाई नै कोरोना संक्रमणको पुष्टि भएको छ । न्यायाधीश र अन्य सरकारी कर्मचारीलाई पनि कोरोना पुष्टि भैरहेको छ ।

काठमाडौंमा ट्राफिक प्रहरीलाई कोरोना लागेपछि ट्राफिक व्यवस्थापनमै समस्या उत्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्गर गौतमका अनुसार काठमाडौंमा आइतबार मात्र ३१ जनामा कोरोना लागेको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार तीन सय ३२ पुगेको छ । त्यसमध्ये १४ हजार छ सय तीन जना उपचारपछि घर फर्किएका छन् भने अस्पतालमा पाँच हजार छ सय ७२ जना छन् । केही होम क्वारेन्टिनमा छन् । कोरोनाबाट नेपालमा ५७ जनाको मृत्यु भएको छ ।

लकडाउन हटेसँगै शहरमा मानिसको आवत/जावत र भीडभाड बढेपछि शहरलाई कोरोना नियन्त्रणका लागि हम्मेहम्मे पर्न थालेको बढ्दो कोरोना संक्रमितको संख्या र स्थानीय प्रशासनले लगाएको निषेधाज्ञले पुष्टि गरेको छ । नागढुंगालगायतका नाकामा सरकारले गरेको परीक्षणको क्रममा संक्रमित धेरै भेटिएपछि सरकारले साँझ सात बजेदेखि बिहान सात बजेसम्म काठमाडौंमा कुनै पनि यात्रुबाहक सवारी साधनको प्रवेशलाई निषेध गरेको छ । तर, पनि काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो छ । अहिले देशका गाउँ भन्दा पनि जिल्ला सदरमुकाम, प्रदेश सदरमुकाम र संघीय राजधानीमा कोरोना संक्रमणको गति तीब्र भएको कारण धेरै जनसंख्या भएको कारण शहरमा फैलिने कोरोना नियन्त्रणको कार्य धेरै कठिन हुने देखिएको छ ।

कोरोनाको संक्रमण तीब्र रुपमा बढ्न थालेपछि सरकारले परीक्षणको कार्यविधि नै परिवर्तन गरेको छ । अब सरकारले सामान्य ज्वरो र रुघाखोकी तथा झाडापखालाका बिरामीको पनि कोरोना परीक्षण गर्ने भएको छ । शहरी क्षेत्रमा भेटिएका कोरोना संक्रमितमा लक्ष्यण पनि देखिएको कारण यसले महामारीको रुप लिने चिन्ता जनस्वास्थ्यविद्हरुको छ । एउटै शहरमा धेरैमा कोरोना देखिएपछि कतिपयले समुदायमा कोरोना संक्रमण भएको दाबी गरे पनि सरकारले भने समुदायमा कोरोना संक्रमण भएको पुष्टि नभएको जनाएको छ ।

कोरोना रोकथाम र नियन्त्रणको खर्च भदौमा सार्वजनिक गरिने: गत आर्थिक वर्ष २०७६/०७७ मा कोरोना रोकथाम तथा नियन्त्रणमा भएको सरकारी खर्च अर्को महिना अर्थात भदौ भित्रमा सरकारले सार्वजनिक गर्ने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट तथा कार्यक्रमको बुँदा नम्बर २९० मा ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको काममा सबै तहबाट भएका खर्चलगायत अन्य संघसस्थाले गरेको खर्चको विवरण पारदर्शी बनाइनेछ’ भन्ने उल्लेख भए बमोजिम सरकारले खर्च सार्वजनिक गर्न लागेको हो ।

विभिन्न संघसंस्था तथा राजनीतिक दल र नेताहरुले पनि सरकारलाई कोरोनाको लागि भएको खर्च पारदर्शी गर्न दबाब दिइरहेको बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यही साउन ११ गते आइतबार सबै मन्त्रालयहरुलाई पत्रचार गरेर आर्थिक वर्ष २०७६/०७७ मा कोरोना रोकथाम तथा नियन्त्रण र उपचारको लागि आआफ्नो निकायबाट भएको खर्चको विवरण यही साउन २५ गते आइतबारसम्म उपलब्ध गराउन भनेको हो । साथै प्रधानमन्त्री कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा कोरोनाका लागि हुने खर्चको विवरण कात्तिक, फागुन र असार महिनाको मसान्तभित्र चौमासिक रुपमा उपलब्ध गराउन भनेको छ । त्यही अनुसार सरकारले खर्च विवरण सार्वजनिक गर्ने छ । कहाँबाट प्राप्त रकम कसरी खर्च गरियो भन्ने फर्ममै विवरण भरेर प्रत्येक मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउनुपर्ने छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया