Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपूर्वाधार विकास / उर्जानेपालको बिजुली बाङ्ग्लादेश पठाउनेसम्बन्धी सम्झौताका लागि मिल्न बाँकी कुरा के हुन्?

नेपालको बिजुली बाङ्ग्लादेश पठाउनेसम्बन्धी सम्झौताका लागि मिल्न बाँकी कुरा के हुन्?


काठमाडौं,नेपालमा उत्पादित ४० मेगावाट बिजुली बाङ्ग्लादेशलाई बिक्री गर्नका लागि प्रति युनिट शुल्कबारे दुई देशबीच सहमति बन्न नसक्दा त्यससम्बन्धी सम्झौतामा केही ढिलाइ भइरहेको नेपाली अधिकारीहरूले बताएका छन्।

यद्यपि दुवै देशबीच बिजुली खरिद तथा बिक्रीबारे सहमति बनिसकेकाले आगामी केही दिनभित्रै शुल्कबारे पनि सहमति जुट्नेमा अधिकारीहरू आशावादी देखिएका छन्।

बीबीसी बाङ्ग्लाले बाङ्ग्लादेशका उच्च ऊर्जा अधिकारीहरूसँग पनि यसबारे कुराकारी गर्ने प्रयास गरेको थियो।यद्यपि उनीहरूले “तत्काल” नेपाल-बाङ्ग्लादेश ऊर्जासम्बन्धी छलफलबारे विस्तृत विवरण दिन अस्वीकार गरेका छन्। केही साताअघिदेखि नै नेपालले बाङ्ग्लादेशलाई बिक्री गर्ने जलविद्युत्‌को मूल्य निर्धारण हुन लागेका विवरणहरू आएका थिए।

तर दुई देशका ऊर्जा अधिकारीबीच ढाकामा एउटा महत्त्वपूर्ण बैठक भएको दुई साता बितिसक्दा पनि अझै त्यसबारे सम्झौता हुन सकिरहेको छैन।नेपाल विद्युत् प्राधिकरण र बाङ्ग्लादेश पावर डेभलपमेन्ट बोर्डबीच गत फागुन १० गते नै मूल्य निर्धारणसम्बन्धी सहमति बन्ने ठानिएको थियो।

त्यस दिन दुई देशका यी ऊर्जासम्बन्धी निकायका प्रतिनिधिहरूबीच ढाकामा एउटा बैठक पनि भएको थियो।तर त्यस दिन सम्झौता हुन नसकेको नेपाली ऊर्जा अधिकारीहरूले स्वदेश फर्केपछि बीबीसीलाई बताएका थिए।
शुल्कबारे सहमति जुट्न बाँकी

नेपाल र बाङ्ग्लादेशबीच भारतको बाटो र पूर्वाधार प्रयोग गरेर नेपाली बिजुली खरिद तथा बिक्री गर्ने सहमति भने बनिसकेको छ।

फागुन दोस्रो साताको बैठकपछि नेपाली टोलीको नेतृत्व गरेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बीबीसीसँग भनेका थिए, “हामी दुईबीच सकारात्मक छलफल भएको छ। केही सामान्य प्राविधिक विषयहरू छन् ती टुङ्गिने बित्तिकै सम्झौता हुन्छ।”

‘शुल्कमा सहमति जुट्न नसकेको हो?’ भन्ने बीबीसीको प्रश्नमा उनले भनेका थिए, “वार्ता सकारात्मक छ। शुल्कमा पनि लगभग सहमति नै छ।”

ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहका अनुसार नेपाल र बाङ्ग्लादेशबीच शुल्क निर्धारणबारे केही कुराहरू मिल्न बाँकी छन्।

“शुल्कको टुङ्गो लाग्न र केही प्राविधिक विषयहरू मिल्न बाँकी छन्। अब चाँडै त्यसबारे पनि सहमति हुनेछ र नेपालबाट बिजुली बाङ्ग्लादेश पठाउन थालिनेछ,” उनले भने।

बीबीसी बाङ्ग्लाले बाङ्ग्लादेशका ऊर्जा राज्यमन्त्री नस्रुल हमिदसँग दुई देशबीचको बिजुली खरिद बिक्रीबारे भइरहेका छलफलका सम्बन्धमा प्रश्न गरेको थियो। तर उनले “तत्काल त्यसबारेमा” प्रतिक्रिया नदिने बताए।

यद्यपि उनले यसै साता ढाकामा भारतीय राजदूतसँग भएको भेटमा “सम्भवत: आगामी महिनामा नेपालबाट ४० मेगावाट विद्युत् आयातसम्बन्धी सम्झौता हुनसक्ने” बताएको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका थिए।
नेपाली प्रस्ताव

नेपाली ऊर्जा अधिकारीहरूले दिएको जानकारी अनुसार नेपालले बाङ्ग्लादेशलाई विद्युत् खरिद बिक्री दर प्रस्ताव गरेको छ।

त्यस्तै नेपालले बिजुली उपलब्ध गराउन नसके बाङ्ग्लादेशलाई तिर्नुपर्ने पेनाल्टी रकमबारे पनि प्रस्ताव गरिएको छ।

नेपालबाट बाङ्ग्लादेशसम्म बिजुली पठाउन भारतको बाटो र भारतीय पूर्वाधारहरू प्रयोग गर्नुपर्ने हुन्छ।

त्यसबापत भारतलाई ‘ह्विलिङ चार्ज’ तिर्नुपर्ने र त्यो बाङ्ग्लादेशले बेहोर्ने यसअघि नै सहमति बनेको पनि अधिकारीहरूले जानकारी दिएका छन्।

नेपालले जुनसुकै समयमा लिए पनि प्रति युनिट ९ रुपैयाँ ३१ पैसामा उक्त देशलाई बिजुली बेच्ने प्रस्ताव गरेको विवरण आएका छन्।

तर बाङ्ग्लादेशले त्यो भन्दा कम मूल्यमा लिने प्रस्ताव गरेपछि पछिल्लो बैठकमा कुरा नमिलेको ऊर्जा मन्त्रालयका अधिकारीहरूले बताए।

नेपालले विद्युत् बिक्रीबापतको भुक्तानी अमेरिकी डलरमा गर्नुपर्ने पनि प्रस्ताव राखेको बुझिएको छ। वर्षौँको प्रयास

नेपाली विद्युत् खरिदका सम्बन्धमा गत महिना बाङ्ग्लादेशले नेपालसमक्ष एउटा प्रस्ताव पठाएको थियो।

नेपाल र बाङ्ग्लादेशले वर्षौँदेखि विद्युत् खरिद बिक्रीका लागि प्रयास गर्दै आएका थिए।

तर बाङ्ग्लादेशसँग सीमा नजोडिएको नेपालबाट त्यहाँसम्म बिजुली पुर्‍याउन भारतको बाटो प्रयोग गर्नुपर्ने हुँदा भारतीय सहमतिविना त्यो सम्भव थिएन।

तर गत वर्ष फेब्रुअरीमा भएको एउटा द्विपक्षीय ऊर्जा बैठकमा भारतीय अधिकारीहरू नेपाली बिजुलीलाई भारतीय बाटो र पूर्वाधार प्रयोग गरेर बाङ्ग्लादेश निर्यात गर्न दिन सहमत बनेका थिए।

भारतको राजस्थानमा भएको दुई देशका सचिवस्तरीय बैठकले गरेको उक्त निर्णयलाई नेपाली अधिकारीहरूले “वर्षौँपछिको प्रतीक्षापछिको महत्त्वपूर्ण उपलब्धि” भनेका थिए।

उनीहरूले सोही सहमति अनुसार गत बर्खायामबाटै ५० मेगावाट विद्युत् बाङ्ग्लादेश पठाउन सकिने बताएका थिए।कुन आयोजनाबाट पठाइँदै छ बिजुली?

त्यस बेला नेपाल र भारत भारतीय लगानी रहेको ५२ मेगावाट क्षमताको लिखु-४ आयोजनाबाट विद्युत् बाङ्ग्लादेश पठाउन सहमत बनेको बताइएको थियो।

तर त्यसपछिका चरणबद्ध छलफलहरूपछि अहिले बाङ्ग्लादेशमा त्रिशूली जलविद्युत् आयोजनाबाट २३.२८ र तल्लो मोदी आयोजनाबाट १९.४० मेगावाट विद्युत् बाङ्ग्लादेशलाई बिक्री गर्ने सहमति बनेको अधिकारीहरूले बताए।

उनीहरूका अनुसार अब ती आयोजनाबाट असारदेखि कात्तिकसम्म बाङ्ग्लादेशमा बिजुली पठाइने छ।

नेपालमा बर्खायाममा बिजुली अधिक उत्पादन हुँदा खेरजाने अवस्था बन्ने गरेको छ।

नेपाल र भारतबीच बर्खामा भारतले नेपाली जलविद्युत् किन्ने र हिउँदमा अभाव भएका बेला नेपालले भारतीय बिजुली आयात गर्ने सहमति यसअघि नै कायम रहेको छ।

नेपालमा चाहिनेभन्दा बढ्ता उत्पादन हुँदासम्म बाङ्ग्लादेशमा बिजुली पठाइरहने नेपाली अधिकारीहरूले बताएका छन्।

दुई साताअघि बीबीसीसँग कुरा गर्दै नेपालका ऊर्जा सचिव गोपाल प्रसाद सिग्देलले भनेका थिए,”पहिलो वर्षलाई नेपालले भारतबाट विद्युत् किन्न नपर्ने अवस्थासम्म ४० मेगावाट बाङ्ग्लादेश पठाइन्छ तर अर्को वर्षको अवस्था कस्तो हुन्छ भनेर अहिल्यै भन्न सकिँदैन।”चालु आर्थिक वर्षको अन्त्यसम्ममा नेपालको ग्रीडमा थप पाँच सय मेगावाट विद्युत् थप हुने ऊर्जा अधिकारीहरू बताउँछन्। हाल नेपालको जडित क्षमता झण्डै २,९०० मेगावाट छ।

गत वर्षको जेठयता नेपालले आफूकहाँ चाहिनेभन्दा धेरे विद्युत् हुँदा भारतको ऊर्जा बजारमा प्रतिस्पर्धा गरेर त्यहाँ विद्युत् बेचिरहेको छ।

बजारको मागका आधारमा तय हुने मूल्य उक्त दिनको राति १२ बजेदेखि भोलिपल्ट १२ बजेसम्म लागु हुनेगरेको छ।

तर बाङ्ग्लादेशलाई भने स्थिर दरमा बिजुली बिक्री हुने बताइएको छ।

नेपाल र बाङ्ग्लादेशबीच ऊर्जा व्यापारसम्बन्धमा पहिलो पटक सम्झौता भएको थियो।

त्यसपछि दुवै देशले ऊर्जा अधिकारीहरू सम्मिलित समितिहरू बनाएर लगातार वार्ताहरू गरेका थिए।

यद्यपि भारतीय पक्षको सहमतिविना नेपाल र बाङ्ग्लादेशबीच भएका समझदारीहरू कार्यान्वयन हुन नसक्ने अवस्था रहेकाले बिजुली निर्यातबारे अन्तिम निर्णयमा पुग्न समय लागेको अधिकारीहरू बताउँछन्।
(बीबीसी)


क्याटेगोरी : पूर्वाधार विकास / उर्जा

तपाईको प्रतिक्रिया