Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारराजनीतिक रङ्गले सेयरबजारको रङ्गमा अस्थिरता

राजनीतिक रङ्गले सेयरबजारको रङ्गमा अस्थिरता


काठमाडौं । सोमबार छ प्रतिशतले बढेर निर्धारित समयअगावै कारोबार बन्द भएको सेयरबजार मंगलबार ७० अंक बढीले घट्यो । यसरी बजारमा तीव्र उतारचढाव देखिनुको कारण सोमबार बिहानदेखि घटेको राजनीतिक घटनाक्रम हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको गठबन्धन भत्काएर नेकपा एमालेसँग नयाँ गठबन्धन गरेपछि सोमबार सेयरबजारमा करिब एक सय १८ अंकको वृद्धि भएको थियो । एमालेसँगको गठबन्धनमा एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने अनुमानका बीच बजार बढेको थियो । तर, मंगलबार अर्थ मन्त्रालय माओवादी केन्द्रले लिने खबर आएपछि भने बजारमा गिरावट देखियो । यसरी दुई दिन सेयरबजार अर्थमन्त्री को बन्छ भन्ने अनुमानले उथलपुथल भयो ।

एमाले उपाध्यक्ष विष्णु पौडेल यसअघि दुई पटक अर्थमन्त्री बन्दा सेयरबजारमा राम्रो वृद्धि भएको थियो । यही कारण सोमबार पनि लगानीकर्ताले पौडेल अर्थमन्त्री बन्ने अनुमान गरी बजार बढाएका थिए । सोमबार तीन पटकसम्म ‘सर्किट ब्रेक’ लाग्दा पाँच मिनेट पनि कारोबार भएको थिएन । अधिकांश लगानीकर्ताले सेयर किन्न र बेच्न नै पाएनन् । मंगलबार भने बजारले रङ्ग परिवर्तन गर्यो । अर्थमन्त्रीमा माओवादी नेता वर्षमान पुन आउने हल्ला भएपछि बजारले रङ्ग परिवर्तन मात्रै गरेन नेप्से परिसूचक ७० दशमलव ३१ अंकले घट्यो । नेप्से दुई हजार सात दशमलव ६९ विन्दुमा झरेको छ ।

विश्लेषकहरूले कम्पनीको सेयरमूल्य उच्च अंकले बढेको बेला लगानीकर्ताले नाफा बुक गर्न थालेपछि मंगलबार ‘करेक्सन’ देखिएको बताएका छन् । एकाएक बढेको बजार अर्को दिन टिक्न गाह्रो हुने भएकाले लगानीकर्ताले नाफा सुरक्षित गर्नु स्वाभाविक भएको विश्लेषकहरूको तर्क छ । आइतबारसम्म सेयर खरिद गरेका लगानीकर्ताले सोमबार सेयरको मूल्य उच्च दरले बढेपछि मंगलबार बिक्री बढाएका थिए ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेयता सेयरबजार लगातार घट्दै आएको छ । तर, राजनीतिक घटनाक्रमले सोमबार बजारमा उछाल ल्यायो । त्यही राजनीतिक घटनाक्रमले नै मंगलबार गिरावट भयो ।

आर्थिक सूचकहरू सकारात्मक बन्दै गएकोे, बैंक ब्याजदर घट्दै गएको, वित्तीय प्रणालीमा प्रशस्त लगानीयोग्य रकम भएको अवस्थामा पनि सेयरबजार बढ्न सकेको थिएन । तर, अर्थमन्त्री पौडेल बन्ने हल्लाले एकैदिन करिब एक सय १८ अंक बढ्नु र भोलिपल्ट अर्को दलको अर्थमन्त्री बन्ने हल्लाले फेरि नेप्सेमा गिरावट देखिनुले राजनीतिक अस्थिरताको चेपुवामा लगानीकर्ता परेको स्पष्ट हुन्छ । यस्तो घटनाक्रमले अबको सेयरबजार के हुन्छ भन्ने कुरा अर्थमन्त्री को बन्छ भन्नेमा नै निर्भर हुनेछ ।

एमाले सरकारमा जाँदा अर्थमन्त्री पौडेल हुने र उनले राष्ट्र बैंकसँग तालमेल राम्रोसँग गर्नसक्ने बुझाइ लगानीकर्तासँग छ । किनभने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको हो । सेयरबजारप्रति राष्ट्र बैंकले कठोर नीति लिएको बुझाइ सेयर लगानीकर्तामा छ । अर्थमन्त्रीमा पौडेल आउँदा गभर्नर अधिकारीसँग ट्युनिङ मिल्ने र कठोर नीतिमा सुधार ल्याउन पौडेलले भूमिका खेल्ने विश्वास लगानीकर्ताको थियो । यो बुझाइ सोमबार थियो । तर, मंगलबार अर्थ मन्त्रालय माओवादीले लिने खबर आएपछि लगानीकर्ताको अनुमान फेल खायो र बजारमा गिरावट देखियो ।

मंगलबार चार अर्ब ११ करोड ३६ लाख ७६ हजार नौ सय ५८ रुपैयाँबराबरको एक करोड १४ लाख ६७ हजार पाँच सय ९९ कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएका दुई सय ४८ कम्पनीमध्ये दुई सय १३ कम्पनीको सेयरमूल्य घट्दा बजार राताम्मे बनेको हो । बजार घटे पनि ३३ कम्पनीका सेयरधनीले कमाएका छन् भने दुई कम्पनीको सेयरमूल्य स्थिर छ । लगानीकर्ताको सम्पत्ति एकैदिन एक खर्ब ११ अर्ब रुपैयाँले घटेको छ । बजार पुँजीकरण ३१ खर्ब ५५ अर्ब रुपैयाँमा झरेको छ ।

मंगलबार म्युचुअल फन्डबाहेक सबै समूहका सूचक घटेका छन् । सबैभन्दा धेरै अन्य समूह चार दशमलव ३५ प्रतिशतले घटेको छ । जलविद्युत् समूह चार दशमलव तीन प्रतिशत र उत्पादन तथा प्रशोधन समूह चार दशमलव दुई प्रतिशतले घटेको छ । बैंकिङ समूह तीन दशमलव शून्य एक प्रतिशत, विकास बैंक तीन दशमलव ६५, फाइनान्स दुई दशमलव ७५, होटल तथा पर्यटन तीन दशमलव ६९ र लगानी तीन दशमलव ४८ प्रतिशतले घटेका छन् । त्यसैगरी, जीवन बीमा समूह तीन दशमलव ४९ प्रतिशत, लघुवित्त एक दशमलव २७, निर्जीवन बीमा दुई दशमलव छ र व्यापार समूह दुई दशमलव १५ प्रतिशतले घटेका छन् ।

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै आठ दशमलव ७३ प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेड र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै बोटलर्स नेपाल (तराई)को सेयर मूल्य नौ दशमलव ४५ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएको सेयर संख्याका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको ४१ करोड ९१ लाख २२ हजार सात सय ३५ रुपैयाँबराबरको आठ लाख ५० हजार चार सय ६४ कित्ता सेयर किनबेच भएको छ ।


क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया