कोरोनाको मारमा विद्यालय शिक्षा
१४ जिल्लाका विद्यार्थीलाई स्कुल नजान सरकारको आग्रह
काठमाडौं ।
कोरोना अर्थात् कोभिड–१९ को नयाँ स्वरुप ‘डबल म्युटेन्ट भेरिएन्ट’ र ‘युके भेरिएन्ट’ सङ्क्रमण देखिएका कारण नेपालको विद्यालय शिक्षा नराम्रोसँग प्रभावित भएको छ । सरकारले नै विज्ञप्ति प्रकाशित गरेर कोरोनाबाट प्रभावित १४ जिल्लाका विद्यार्थीहरुलाई स्कुल नजान आग्रह गरेको छ । यसले विद्यालय शिक्षा नराम्रोसँग प्रभावित हुने प्रस्ट पारेको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाइले अत्यन्त जरुरी ‘अपिल’ प्रकाशित गरी काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, कास्की, रुपन्देही, बाँके, पर्सा, कैलाली, मोरङ्ग, दाङ, सुर्खेत, बारा र बागलुङ जिल्लामा विद्यालयलगायत भीडभाड हुने स्थानमा नजान सबैलाई आग्रह गरेको छ ।
मन्त्रालयले ती १४ जिल्लाका विद्यालयका अतिरिक्त रात्रि व्यवसायहरु, ७ बजेपछि सबै क्लब र रेष्टुरेन्टहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुलजस्ता स्थानमा नजान आग्रह गरेको छ । जानैपर्ने भएमा जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गर्न पनि आग्रह गरेको छ । सरकारले विद्यालय बन्द गराउने निर्णय नगरेको कारण काठमाडौं उपत्यकाका स्थानीय तहले विद्यालय बन्द गराउने निर्णय लिनसकेको छैन ।
पछिल्लो समयमा बालबालिकामा पनि कोरोना संक्रमणको दर बढी देखिएपछि विद्यालय बन्द गराउन दबाब परेको छ । तर, विद्यालय सञ्चालक र स्वयम् अभिभावकहरु पनि तत्काल विद्यालय बन्द गराउने पक्षमा छैनन् । कोरोना संक्रमण बढ्ने देखिएपछि कतिपय विद्यालयहरुले वार्षिक परीक्षा पनि लिइसकेका छन् भने कतिपयले सरकारी नीतिअनुसार जेठमा मात्र परीक्षा लिने तयारी गरेका छन् । अहिले नै कोरोना संक्रमण बढ्नथालेपछि विद्यालय सञ्चालकहरु अन्योलमा परेका छन् ।
थप ५ सय ३४ मा संक्रमण : यसैबीच, बिहीबार थप पाँच सय ३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८२ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार तीन हजार पाँच सय ८८ मा पीसीआर र पाँच सय ६४ मा एन्टिजेन गरी चार हजार एक सय ५२ को कोरोना परीक्षण गर्दा पाँच सय ३४ मा कोरोना पुष्टि भएको हो । चार सय ९० मा पीसीआर र ४४ मा एन्टिजेन पोजिटिभ आएको हो ।
बिहीबार थपिएका सङ्क्रमितमध्ये एक सय ९६ जना काठमाडौँ उपत्यकाका छन् । त्यस्तै भक्तपुरमा आठ, ललितपुरमा ४३ र काठमाडौँमा एक सय ४५ रहेका छन् । गत २४ घण्टामा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ६६ पुगेको छ । गत २४ घण्टामा एक सय ५७ सङ्क्रमित निको भएका छन् । योसँगै हालसम्म कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ७४ हजार छ सय चार पुगेको छ ।
हाल देशभर चार हजार तीन सय ८४ सङ्क्रमित आइसोलेसनमा छन् । तीमध्ये तीन हजार आठ सय ९४ होम आइसोलेसनमा छन् भने चार सय ९० संस्थागत आइसोलेसनमा छन् । देशभर ९१ आईसीयू र ३५ सङ्क्रमित भेन्टिलेटरमा उपचाररत छन् । हाल ६८ क्वारेन्टाइनमा रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
नेपालगञ्जका विद्यालय एक साता बन्द : कोरोना भाइरस सङ्क्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रबारदेखि शैक्षिक संस्था बन्द हुने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले नेपालगञ्जमा पछिल्लो समय कोभिड सङ्क्रमण उच्चगतिमा बढेपछि उपमहानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।
पत्रकार मिश्रको कोभिडका कारण मृत्यु : कोरोना सङ्क्रमणका कारण ४८ वर्षीय पत्रकार कमल मिश्रको मृत्यु भएको छ । उनको शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा निधन भएको हो । झापाको बिर्तामोड नगरपालिका–८ निवासी पत्रकार केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया