‘हिमालयन रि लाइसेन्स घोटालाकाण्ड’मा बालुवाटारकाण्ड’ कनेक्सन
काठमाडौं । काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री निवासकै सरकारी जग्गा सरकारी निकायमा सेटिङ गरेर अर्बौँ रुपैयाँ घाटाला भएको चर्चित ‘बालुवाटारकाण्ड’ जस्तै अर्को कुपण्डोलमा रहेको बीमा समितिमार्फत ‘हिमालयन रिलाई लाइसेन्स वितरण काण्ड’ घटाइएको छ ।
नेपालको इतिहासकै सबैभन्दा ठूलो आर्थिक घोटालाकाण्ड भनेर चिनिएको राजधानीको मुटुको १३६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरिएको सो काण्डमा अख्तियारले १७५ जनामाथि मुद्दा चलाएको थियो । अहिले यस्तै एउटा घटना ओली सरकारको पतन र नयाँ सरकार गठनको मौका पारेर घटाइएको छ । आर्थिक दैनिकले गरेको खोजमा बालुवाटार जग्गा काण्डसँग हिमालयन रि नामक पुनर्बीमा कम्पनीको लाइसेन्सकाण्डमा ‘कनेक्सन’ भेटिएको छ ।
बालुवाटारमा भइरहेको ठूलो सेटिङमा छोरा नविन पौडेलको नाममा सित्तैमा जग्गा पाएका पौडेलले हिमालय रिको लाइसेन्सकाण्डमा पनि ठूलो रकम हात पारेको सूत्रहरुले दाबी गरेका छन् । यद्यपि बालुवाटारमा लिएको जग्गा भने अख्तियारको कारबाहीबाट बच्न छानबिन सुरु भएपछि नै फिर्ता गर्ने कागजमा हस्ताक्षर गरेका कारण उनको हातबाट फुत्किसकेको छ ।
बालुवाटार जग्गाकाण्डमा मतियारमध्येका एक नविन पौडेलका बुवा विष्णु पौडेल ‘हिमालयन रिको लाइसेन्स घोटालाकाण्ड’ हुँदा अर्थमन्त्रीका रुपमा कार्यरत थिए । उनै अर्थमन्त्री पौडेलको मुख्य निर्देशन र संलग्नतामा भएको हिमालयन रि–काण्डमा भएको तीन अर्बभन्दा बढी रकम घोटालामा बालुवाटार जग्गाकाण्डका केही मतियारहरु समेत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएको पाइएको छ ।
हिमालयन रि काण्डमा बालुवाटार जग्गा काण्डका मुख्य योजनाकारमध्येका एक मिन बहादुर गुरुङ धेरैतिरबाट जेलिएका छन् । मिन बहादुर गुरुङको काठमाडौं स्टिल्समा सीईओको रुपमा काम गरेका किरण कुमार श्रेष्ठ हिमालयन रिमा प्रत्यक्ष संलग्नता देखिएको छ । उनी हाल राष्ट्रिय वाणिज्य बैंकमा सीईओमा कार्यरत छन् । उनलाई विष्णु पौडेलले बालुवाटारकाण्डको कनेक्सनअनुसार तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडामार्फत राष्ट्रिय वाणिज्य बैंकको सीईओ र बीमा समितिको सञ्चालक बनाएका थिए । श्रेष्ठ बीमा समितिका बहालवाला सञ्चालक हुन् भने उनी सीईओ रहेको राष्ट्रिय वाणिज्य बैंकले समेत हिमालयन रिमा ५० करोड रुपैयाँको सेयर लगानी गरेको छ ।
श्रेष्ठ बालुवाटारकाण्ड र हिमालयन रि–काण्डमा पहिलो र प्रत्यक्ष कनेक्सन हुने पात्र हुन् । अर्को कनेक्सन बालुवाटारमा मुछिएका गुरुङको नाता पर्ने लालकाजी गुरुङकी छोरी जुनी गुरुङको नाममा हिमालयन रिमा सेयर रहेको पाइएको छ । लालकाजी गुरुङ सिभिल मलका मालिक (हिस्सेदार) समेत हुन् । वंशल थरका मारवाडी व्यापारी बालुवाटारकाण्ड र हिमालय रि दुवै काण्डमा संलग्न देखिएका छन् । विष्णु पौडेलले रुपन्देहीका प्रकाश पौडेललाई समेत हिमालयन रिमा २० करोडको सेयर दिलाएका छन् ।
बालुवाटारकाण्डमा अप्रत्यक्ष रुपमा संलग्न प्रेम प्रभात गुरुङको नाममा पनि हिमालयन रिमा सेयर लगानी रहेको छ । तारा जेभी इन्भेष्टमेन्ट कम्पनीको नाममा तीन करोड र प्रभात गुरुङ एण्ड कम्पनीको नाममा तीन करोड रुपैयाँ गरी कुल छ करोड रुपैयाँको सेयर हिमालयन रिमा लगानी भेटिएको छ । गुरुङ उल्लिखित दुई घोटालाकाण्डलाई कनेक्सन गर्ने तेस्रो पात्र हुन् ।
यसअघि चन्द्र ढकालको सेटिङमा नौवटा जीवन बीमा कम्पनी र तीनवटा निर्जीवन बीमा गरी कुल १२ वटा बीमा कम्पनी दर्ता गर्दा घुस रकम लिन प्रयोग भएका घरजग्गा व्यवसायी कालु गुरुङको समेत हिमालयन रिमा अप्रत्यक्ष संलग्न रहेको भेटिएको छ । कालु गुरुङले यस पटक पनि विगतको जस्तै घुस रकम जम्मा गरेर राजनीतिक नेतृत्वलाई बाँडफाँट गरेको स्रोतले दाबी गरे पनि आर्थिक दैनिकले स्वतन्त्र रुपमा पुष्टि गर्न बाँकी छ ।
तीन अर्बभन्दा बढी रकम संस्थापक सेयरधनीहरुबाट ‘अतिरिक्त लागत खर्च’को रुपमा उठाएर अर्थमन्त्री विष्णु पौडेल, अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगाना, सहसचिवहरु झक्क प्रसाद आचार्य, कानुन मन्त्रालयका सहसचिव फणिन्द्र गौतम, ओली एण्ड एसोसिएट्सका वकिल कपिलदेव ओली, राष्ट्रिय वाणिज्य बैंकका किरण कुमार श्रेष्ठ तथा बीमा समितिका अध्यक्ष तथा अन्य कर्मचारीहरुलाई बाँडफाँट गरी थर्मल गन तस्करीमा संलग्न सुलभ अग्रवाल तथा उनका एकाघरका दाजु शाहिल अग्रवाल, धनगढीका दीपक भट्ट लगायतका १०६ वटा कम्पनी तथा व्यक्तिहरुले मिलेर हिमालयन रि नामक कम्पनी संस्थापना गरी पुनर्बीमाको लाइसेन्स लिएका हुन् ।
सो काण्डमा मिडियालाई सेटिङ गर्न भन्दै नेपालको सबैभन्दा ठूलो मिडिया हाउसका मालिकको नाममा १० करोड रुपैयाँको गोल्डेन (सित्तैमा पाइने) सेयर दिएको समेत भेटिएको छ । पुनर्बीमाको लाइसेन्स पाउने भएपछि बाहिर प्रभाव देखाउन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेयर गोल्छा, निवर्तमान अध्यक्ष भवानी राणा, पूर्वअध्यक्ष पशुपति मुरारकालाई समेत सेयर दिएर कम्पनीलाई बलियो बनाउने प्रयास गरेको पाइएको छ ।
अर्बौँ रकम घोटाला गरिएको हिमालय रि काण्डको दबाब थेग्न सहज होस् भनेर गोल्छालाई अध्यक्ष बनाइएको छ । गोल्छाको नामका शरद गोल्छासहित गरी कुल २५ करोड रुपैयाँको सेयर छ । त्यस्तै भवानी मिश्र राणाको एक करोड रुपैयाँको सेयर छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम- २ मा मतगणना ११ बजेबाट सुरु हुँदैे
- इलाम–२ मा सर्वपक्षीय बैठक सुरू, मतगणना केहीबेरमा हुँदैे
- लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै
- इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो
- नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित
- बझाङमा ४३ प्रतिशत मतदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया