काठमाडौं, फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेलमा सञ्चालन भइरहेको १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको अवधि दुई दिन थप गरिएको छ ।
यसअघि कात्तिक १२ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्नेगरी तय गरिएको प्रदर्शनी अब कात्तिक १८ गते बुधबारसम्म सञ्चालन हुने आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । प्रदर्शनीको पहिलो दिन अपेक्षाभन्दा उत्साहजनक कारोबार हुनुका साथै अवलोकनकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।
तर, मौसममा आएको प्रतिकूल परिवर्तनसँगै शुक्रबार र शनिबार भएको अविरल वर्षाका कारण प्रदर्शनी स्थलमा दर्शक तथा अवलोकनकर्ताको आवागमन प्रभावित भए पनि समय थप गरिएको हो । वर्षाका कारण मेलास्थल नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएपछि पुष्प व्यवसायी, फूलप्रेमी तथा सर्वसाधारणले प्रदर्शनीको प्रत्यक्ष अवलोकन गर्न असुविधा भएको एशोसिएसनले जनाएको छ । वर्षाका कारण प्रदर्शनी अवलोकन गर्न छुटेकाहरुलाई लक्षित गरी प्रदर्शनी सञ्चालन अवधि दुई दिन थप गरिएको जनाइएको छ ।
प्रदर्शनीमा सहभागी भई विभिन्न प्रजातिका मौसमी तथा सदाबहार फूल, पुष्प सजावट, नर्सरीजन्य उत्पादन तथा पुष्प व्यवसायसँग सम्बन्धित सामग्रीहरूको अवलोकन गर्नुका साथै खरिदसमेत गर्न सकिनेछ ।