काठमाडौं, सोना खोला जलविद्युत् आयोजना प्रवद्र्धित ९ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी हिमाली हाइड्रो फण्ड लिमिटेडले १४ करोड रुपैयाँबराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
यससम्बन्धी सम्झौतामा हिमाली हाइड्रो फण्ड लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सोमनाथ कँडेल र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास खनालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका १४ लाख कित्ता साधारण सेयर निष्कासन गर्नेछ। यसबाट कम्पनीले कुल १४ करोड रुपैयाँ पुँजी संकलन गर्ने लक्ष्य राखेको छ । प्रस्तावित आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक, आयोजनामा कार्यरत कर्मचारी तथा सर्वसाधारणका लागि निष्कासन गरिने व्यवस्था गरिएको छ । यसले आयोजना प्रभावित स्थानीय समुदायदेखि विदेशमा रोजगारी गरिरहेका नेपाली र आम सर्वसाधारणलाई समेत कम्पनीको सेयरधनी बन्ने अवसर प्रदान गर्नेछ ।
आईपीओ निष्कासन प्रक्रियाअन्तर्गत सानिमा क्यापिटलले धितोपत्रसम्बन्धी प्रचलित कानुन तथा नियामकीय व्यवस्थाअनुसार आवश्यक विवरणपत्र तयार गर्ने, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गर्ने, सेयर निष्कासन तथा बाँडफाँट गर्ने र बिक्री व्यवस्थापन सम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाउनेछ । बिक्री प्रबन्धक नियुक्तिसँगै हिमाली हाइड्रो फण्ड लिमिटेडको आईपीओ निष्कासन प्रक्रियाले औपचारिक गति लिएको छ । अब आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया पूरा गरी नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि मात्रै आईपीओ निष्कासनको मिति र आवेदनसम्बन्धी थप विवरण सार्वजनिक हुनेछ ।