काठमाडौं, रुपन्देहीको तिलोत्तमा–१३, कोटिहवास्थित टाइगर फरेस्ट होटलले चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासिकमा ३ करोड ६२ लाख ८५ हजार रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । साउनदेखि असोजसम्मको तीन महिनामा होटलले उक्त कारोबार गरेको जनाएको हो ।
व्यवसायी मिनराज भुसालको अवधारणा तथा लगानीमा सञ्चालन तथा विस्तार भइरहेको होटलले आवास, खानपान र मनोरञ्जन सेवालाई एकै परिसरमा समेटेर व्यावसायिक गतिविधि विस्तार गरिरहेको छ । होटलका अध्यक्ष भुसालका अनुसार टाइगर फरेस्टलाई परम्परागत होटलभन्दा फरक पर्यटकीय तथा मनोरञ्जन गन्तव्यका रूपमा विकास गर्ने योजना छ । होटल परिसरमा काठका भिल्ला, रेस्टुरेन्ट, बार्हसिंगे बियर गार्डेन तथा किङ लियो डान्स क्लब सञ्चालनमा छन् । प्राकृतिक वातावरणमा निर्माण गरिएका काठका भिल्लालाई होटलको प्रमुख आकर्षणका रूपमा अघि सारिएको छ । होटलको रेस्टुरेन्टमा नेपालीसहित विभिन्न परिकार उपलब्ध छन् भने किङ लियो डान्स क्लबमार्फत रात्रिकालीन मनोरञ्जनको सुविधा प्रदान गरिएको छ । होटल व्यवस्थापक युवराज गुरुङका अनुसार निर्माणको अन्तिम चरणमा रहेको एक हजार जना क्षमताको रोयल ब्यांक्वेट आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी छ ।
सिद्धार्थ राजमार्गसँग सहज पहुँच रहेको तथा टाइगर प्यालेस बाई सोल्टीसँगै जोडिएको स्थानमा होटल अवस्थित छ । होटलले लुम्बिनी भ्रमणमा आउने पर्यटक, भारतीय पाहुना, आन्तरिक पर्यटक तथा स्थानीय ग्राहकलाई लक्षित गरी सेवा विस्तार गरिरहेको जनाएको छ । होटलले दीर्घकालीन रूपमा थप लगानी गरी परियोजनालाई पाँचतारे स्तरको रिसोर्टका रूपमा विस्तार गर्ने योजना पनि अघि सारेको छ । यसका लागि करिब डेढ अर्ब रुपैयाँ थप लगानी गर्ने प्रस्ताव रहेको जनाइएको छ । प्रस्तावित योजनामा थप आवास सुविधा, स्विमिङ पुल, बगैँचा, क्यासिनो तथा अन्य मनोरञ्जनात्मक संरचना निर्माण गर्ने विषय समेटिएका छन् ।
त्यसैगरी, कम्पनीलाई भविष्यमा पब्लिक लिमिटेडमा रूपान्तरण गरी सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) गर्ने लक्ष्यसमेत रहेको अध्यक्ष भुसालले बताए । होटलको विस्तारसँगै स्थानीय रोजगारी, पर्यटन, आपूर्ति तथा सेवा व्यवसायमा अवसर थपिने अपेक्षा गरिएको छ ।