भारी बहुमत ल्याएर वा पाएर दुईतिहाइ मतबाट रास्वपाको एकलौटी सरकार बन्यो । यसको सय दिन भरखर पूरा भएको छ । यतिबेला सरकार यही सयदिने उत्सब मनाइरहेको छ । उसकै भनाइमा यो सयदिनमा आफूले घोषणा गरेका कामहरूमध्येबाट नब्बे प्रतिशत पूरा गरेको भनेर सरकारका प्रवक्ताले लामै खुसी व्यक्त गरे । सरकारले आफ्नो कामबारे आफूले दिएका अंक पनि सयकै हाराहारीमा छ । स्वभाविकै हो सरकार अरुले भनेको भन्दा आफूले आफूलाई दिएको अंक देखाउँदै त्यसैलाई प्रचार गर्दै आफू सफल भएको घोषणा गर्छ र यही आत्मरतिमा रमाउँछ पनि । रास्वपाका नेताहरूले नै भन्ने गरेको विगत छत्तिस वर्षमा अरु जसजसले राजगरे ती सबै सरकारले आफू बनेको सयदिनमा यसरी नै आफूलाई आफैँले बढी नम्बर दिएर यी दिनमा आफू सफल भएको भनेर घोषणा गरिरहेकै थिए । यो सरकारले पनि त्यही कुरा दोहो¥यायो । त्यसकारण नयाँ सरकारले पनि परम्परा धानेका रुपमा यसलाई लिऔं । त्यसो नहँुदो हो त विगतका भन्दा सरकारले आफ्नो मूल्यांकन कुनै वैज्ञानिक तबरबाट गराउथ्यो होला, तर त्यसो भएन ।
सरकारले ठूलो उपलब्धी भनेर यस्तो उत्सव मनाइरहँदा मान्छेको जीवन विगत लामो समयदेखि संकटमा परेको भन्ने भेउसमेत पाएन । यता सरकारको सयदिन पुग्दा उता मान्छेको जीवन धान्ने औषधि अर्थात् जीवनरक्षक औषधिको चरम अभाव भएको पनि साठ्ठी दिन पुगेछ । त्यसकारण पनि सरकार सयदिने उत्सवमा रमाइरहँदा मान्छे कालको पर्खाइमा रहेका भनिएको हुनुपर्छ । बितेका दुई महिनादेखि देशभरी नै क्यान्सरका बिरामीलाई निर्विकल्प मानिएको किमोथेरापी दिनुपर्दा त्यससंग जोडिएको अर्थात् त्यसको महत्वपूर्ण अंग भनेर चिनिने सिसप्लाटिन औषधि बजारमा पूरै अभाव भएको भनेर त्यसैबेलादेखि बताइँदै आइएको कुरा सरकारले अहिलेसम्म सुनेको पाइएन । त्यो मात्रै होइन यदि समयमा नै दिन पाइएन भने मृत्यु अवश्यम्भावी मानिने कुकुरलगायत जनावरले टोक्दा तत्कालै प्रयोग गर्नुपर्ने रेबिजविरुद्धको खोप पनि देशभरीका अस्पतालमा कतै छैन । यस्तो औभषधिको चरम अभाव गएको जेठको प्रारम्भदेखि नै भएको भन्ने जानकारहरू बताउँछन् । यी दुवै औषधिविना मान्छे बाच्न वा बचाउन सक्दिैन वा सकिँदैन भन्ने सरकारलाई जानकारी नभएको भने होइन । स्वास्थ्यमन्त्री स्वयं चिकित्सकीय क्षेत्रबाट आएको व्यक्तित्व हो । उनले त आपत्कालीन व्यवस्थापन गरेर यसको आपूर्ती बढाउनुपर्ने थियो । तर त्यसो भएन । यता सयदिनको उपलब्धीमा भने उनले पनि आफूलाई आफैँले सय नम्बर दिएको पाइयो । याद राख्नुपर्ने कुरा के छ भने, रेबिजविरुद्धको खोप सरकारले निःशुल्क दिने गर्छ । यसले पनि यो खोपको महत्व बुझाउँछ ।
काठमाडौंको टेकु अस्पतालमा दैनिक पाँचसय हाराहारीका बिरामीहरूले रेबिजविरुद्धको खोप लगाउने गरेका तथ्यांकले देखाएको छ । देशभरीकै अस्पतालमा विमारीका यही अनुपात हुनुपर्छ । विभिन्न समाचारअनुसार लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल, भेरी अस्पताललगायतमा रेबिजविरुद्धको खोप दिन छाडिएको लामोसमय भइसकेको छ । यी अस्पतालले जनाएअनुसार केन्द्र सरकारले खोप नपठाए पछि विरामी फर्कनु र मृत्यु कुर्नुबाहेक अरु उपाय नहोला । रोग क्यान्सरका बिरामीलाई किमोथेरापी चढाउँदा नभई नहुने कार्बोप्लाटिन र सिसप्लाटिन औषधिको पनि हालत उस्तै छ । यी औषधि सरकारी क्यान्सर अस्पतालमा पाइन छाडेको पनि लामै समय भयो । तर आपुर्ती हुनेतर्फ कतै संकेत देखिएको छैन भन्ने बुझाइ सम्बन्धित अस्पतालको पाइयो । यी औषधि भएनन् भने सम्बन्धित पीडितहरूले मृत्यु पर्खनुबाहेक अर्को उपाय रहँदैन । अहिलेसम्म क्यान्सरका लागि किमोथेरापी चढाउँने बाहेक अर्को विकल्प भेटिएको छैन । सुशासनमा शतप्रतिशत काम गरेको भन्ने सरकारले औषधि आपूर्तिको कामलाई सुशासन नमान्नु नागरिकका लागि योभन्दा दुःखद् केहोला ? सरकारले जवाफ देओस् ।