काठमाडौं । सरकारले आउँदै गरेको दशैं, तिहार र छठजस्ता ठूला चाडपर्वका साथै सक्रिय मनसुनका समयमा अत्यावश्यक सार्वजनिक सेवाहरू नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा मंगलबार सिंहदरबारमा बसेको सचिव बैठकले चाडपर्वका समयमा देशभर सडक यातायात अवरुद्ध हुन नदिन आवश्यक जनशक्ति, स्रोतसाधन तथा यन्त्र–उपकरण चुस्तदुरुस्त अवस्थामा राख्ने निर्णय गरेको हो।
बैठकले सडक यातायात सहज बनाउन आवश्यक व्यवस्थासहित कार्यतालिका तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ।यस्तै, चाडपर्वको समयमा बजारमा हुन सक्ने कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि तथा अनुचित व्यापारिक गतिविधि नियन्त्रण गर्न संयुक्त बजार अनुगमनलाई थप कडा र प्रभावकारी बनाउने निर्णय गरिएको छ।
बैठकले मन्त्रिपरिषद्का निर्णय कार्यान्वयनको अनुगमन प्रणालीमार्फत प्रगति प्रतिवेदन यथाशीघ्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने निर्णयसमेत गरेको छ। संवैधानिक निकाय तथा संसदीय समितिहरूबाट प्राप्त निर्देशनहरू पूर्ण रूपमा कार्यान्वयन गर्ने विषयमा पनि बैठकले जोड दिएको छ।त्यस्तै, राष्ट्रिय योजना आयोगले गरिरहेको भोटेकोशी बाढीपछिको आवश्यकता मूल्यांकनका लागि आवश्यक जनशक्ति उपलब्ध गराउने निर्णय भएको छ। बैठकले विधेयक मस्यौदा निर्माणमा अन्तरनिकाय समन्वयलाई थप सुदृढ गर्दै कानून निर्माणको प्रक्रियालाई गुणस्तरीय र प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ।