काठमाडौं, जलविद्युत् कम्पनी एबीपी इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । आईपीओ निष्कासन तथा व्यवस्थापनका लागि कम्पनी र मर्चेन्ट बैंकिङ संस्था सिद्धार्थ क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ ।
कम्पनीको यही असोज आठ गते सम्पन्न सम्झौतामा एबीपी इनर्जीका अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले आ–आफ्नो संस्थाको तर्फबाट हस्ताक्षर गरेका छन् । सम्झौतासँगै एबीपी इनर्जीको प्रस्तावित आईपीओ निष्कासन तथा व्यवस्थापन प्रक्रिया प्रचलित कानुन, नियामकीय व्यवस्था र सम्बन्धित निकायबाट प्राप्त हुने स्वीकृतिअनुसार अघि बढाइनेछ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी भने सिद्धार्थ क्यापिटलले सम्हाल्नेछ ।
जलविद्युत् आयोजनाको विकास तथा व्यवस्थापन गर्दै स्वच्छ ऊर्जा उत्पादन गर्ने उद्देश्य लिएको एबीपी इनर्जीको प्रमुख आयोजना नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदीमा निर्माणाधीन ८ मेगावाट क्षमताको तादी घ्याङफेदी जलविद्युत् आयोजना हो । तादी खोलाको पानी उपयोग गरी विद्युत् उत्पादन गर्ने उक्त आयोजना रन–अफ–रिभर प्रकृतिको हो ।
आयोजनाको प्रतिमेगावाट लागत २० करोड ५० लाख रुपैयाँ रहेको छ । कुल १ अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सिद्धार्थ बैंक लिमिटेडले एक अर्ब २३ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी सम्झौता गरिसकेको छ । आयोजनाको हालसम्म ६० प्रतिशतभन्दा बढी भौतिक प्रगति भइसकेको कम्पनीले जनाएको छ । आयोजनाबाट २०८४ वैशाख मसान्तसम्म व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
कम्पनीको सञ्चालक समूहमा जलविद्युत् क्षेत्रमा लामो समयदेखि अनुभव हासिल गरेका पूर्णलाल श्रेष्ठ र बलराम खतिवडाका साथै नेपाली प्राविधिक उद्यमी तथा एफवान सफ्ट इन्टरनेसनल र इ–सेवाका संस्थापक अज्गर अली रहेका छन् ।
अनुभवी नेतृत्व र ऊर्जा क्षेत्रप्रतिको दीर्घकालीन प्रतिबद्धतामार्फत नेपालको जलस्रोतको प्रभावकारी उपयोग गर्दै स्वच्छ तथा नवीकरणीय ऊर्जा उत्पादनमा योगदान पु¥याउने लक्ष्य कम्पनीले लिएको छ ।