संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सेसनमा भाग लिन र सम्बोधन गर्न प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार अपरा≈न त्यसतर्फ लागे । यता उनले त्यहाँ गर्ने १४ मिनेटको लिखित भाषणपत्र बोकेर परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार अपरा≈न नै अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए । परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्री शाहका खेताला भएर यो सम्मेलनको आयोजक देश अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेका सहभागी देशहरूका प्रमुखहरूको सम्मानमा आयोजित भोजमा सहभागी पनि होलान् । यो भोज मंगलबारका लागि आयोजित थियो जो प्रधानमन्त्री शाह आफैं यो दिन वा यो समारोहमा उपस्थित भएका थिए भने नेपालले आफ्ना कुरामा सहमति जुटाउन एउटा ठूलो अवसर मिल्ने थियो ।
यस्ता सेसनहरूमा पढिएका लिखित भाषणहरू भन्दा त्यसका वरिपरिका भेटघाटहरूको अर्थ अलग्गै हुन्छ । त्यसमा अर्थात् यस्ता भेटघाटमा प्रधानमन्त्री शाह आमनेसामने हुन आँट गरेनन् । जसले गर्दा नेपालका लागि एउटा ठूलो कुटनीतिक अवसर गुम्न गएको विज्ञहरूले प्रतिक्रिया दिएका छन् । जानकारहरूका अनुसार बालेनको यो भोज बहिष्कार जानाजान टार्न खोजेबाट भएको हो । यो मात्र होइन, उनी अमेरिकाको न्युयोर्कमा जति बस्ने कार्यक्रम छ त्यसमा अन्य देशका कुनै पनि उच्चस्तरीय प्रतिनिधि, ती राष्ट्रप्रमुख हुन् कि अरु कोहीसंग पनि भेट्ने छैनन् ।
जहिले पनि न्युयोर्कमा आयोजना हुँदै आएको महासभाको सेसनमा सहभागी हुन र सम्बोधन गर्न त्यता गएका कुनै पनि देशका रष्ट्रप्रमुख वा प्रधानमन्त्रीले आयोजक देशका तर्फबाट गर्ने वा गरेका यस्ता स्वागतलाई कुनै भैपरी नआइ वा जानाजान बहिष्कार गर्दैनन् । यसका उदाहरण नेपालका विगतका प्रधानमन्त्री नै छन् । तर बालेनले अरु सबैलाई बहिष्कार गरेर केवल महासचिवसँग मात्र भेटवार्ता गर्ने भन्ने उनी त्यता लाग्दासम्मको कार्यक्रम तय भएको छ । उनी न्यूयोर्क पुग्दा अमेरिकी राष्ट्रपतिले गर्ने स्वागतको कार्यक्रम अघिल्यै दिन सकिने छ । यसले नै आजको अवस्थामा यो महासभामा नेपालको प्रस्तुती कस्तो हुनेछ र नेपालले भोगेका समस्याका बारे अरु कसले साथ देलान् भन्ने प्रश्न जताततै चर्चामा आइरहेका भेटिन्छन् ।
प्रारम्भमा नै यस्तो निम्छरो मानिने तयारीले राष्ट्रसंघमा व्यापक पहल भएर जलवायु वितण्डामा नेपालले भोग्नुपरेको समस्यामा कस्तो न्याय प्राप्ति होला र त्यसका लागि क–कसले नेपालको साथ देलान् भन्ने प्रश्न उठ्नु अस्वाभाविक नहोला । धेरैको बुझाइ के छ भने, उनी अमेरिकी राष्ट्रपतिको त्यो स्वागत कार्यक्रम छल्नकै लागि जानीजानी त्यसतर्फ लाग्ने यो दिन छानेका हुन् । किनभने यसअघिका दिनमा प्रधानमन्त्रीका कुनै पनि सार्वजनिक कार्यक्रम थिएनन् । न विदेशी पाहुनाहरू नेपाल आएका थिए र न कुनै राष्ट्रिय दिवस नै परेको थियो । त्यत्रो ठूलो जमघटमा राष्ट्रसंघका एक कर्मचारी बाहेक अरु कोहीसंग सामान्य भेटघाटसमेत नगर्ने उनको कूटनीति त्यसकारण पनि यतिबेला चर्चाको विषय बनेको हुनुपर्छ ।
यी दृश्यले कतै हाम्रा प्रधानमन्त्री सार्वजनिक स्थलमा केही क्षण धैर्यताका साथ उभिनसक्ने क्षमता राख्दैनन् भन्ने प्रश्नसमेत उठ्न गएको छ । बालेनको कार्यकाल छैठौं महिनामा चलिरहेको छ । यो बीचमा उनले न संसद् र न अरु कुनै कार्यक्रममा एकक्षण उभिएर न अरुका कुरा सुनेका पाइएको छ न आफ्ना कुरा सुनाएका । यो छ महिनामा उनी एकपटक मात्रै सार्वजनिक स्थलमा आए । त्यो थियो संविधान दिवस समारोह कार्यक्रम । यति लामो समयपछि उनले सार्वजनिक सम्बोधन गरको यो पहिलो कार्यकम थियो, जसमा उनको प्रस्तुती धेरै आलोचित बन्यो । उनले उपराष्ट्रपतिलाई सम्माननीय भने । राष्ट्रपतिलाई भने त्यतिसमेत भनेनन् । जबकि मर्यादामा राष्ट्रपतिलाई सम्माननीय भन्नुपर्ने थियो होला । तर प्रधानमन्त्रीका लागि उपराष्ट्रपति सम्माननीय भए राष्ट्रपति भने सामान्य । यस्तो त्रुटिले गर्दा नै उनी विश्वका नेतासंग भेट्न डराएका हुनुपर्छ भनी अडकलबाजी भइरहेका छन् । त्यसै पनि बालेनमाथि सल्लाहकारको सानो कोटरीबाट सञ्चालित पात्र भनेर आरोप लागिरहेकै छ । यस्तो कुरा अरु देशका नेताहरूले थाहा नपाउन् भन्ने कामना गरौं ।