सुनसरी, इटहरी उपमहानगरपालिका–२० प्रहरीचौकी तरहराबाट खटिएको टोलीले साढे चार क्विन्टल गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ । गए राति पूर्व–पश्चिम कोशी लोकमार्गअन्तर्गत तरहरा–पानीपिया जङ्गलबाट बा२च ९५७३ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताए ।
शङ्कास्पद अवस्थामा ‘त्रिवेणी सांस्कृतिक समूह’ लेखिएको उक्त एम्बुलेन्स भेटिएपछि जाँच गर्दा प्लास्टिकका पोकामा लुकाइराखिएको अवस्थामा गाँजा फेला परेको सूचना अधिकारी खड्काले बताए । इलाका प्रहरी कार्यालय इटहरीले बरामद गाँजा र एम्बुलेन्सलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार फरार एम्बुलेन्स चालकको खोजी भइरहेको छ ।