काठमाडौँ, जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको महिला कबड्डीमा नेपाल दोस्रो खेलमा नेपाल पराजित भएको छ । नेपालले चाइनिज ताइपेइसँग हार बेहोर्नुपरेको हो । जापानको तोकाइ सिटिजन जिम्नेसियममा भएको खेलमा नेपाली टोली चाइनिज ताइपेइसँग ३७–१८ अङ्कले पराजित भएको हो । पहिलो हाफमा दुवै टोलीको १३–१३ अङ्कको बराबरी खेलेका थिए । दोस्रो हाफमा भने चाइनिज ताइपेइ नेपाली टोलीमाथि हाबी रह्यो । चाइनिज ताइपेइले २४ अङ्क बटुल्यो भने नेपालले मात्र पाँच अङ्क जोड्न सक्यो ।
यसअघि नेपालले पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरेको थियो । आठ टोली सहभागी रहेको महिला कबड्डीमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा थाइल्यान्ड, श्रीलङ्का र चाइनीज ताइपेइ रहेका छन् । समूह ‘ए’मा इरान, भारत, बङ्गलादेश र जापान छन् । अब समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार श्रीलङ्कासँग खेल्नेछ । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ्न ।रासस