काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१० बस्ने अर्घाखाँची घर भएकी ३१ वर्षीया मनिषा सुनार, ३४ वर्षीय ठाकुर बहादुर सुनार, काठमाडौं तारकेश्वर नगरपालिका–१६ बस्ने पाल्पा घर भएका ४९ वर्षीय खोप बहादुर शाही, भक्तपुर सूर्यविनायक नगरपालिका–७ बस्ने ४९ वर्षीय दिपेन्द्र खत्री र स्याङ्जा घर भएकी ४८ वर्षीया सिता लुईँटेल रहेका छन् ।
पक्राउमध्ये मनिषा र ठाकुर बहादुरले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ, खोप बहादुरले रोमानिया पठादिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, दिपेन्द्रले न्यूजिल्यान्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ र सिताले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मनिषा र ठाकुर बहादुरलाई काठमाडौं महानगरपालिका–९ बाट शनिबार, खोप बहादुरलाई काठमाडौं तारकेश्वर नगरपालिका–१६ बाट आइतबार, दिपेन्द्र र सितालाई काठमाडौं महानगरपालिका–१२ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।