सेना र न्यायालयको बारेमा लेख्न, बोल्न मिल्दैन । लेख्यो बोल्यो भने त्यसलाई समस्या पर्छ । सेनासँग बन्दुक छ, त्यसो हुनाले उसको बारेमा ‘निगेटिभ’ कुरा लेख्न र बोल्न वर्जित छ । त्यस्तो गर्नेले गर्नुअघि आफू र आफ्नो घरपरिवारका बारेमा १० पटक सोच्नु पर्छ, घोत्लिनु पर्दछ । सामान्यतया नागरिक अदालतमा समेत सेनाको बारेमा कुरा उठाउन मिल्दैन । कुरा उठिहाले पनि अदालतले त्यसलाई सम्झाइदिन्छ, ऊ तर्सिन, उभिन दिँदैन । सामान्यतया अदालतले पनि सेनाको औपचारिक धारणाविपरीत आफ्नो धारणा राख्दैन । त्यस्तो सेनाको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र स्वयम् सरकारले पनि फरक धारणा राख्न सक्दैन ।
प्रजातन्त्र पुनर्स्थापनापछि एक पटक स्वर्गीय गिरीजाप्रसाद कोइरालाले आफ्नो मन्त्रिपरिषद्मा मधेशी मुलका नेता पद्म नारायण चौधरीलाई रक्षामन्त्री नियुक्त गरेका थिए । तर प्रधानमन्त्री कोइरालाले उनलाई शपथग्रहण गराउन सकेनन् । उनको ठाउँमा महेश आचार्यलाई रक्षामन्त्री नियुक्त गरियो । त्यो घटनाको सोझो अर्थ के हो भने सेनाको सहमति नलिई प्रधानमन्त्रीले रक्षामन्त्री नियुक्त गर्न सक्दैनन् । अहिलेसम्म जो–जो रक्षामन्त्री भएको भए पनि कुरोचाहिँ त्यही हो ।
सामान्यतया यहाँ सेनाले जे भन्यो त्यही गर्ने गरिन्छ, हुँदैन भन्ने ल्याकत कसैसँग छैन । अहिले सेनालाई कपडा कारखाना र ग्याँस उद्योग चलाउन दिने कुरा पनि त्यही हो । फास्ट ट्र्याक बनाउन जिम्मा दिएको घटना पनि त्यही हो । सेना आफैँले बनाउने होइन र उसले पनि राष्ट्रिय अन्तर्राष्ट्रिय निर्माण कम्पनीलाई ठेक्का नै दिनु थियो भने त्यो काम सरकार आफैँलै टेन्डर गरेर दिएको भए के फरक पथ्र्यो र ? तर त्यसो किन गरिएन भने सेनाले माग्यो कसैले नाइँ भन्न सकेनन् । पटक–पटक म्याद थपियो । अहिले फेरि तीन वर्षको लागि म्याद थपिएको छ । लागत बढेको बढ्यै छ । सरकारले सेनाले मागेजति बजेट थपेको थप्यै छ । कसैले त्यसको विरोधमा आवाज उठाउने सामर्थ्य राख्दैन ।
त्यस्तै अवस्था अदालतको पनि छ । सेनाले आफ्नो मात्र हेर्छ, खान्छ, बस्छ तर अदालतले सबैतिर हेर्छ । अहिले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेरको हाउगुजी देखाइएको छ । उनी प्रधानन्यायाधीश हुँदा सत्तामा साझेदारी खोजेपछि उनका जेठान गजेन्द्र हमाललाई मन्त्री बनाइएको थियो तर जनस्तरमा व्यापक आलोचना भएपछि हमाल आफैँ राजीनामा गरेर बाहिरिएका थिए । चोलेन्द्रले एक पटक म्यारिज भनेको जुवा होइन मनोरञ्जनको खेल भनेर व्याख्या गरिदिए । तर त्यो वास्तवमा अपव्याख्या थियो । अर्का एक जना न्यायाधीशले एउटी युवतीको ‘भर्जिनिटी टेस्ट’ गर्न आदेश दिएका थिए । त्यसलाई बौलठीपूर्ण आदेश ठानिन्छ । राणाले नै ऐनसेलको लगानीकर्ता टेलिया सोनेराले आफ्नो नामको आजियाटालाई बिक्री गरेर फर्कन लाग्दा तिर्नुपर्ने पुँजीगत लाभकर टेलियासोनेरालाई तिर्न नलगाएर आजियाटालाई तिर्न लगाए, आदेश दिए । त्यो फैसला गरेबापत उनले तोकेको बिचौलिया दिपक तिमिल्सिनाको खातामा छ करोड रुपैयाँ जम्मा गरिदिएको एउटा छानबिनले देखाएको छ । उनी न्यायाधीश प्रधानन्यायाधीश हुँदा विभिन्न स्टेशनहरूमा बिचौलिया खडा गरेर न्यायको व्यापार गरियो भन्ने त्यति बेला नै कुरो उठ्यो र उनका विरुद्ध महाअभियोगको प्रस्ताव पनि दर्ता भयो । त्यो प्रस्ताव अघि बढ्न नदिन केही ठूला सञ्चार माध्यमहरूलाई हण्डी बाँढिएको समाचार पनि आर्थिक दैनिकले केही दिनअघि मात्र सार्वजनिक गरेको थियो ।
अदालतमा छउन्जेल कतिपय वकिलहरूलाई पनि बिचौलिया बनाइएको कुरो पनि उठेको थियो । उनका मतियारहरूमा आफूले जे बोल्यो त्यही न्याय भन्नेजस्तो सुनिन्थ्यो । उनका विरुद्ध त्यतिबेला दर्ता भएको महाअभियोग प्रस्तावको बारेमा परेको मुद्दामा प्रधानन्यायाधीश डा. मनोज शर्माको इजलासले गत भदौ २४ गते चोलेन्द्रलाई ‘क्लिन चिट’ दिएको फैसला गरेको थियो । अहिले चोलेन्द्र भूतपूर्व प्रधानन्यायाधीश हुन, हालका होइनन् । उनले आफ्नो बारेमा फैसला गर्न त बहालवाला गुहार्न प¥यो होला । त्यसको असर अब विस्तार देखिँदै जाने लक्षण देखिन थालेको छ । चोलेन्द्रले जे पनि गर्न सक्ने, जस्तो फैसला पनि गर्न सक्ने भए उनका दाइ शोहन शमसेर अहिले केन्द्रीय कारागारमा हुने थिएनन् होला तर म सक्छु, गरिदिन्छु भनेर सके पनि नसके पनि रकम लिएर खाने अहिले हाम्रो अराजकता संस्कारजस्तै भएको छ ।
त्यसैगरी कसैले दिएको भए अहिले पनि चोलेन्द्रले खाइदिए होलान् । तर मुद्दा जिताउने र फैसला गराउने ठाउँमा त उनी छैनन् । मुद्दा जिताउने ठाउँ अदालत हो, त्यहाँ न्यायाधीश छन् । अदालत र न्यायाधीशभन्दा माथि सरकार छ । न्यायलयमा त्यस्तो मनपरी भएको प्रमाण भेटेको भए सरकारले उनीहरूलाई कारबाही गर्न सक्थ्यो । या त फर्काउन सक्थ्यो । त्यस्तो केही पनि भएको छैन ।
तर एकाएक गत १० गते मध्यरातमा चोलेन्द्र शमशेर समातिए । उपत्यका अपराध अनुसन्धान शाखामा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल र सर्वोच्च अदालतमा मुख्य रजिष्टर विमल पौडेलबाहेक अरु कसैलाई भेट्न नदिई १२ घण्टा केरकार गरेर अदालतबाट म्याद थपाउन नसक्ने अवस्था भएपछि सरकारले उनलाई पक्राउ गरेको होइन । सुरक्षाको थ्रेट आएकोले उनको सुरक्षा गरिदिएको हो । आफैँ उनलाई सुरक्षित ठाउँमा स्थानान्तर गरियो भनेर उनको घरै लगेर छाडियो र त्यहाँ सुरक्षाकर्मी बढाइयो । त्यसै दिन उनलाई सुरक्षा माग गरिएको पत्रमा हस्ताक्षर गर्न लगाइयो । उनले हस्ताक्षर गर्न नमानेपछि उनको छोरो सचिन्द्र राणाको नाममा निवेदन बनाएर प्रहरीमा पठाइयो । भन्दा उनलाई सुरक्षा दिएर राखिएको भनिए पनि यथार्थमा उनी आफ्नै घरमा नजरबन्दमा परेको आशंका गरिएको छ । अहिले सोसल मिडियामा चोलेन्द्रले सत्ता उलटफेर गर्न लागेको, त्यसका लागि सुपारी लिएको, अदालतबाटै संसद् पुनस्र्थापना गर्न खोजेको, कांग्रेसमा देउवा पक्षलाई नै वैधानिकता दिन लागेको, दिपक भट्टलाई चोख्याउन लागेको आदि इत्यादि प्रचारबाजी भइरहेको छ ।
अहिलेको चोलेन्द्रले त्यो सामर्थ्य राख्छन् त ? उनलाई क्लीन चिट दिने न्यायाधीश त समस्यामा पर्ने सम्भावना बढ्दै गएको बेला पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले यो मुलुकमा सम्पूर्ण सिस्टम उलटफेर गर्न सक्छ भन्नु आकाशतिर फर्केर थुक्नुजस्तै हो । तर सत्ताका आसेपासेहरूले त्यही प्रचारबाजी गरिरहेका छन् । उनीहरूले त्यस्तो प्रचारबाजी किन गरेका होलान् भने चोलेन्द्रले मुद्दा जिताउने दोकान खोलेपछि सत्तासीन रवि, सोविताहरूको दोकानमा सुख्खा लाग्यो होला । त्यही कारण चोलेन्द्रले आकाशपातल नै जोड्न लागेको भयङ्कर प्रचारबाजी गरेर ठूलो मान्छे बनाइएको हुन सक्छ ।
चोलेन्द्र पनि लोकमानसिंह कार्की, रुक्मांगत कटुवालजस्तै कागजी बाघ मात्र हुन्, गर्न केही सक्ने होइनन्, अहिलेको अवस्थामा त झिँगो मार्ने हैसियत देखिँदैन । चोलेन्द्रका यी घटनाक्रममा पछाडि रास्वपा रवि लामिछाने र सुधन गुरुङ एकातिर र प्रधानमन्त्री बालेन अर्कोतिर भएर गरिएको युद्ध हुन सक्छ र चोलेन्द्रलाई मोहोरा बनाइएको मात्र हुन सक्छ । किनकि रविमा सत्ताको यतिधेरै नशा चढेको छ कि बालेनले बेलैमा भेउ पनि पाउन सकेका छैनन् । सत्ताको नशामा रवि अघिअघि, बालेन पछिपछि देखिन्छ । प्रधानमन्त्री बालेनभन्दा त सुधन गुरुङ निकै अघि देखिएका छन् । उनी आफ्नै कुबुद्धिका कारण पिलितपिलित चिप्लने गरेका छन् । अहिले कसरी चोलेन्द्रको हाउगुजी देखाएर सिस्टम उल्टन लागेको प्रचार गरिएको गरिएको छ, त्यसमा पटक्कै सत्यता देखिँदैन । तर ‘चिल आयो चिल आयो’ भनेर सबैको ध्यान आकाशतिर केन्द्रित गराएर भुइँमा चल्ला टिप्ने छट्टु स्यालको कथाको पुनःस्मरण हुन सक्छ, त्यसका लागि उपयुक्त पात्र पनि हुन्, रवि र सुधन ।