धादिङ, पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौदीमा सडक भासिएपछि आज साँझदेखि सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि सम्भावित दुर्घटना रोक्न अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै पृथ्वी राजमार्ग भएर सञ्चालन हुने सम्पूर्ण सवारीसाधनको आवागमन रोकिएको जनाएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार सडकको अवस्था जोखिमपूर्ण रहेकाले अर्को सूचना जारी नभएसम्म सवारी आवागमन बन्द गरिएको छ। सडक अवरुद्ध भएसँगै पृथ्वी राजमार्ग हुँदै काठमाडौँ भित्रिने तथा बाहिरिने सवारीसाधन प्रभावित भएका छन्।