काठमाडौं । सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख उमा प्रसाद चतुर्वेदीलाई स्पष्टीकरण लिएका छन् । १३ हजार करोडभन्दा बढी घोटाला भएको एनसेलको सेयर खरिद बिक्री, स्मार्ट सेल लिलामी र बैंकको ऋण अपचलनमा शंकास्पद कारोबार गरेका गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोलाई रातारात छुटाएको खबर सार्वजनिक भएपछि मन्त्री तिमिल्सिनाले चतुर्वेदीलाई मन्त्रालयमै बोलाएर केरकार गरेका हुन् ।
स्मार्ट सेल घोटालामा पक्राउ परेका विवादास्पद व्यापारी उमेन्द्र महतोलाई बिचौलिया दिपक तिमिल्सनासँगको साँठगाँठपछि लुसुक्क छाडेको घटनालाई लिएर चतुर्वेदीलाई केरकार गरेका हुन् । विवादास्पद व्यापारी महतोले एनसेलको लगानीकर्ता टेलिया सोनेराले सेयर बिक्री गर्दा तिर्नुपर्ने अरबौँ रुपैयाँको पुँजीगत लागभकर नतिरेर भगाउन सहयोग गरेको र उक्त रकम एनसेल आजियाटालाई तिराउने वातावरण बनाउन भूमिका खेलेको आरोप लाग्दै आएको छ । त्यही आरोपपछि स्मार्ट सेलमा समेतको मुद्दामा जोडिएर सीआईबीले महतोलाई पक्राउ गरेर छानबिन सुरु गरेको थियो । तर सीआईबी प्रमुख चतुर्वेदीले बिचौलिया तिमिल्सनासँगको मिलिमतोमा लुसुक्क हिरासतमुक्त गराएका थिए ।
पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा नेतृत्वको छानबिन समितिले एनसेलको सेयर खरिदबिक्रीसम्बन्धी तयार पारेको छानबिन प्रतिवेदनलाई गत वैशाख २१ गतेको मन्त्रिपरिषद् बैठकले सीआईबीमार्फत छानबिन गराउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा यो मुद्दालाई फौजदारी अभियोगमा अनुसन्धान भएको थियो । प्रतिवेदनमा उपेन्द्र महतोले निरज गोविन्दलाई तीन अर्ब ३१ करोडमा एनसेलको सेयर बिक्री गरेको र उनीहरू दुवै जना नेपाली नागरिक भएको वा नभएको विषयमा छानबिन गर्न किटान गरेको थियो ।
नेपाली नागरिक भए नेपालको कानुनअनुसार नेपाल सरकारलाई बुझाउनुपर्ने राजस्व वा करको विषयमा छानबिन गर्नुपर्ने र नेपाली नागरिक नभए विदेशी विनिमय ऐनअनुसार हुण्डीलगायतको कारोबारमा संलग्नता रहेको विषयमा छानबिन हुनुपर्ने उल्लेख थियो । तर, महतोले यस्तो गम्भीर कसुरमा पक्राउ परेका महतोलाई सामान्य सोधपुछ गरेर प्रतिवेदनमै किटान भएका विषयलाई छानबिन समेत नगरी रिहा गरिदिएका हुन् । यसै विषयमा मन्त्री तिमिल्सिनाले चतुर्वेदीलाई स्पष्टीकरण लिएका हुन् । मन्त्रिपरिषद्मा एनसेलको सेयर खरिदसम्बन्धी प्रतिवेदन कार्यान्वयनका लागि मन्त्री तिमिल्सिनाले नै प्रस्ताव गरेका थिए । उनको सक्रियता र तत्कालीन सीआईबी नेतृत्वले यो मुद्दाको छानबिन सुरु गरेको थियो । अन्तिममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको रोजाइमा सरुवा भएर आएका चतुर्वेदीले यस्ता ठूला अभियुक्तलाई उन्मुक्ति दिँदै आएका छन् ।
शंकास्पद कारोबारमै संलग्न अर्का व्यक्ति अजयराज सुमार्गीलाई पनि उनले सुटुक्क रिहा गरिदिएका छन् । पक्राउ गर्न आउँछु भन्दै
रसुवा रहेका सुमार्गीलाई फोन गरेको प्रहरीले कार्यालयमा आएपछि भने हरहिसाब गरेरै उन्मुक्ति दिएको छ ।