काठमाडौँ, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद् खुला नरहेको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नभएसम्म संसद् खुला नहुने तर्क गरे।उनले भने, “कांग्रेसको महाधिवेशनको स्थल खुलामञ्च बनाएर कांग्रेसले दिन खोजेको सन्देश र गर्न खोजेको सङ्कल्प नेपालमा यस्ता खुलामञ्चहरू धेरै ठाउँमा चाहिएको छ। पहिलो खुलामञ्च कहाँ चाहिएको छ? पहिलो खुलामञ्च संसद्भित्र चाहिएको छ। संसद् खुला छैन, संसद् बन्द छ। जुन संसद्ले जसलाई प्रधानमन्त्री बनाएको छ, प्रधानमन्त्रीको सम्मानपूर्वक उपस्थिति रहँदैन, त्यो दिनसम्म संसद् खुला भएको हुँदैन। संसद्भित्र खुलामञ्च चाहिएको छ।”
सभापति थापाले समुदायका बीचमा पनि खुलामञ्च आवश्यक रहेको बताए। उनले पहाडका मानिसले मधेसका बारेमा कुरा गर्ने नभई मधेससँग संवाद गर्नुपर्ने, एउटा जातले अर्को जातका बारेमा कुरा गर्ने नभई एकअर्कासँग संवाद गर्नुपर्ने र एउटा धर्मले अर्को धर्मका बारेमा कुरा गर्ने नभई एकअर्कासँग संवाद गर्नुपर्ने बताए।“एउटा पुस्ताले अर्को पुस्ताका बारेमा फैसला सुनाउने होइन, एउटा पुस्ताले अर्को पुस्तासँग संवाद गरोस्। त्यो खुलामञ्च चाहिएको छ। राज्य र नागरिकका बीचमा खुलामञ्च चाहिएको छ”, उनले भने। आफ्नै नेतालाई प्रश्न गर्दा सदस्यताबाट ननिकालिने वातावरणसहितको खुलामञ्च दलभित्र पनि आवश्यक रहेको उनले बताए।