न्युयोर्क, अमेरिकामा रोजगारीसम्बन्धी नयाँ तथ्यांक कमजोर देखिएपछि अमेरिकी केन्द्रीय बैंकले तत्काल ब्याजदर नबढाउने अनुमान बढेको छ। यससँगै शुक्रबार अमेरिकी शेयर बजारमा वृद्धि देखिएको छ ।
डाउ जोन्स परिसूचक २५० अंक अर्थात् शून्य दशमलव ४९ प्रतिशतले बढेर ५१ हजार १७६ अंकमा पुगेको छ। एस एन्ड पी ५०० परिसूचक शून्य दशमलव ७ प्रतिशतले बढेर ७ हजार ७२२ अंकमा पुगेको छ। नास्डाक परिसूचक पनि १ दशमलव १९ प्रतिशतले बढेर २७ हजार १९० अंकमा बन्द भएको छ ।
अमेरिकी श्रम तथ्यांकअनुसार सेप्टेम्बरमा गैरकृषि क्षेत्रमा २९ हजार नयाँ रोजगारी मात्र थपिएको छ। यो अपेक्षाभन्दा निकै कम हो। बेरोजगारी दर पनि बढेर ४ दशमलव २ प्रतिशत पुगेको छ । कमजोर रोजगारी तथ्यांकपछि अमेरिकी केन्द्रीय बैंकले अक्टोबरको बैठकमा ब्याजदर नबढाउने सम्भावना बढेको बजार विश्लेषकहरूले बताएका छन् । यसले लगानीकर्ताको मनोबल बढाउन सहयोग गरेको छ ।
यसैबीच, अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ। आपत्कालीन भण्डारबाट ठूलो परिमाणमा तेल तथा डिजेल बजारमा ल्याउने सहमति भएपछि अमेरिकी कच्चा तेलको मूल्य प्रतिप्यारेल ९१ डलर ११ सेन्टमा झरेको छ । कम्पनीतर्फ, नाइकीको शेयर मूल्य करिब ३ दशमलव ६ प्रतिशतले घटेको छ। कम्पनीको आम्दानी अपेक्षाभन्दा कम भएपछि शेयर मूल्यमा गिरावट आएको हो । टेस्लाको शेयर मूल्य भने ४ दशमलव ६५ प्रतिशतले बढेको छ। एनभिडिया, एएमडी र अन्य केही प्रविधि कम्पनीका शेयर मूल्य पनि उच्च विन्दुमा पुगेका छन् ।